जेठ १२, वीरगञ्ज । मुख्य नाकास्थित वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष २०७७/ ७८ को १० महीनामा वैदेशिक व्यापार ७३ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
चालू आवको वैशाखसम्ममा यो भन्सार हुँदै ४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । यो परिमाण गत आवको तुलनामा करीब २० प्रतिशत बढी हो ।
गत आवको समीक्षा अवधिमा ३ खर्ब ८० अर्ब रुपैयाँको बस्तु आयातनिर्यात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । यो वर्षको १० महीनामा वैदेशिक व्यापारअघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको भन्सारले बताएको छ ।
चालू वर्षमा ४ खर्ब १५ अर्ब रुपैयाँको बस्तु आयात हुँदा निर्यात भने करीब ३८ अर्ब रुपैयाँको मात्रै भएको तथ्यांक भन्सारसँग छ । गत वर्षको १० महीने अवधिको तुलनामा चालू वर्ष आयात १८ प्रतिशतले बढ्दा निर्यात भने ४० प्रतिशतले बढेको देखिएको छ ।
गत वर्षको वैशाखसम्ममा ३ खर्ब ५३ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो । २७ अर्ब १५ करोड रुपैयाँबराबरको निर्यात व्यापार भएको भन्सारले बताएको छ । सबैभन्दा बढी व्यापार भारतसित भएको छ । दोस्रो ठूलो व्यापार साझेदार चीन रहेको भन्सारको तथ्यांकले देखाउँछ ।
चालू वर्षको साउनदेखि वैशाखसम्ममा भारतसित ३ खर्ब रुपैयाँको व्यापार भएको छ । यो आकार चीनसँग ३७ अर्ब रुपैयाँमात्र छ । वीरगञ्ज भन्सारबाट भित्रिने मुख्य बस्तुमा सवारीका साधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थ छन् ।
‘कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाएपछि यस्ता बस्तुको आयात खुम्चिएको छ,’ प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले आर्थिक अभियानसित भने ।
वीरगञ्ज नाकाबाट निकासी हुने बस्तुमा भटमासको तेल, सूर्यमुखी तेल, जुसजाम, कपडा, धागो, गलैैचा, कार्पेट प्रमुख रहेको भन्सारको तथ्यांले देखाएको छ ।