काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित थिए । राष्ट्रपति भण्डारीले सो क्रममा परेड अवलोकन गर्नुका साथै दुवै पक्षले आआफ्ना डेलिगेसन टोलीलाई परिचय गराएका थिए ।
राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० बजे अवतरण गर्नुभएको हो । त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो ।
विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुग्नुभएको थियो ।
आज दिउँसो राष्ट्रपति भण्डारी तेजगाउँमा आयोजना हुने नेशनल परेड स्क्वायर (ग्राउन्ड) कार्यक्रममा ‘गेस्ट अफ अनर’को रुपमा सहभागी हुने कार्यक्रम छ । त्यहाँ उहाँलाई बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले स्वागत गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारीले बंगलादेशी राष्ट्रपति बंगबन्धुको जन्मशताब्दीको अवसरमा वक्तव्य जारी गर्नुहुनेछ । आजै उहाँले समकक्षी राष्ट्रपति महमद अब्दुल हमिदलाई बंगभवनमा भेट्नुहुने छ ।
साँझ उहाँ स्टेट डाइनिङ हलमा हुने रात्रिभोज र सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीसँगै उनकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिवहरु र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु भ्रमणमा छन्।