फागुन ३, काठमाडौं । आईपीओ निष्कासन गर्ने तयारीमा रहेका ४ ओटा जीवन बीमा कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार ४ ओटा कम्पनीले कुल रू. ४२ करोड १८ लाख नाफा कमाएका हुन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने सामान्य वृद्धि भएको छ । यी ४ कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४१ करोड ४१ लाख नाफा कमाएको थिए ।
यी ४ ओटा कम्पनीमध्ये सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू. १८ करोड ५ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १ दशमलव ४ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १७ करोड ७९ लाख नाफा कमाएको थियो ।
त्यसैगरी, यस कम्पनीको चालू आवको दोस्रो त्रैमाससम्ममा बीमा कोषमा रू. ३ अर्ब ६१ करोड जम्मा भएको छ । सो अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन रू. २ अर्ब ५ करोड रहेको हो । त्यसैगरी, यि ४ ओटा कम्पनीमध्ये सबैभन्दा कम नाफा महालक्ष्मी लक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीेले रू. ५ करोड ३० लाख कमाएको हो ।
यी चार कम्पनीमध्ये सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी रू. २ अर्ब ४८ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी दोस्रोमा रिलायबल नेपाल लाइफले कुल रू. २ अर्ब ५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो ।
यी ४ ओटा कम्पनीले कुल २ करोड ४० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । चार कम्पनीमध्ये दुई ओटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्नका लागि निवेदन दिइसकेका छन् रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका छन् । बाँकी कम्पनी पनि आवश्यक प्रक्रिया पूरा गरेर निवेदन दिने तयारीमा छन् ।
रिलायबल नेपाल लाइफ कम्पनीले रू. ११२ प्रिमियम थप गरी प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो ।
यी दुवै कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । यी दुई कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।
स्रोत : कम्पनीद्वारा जारी गरिएको वित्तीय विवरण