साउन १४, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २० करोड १ लाख ३३ हजार खुद नाफा गरेको छ ।
बिहीवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा कम्पनीको नाफा ५ दशमलव ८१ गुणा बढी भएको हो ।
अघिल्लो वर्ष कम्पनीले उक्त अवधिसम्म रू. ३ करोड ४३ लाख ९३ हजार खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीले सम्भावित जोखिम शीर्षकमा अघिल्लो वर्षभन्दा ९८ प्रतिशत कम रकम छुट्याएकाले सञ्चालन नाफा पनि ५ दशमलव ९० गुणाले बढेकाले नाफामा उल्लेख्य वृद्धि भएको हो ।
अघिल्लो वर्षको चौथो त्रैमाससम्म सम्भावित जोखिम शीर्षकमा रू. ६ करोड १२ लाख ७२ हजार छुट्याएको कम्पनीले गत वर्ष रू. १९ लाख ४ हजार मात्र छुट्याएको छ । सम्भावित जोखिमको रकम कम भएकाले अघिल्लो वर्ष रू. ५ करोड ३८ लाख २८ हजार सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ३१ करोड ७६ लाख ७१ हजार यो नाफा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४३ करोड ५० लाख ७१ हजार छ । कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३३४ प्रतिशत बढी रू. ३४ करोड ५३ लाख ३९ हजार कायम भएको छ ।
गत वर्ष १९२ प्रतिशत बढी रू. ४ अर्ब ५९ करोड २१ लाख ३३ हजार कर्जा सापटी लिएको कम्पनीले ९० प्रतिशत बढी रू. १ अर्ब ८८ करोड ३५ लाख २० हजार निक्षेप संकलन गरेको छ । कम्पनीको कर्जा प्रवाह भने १६० प्रतिशत बढी रू. ६ अर्ब ७७ करोड १९ लाख २६ हजार भएको छ ।
अघिल्लो वर्ष चौथो त्रैमाससम्म २ दशमलव ९४ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा गत वर्ष घटेर १ दशमलव ९९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ३८ रहेको छ ।