दोलखा (अस) । दोलखाको बिगु गाउँपालिका–५ चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने भएको छ । हेल्थ नेपाल नामक गैरसरकारी संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरूको सहयोगमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत सञ्चालन हुने सामुदायिक केन्द्रका अध्यक्ष प्रवीण खड्काले जानकारी दिए । उनका अनुसार अस्पताल सञ्चालनका लागि हेल्थ नेपाल मार्फत २१ कोठे भवन निर्माण हुनेछ । भवनको डिजाइन जर्मन इन्जिनियरहरूको टोलीले गर्ने भएको छ । करिब तीन करोड ८७ लाख रुपैयाँमा भवन निर्माण हुने प्रारम्भिक लागत अनुमान छ ।
चिलंखामा जन्मिएका छिरिङ शेर्पासँग विवाह गरेकी जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको केन्द्रका अध्यक्ष खड्काको भनाइ छ । अस्पताल भवन निर्माणका लागि करिब साढे ६ रोपनी जग्गा संस्थाको स्वामित्वमा आइसकेको छ । अस्पताल निर्माणका लागि प्राप्त जमिनमध्ये दुई रोपनी इको हिमाल नामक संस्थाले खरिद गरिदिएको छ । आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान दिएकी छन् भने बाँकी जग्गा २९ जना दाताहरूबाट संकलित रकमबाट खरिद गरिएको खड्काको भनाइ छ । यो अस्पताल निर्माणछि बिगु गाउँपालिकाको वडा नम्बर ५, ६, ७, र ८ का स्थानीय बासिन्दाहरूले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । हाल स्थानीय स्वास्थ्य चौकीमा उपचार पाउन नसकेका स्थानीयले सिँगटी बजारमा रहेको सिगटी अस्पताल वा सदरमुकाम चरिकोट उपचार गर्न आउनुपर्ने बाध्यता छ ।