तनहुँको सदरमुकाम दमौलीस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीले सालको पातको दुना टपरी बनाउने, गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु सिकेका छन् । शिक्षाको साथै नेपाली परम्परागत सीप र संस्कृतिको व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले परम्परागत सीपहरु सिकाइरहेको छ ।
विषयगत शिक्षाका अलावा विद्यालयमा व्यावहारिक ज्ञान सिकाएर नयाँ पुस्तालाई पुरानो सीप र संस्कृतिबारे नौलो ढङ्गले प्रयोगात्मक रुपले प्रशिक्षित गराउन थालिएकाले विद्यार्थीले परम्परागत सिप सिक्न थालेको पाइएको छ । लोपोन्मुख विषयलाई संरक्षण गर्न व्यास नगरपालिका–१ भादगाउँस्थित यस विद्यालयले परम्परागत सीपहरु सिकाउने कुरालाई प्राथमिकता दिएपछि यसको सर्वत्र प्रशंसा भएको छ । नेपाली गाउँघर र ग्रामिण जीवनयापनको जीवन्त पाटाहरुमा गुन्द्री बुन्ने, दही मोथ्ने, जाँतो चलाउने, मकै भुट्ने र हलो जोत्ने सीपहरु पर्छन् । कृषि प्रधान अधिकांश नेपाली ग्रामीण जीवन यापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नविनतम प्रविधि, औजार उपकरणले यसलाई बिर्संदै गएको छ नेपाली समाजले ।