पुस २८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेपाल बङ्गलादेश बैंकको सर्वाधिक रू. २८ करोड ६९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये नेपाल बङ्गलादेश बैंकको धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४०० कायम भएको छ ।
यस दिन कम्पनीको ७ लाख २१ हजार ५५ कित्ता शेयर खरीदविक्री भएको हो । यस कम्पनीलाई नबिल बैंकले किन्ने निर्णय गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
केही दिन अगाडिदेखि नबिल बैंक र नेपाल बङ्गलादेश बैंक दुबैले मर्जर समिति बनाएर प्रक्रिया अगाडि बढाएका छन् । नबिल बैंकमा चौधरी समूहको लगानी रहेको छ । त्यसैगरी नेपाल बङ्गलादेश बैंकमा भने बङ्गलादेशको आइएफआईसी बैंकको शेयर लगानी छ ।
चौधरी समूहका अध्यक्ष विनोद चौधरीले गत वर्षदेखिनै नेपाल बङ्गलादेश बैंकममा रहेको आइएफआईसी बैंकको शेयर किन्न खोजिरहेका थिए । तर त्यसमा विभिन्न अवरोध आइरहेको थियो ।
अहिले भने नेपाल राष्ट्र बैंकले त्यो अवरोध हटाउन सहजिकरण गरेको बताइएको छ । यसअघि पनि यी दुवै कम्पनी बीच मर्ज हुने विषयमा चर्चा चलेको थियो ।त्यतिबेला स्वाप रेशियो बारे सहमति हुन नसक्दा सफल हुन सकेको थिएन ।