नबिल र बङ्गलादेश बैंक बीच प्राप्ति प्रक्रिया : आगामी ६ महीनाभित्र सम्पन्न गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

फागुन १८, काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको छ । राष्ट्र बैंकले नबिल बैंकलाई आगामी ६ महीनाभित्र प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबारका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको जानकारी दिएको हो । राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै यी दुई कम्पनी एक हुने बाटो खुला भएको हो । गत पुस २९ गते नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता शेयर कायम रहने गरी यी दुई कम्पनी प्राप्ति प्रक्रियामा जान लागेका हुन् । प्रारम्भिक सम्झौताका क्रममा नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्तापूँजी रू. २२ अर्ब ५० करोड, कर्जा रकम रू. ३ खर्ब र निक्षेप संकलन रू. ३ खर्ब १४ अर्ब हुने जानकारी दिएको थियो । एकीकृत कारोबारपश्चात बैंको शाखा संख्या २५३ र ग्राहकको संख्या १६ लाख माथि पुग्ने जानकारी पनि बैंकले दिएको छ ।