काठमाडौं । असार १० गतेदेखि सर्वसाधारणमा निष्कासन गरिएको अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ असार १३ गते (आगामी बुधवार)सम्म मात्र विक्रीमा रहनेछ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र विक्री खुला हुने भएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले दिएको जानकारी अनुसार असार १२ गते साँझसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा १८ दशमलव ४३ गुणा बढी आवेदन परेको छ । सीडीएससीले ९ लाख ६ हजार १०६ जना आवेदकहरूबाट ९९ लाख ४५ हजार ६६० कित्ता शेयर खरीद माग भएको जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ देखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ देखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको थियो ।
जारी पूँजी २२ करोडको १० प्रतिशतले हुन आउने २ लाख २० हजार कित्ता आईपीओ स्थानीयमा बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमै विक्री गरिएको हो ।
दोस्रो चरणका विक्री गरिने शेयरमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । यीबाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले लमजुङको तत्कालीन ताघ्रिङ गाउँविकास समितिमा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट २०७८ फागुन १५ गतेदेखि व्यापारिक उत्पादन शुरु भएको हो । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ छ ।
हाल संस्थापकतर्फबाट चुक्ता पूँजी १३ करोड ३० लाख रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ कायम हुनेछ । कम्पनीले निर्माण गरेको आयोजनाबाट विद्युत उत्पादन शुरु गरेको एक वर्ष बितिसकेको छ । तर, कम्पनी अझै नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी २ करोड ५ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । वास्तविक प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ५४ पैसा रहेको कम्पनी १४ रुपैयाँ ६३ पैसा प्रतिशेयर नोक्सानीमा छ ।
चालू आर्थिक वर्ष ०७९/८० सम्म कम्पनीको सञ्चित नोक्सानी ८५ लाख ७२ हजार रुपैयाँमा झार्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने कम्पनीले ६१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।