चितवन
२ मा भारि मतान्तरसहित बिजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि
लामिछानेको राजनीतिक उदयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा फ्याक्टर हाबी
भएको राजनीतिक वृत्तमा चर्चामा छ ।कतिपय
घटनाक्रमले रविलाई गगनले साथ दिएको पुष्टि गर्छन् । यो समाचार टिप्पणी लेखिरहँदा रविले
चितवन २ मा ४९ हजार २६४ मत ल्याएर एमालेका कृष्णभक्त पोखरेल र राज्यमन्त्रीसमेत
रहेका कांग्रेसका उमेश श्रेष्ठलाई ठूलो मतान्तरसहित पराजित गरेका छन् भने चितवन १
मा रास्वपाकै उम्मेदवार हरि ढकालको मतान्तर फराकिलो बन्दै गइरहेको छ । एक
वर्ष अगाडि भएको महाधिवेशनमा भारि मतले महामन्त्री चुनिएका गगनले त्यसलगत्तै 'मिसन
पीएम' नामको अभियान चालेका थिए । आफू हरहालतमा प्रधानमन्त्री बन्ने अठोट राखेका
गगनले कम्युनिस्ट शक्तिलाई साइजमा ल्याउने र आफ्नै पार्टी कांग्रेसभित्र आफ्नो
प्रभाव बढाउने रणनीतिसँगै रविलाई माथि ल्याउन सहयोग गरेको चर्चा कांग्रेसभित्रै
चुलिएको छ । एउटा
घटनाक्रमले यसको पुष्टि गर्छ । चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार
विश्व पौडेल र २ का उम्मेदवार उमेश श्रेष्ठले गगनलाई पटक-पटक चितवन आएर गठबन्धनको
पक्षमा बोलिदिन आग्रह गरेका थिए । श्रेष्ठको
चुनावी अभियानमा सक्रियताका साथ लागेका एक कांग्रेस कार्यकर्ता भन्छन् – 'मन्त्रीज्यूले
चितवन आएर गठबन्धनका पक्षमा सम्बोधन गर्न पटक-पटक आग्रह गर्नुभएको थियो । तर गगन दाइले
मान्नुभएन ।'गत
कात्तिक २६ गते गठबन्धनले चितवनमा चुनावी सभा आयोजना गरेको थियो । त्यसमा
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत
समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गरे । गगन
चुनावी सभामै देखिएनन् । चुनावी सभामा मात्र होइन उनले चितवनका दुवै उम्मेदवारका
लागि कहीं पनि मत मागेनन् । यसका
दुई कारण थिए । पहिलो विश्व पौडेल र उमेश श्रेष्ठले सिधै बालुवाटारबाट टिकट पाएका
थिए । दुवै पहिलोपटक प्रत्यक्ष चुनाव लड्दै थिए । प्रधानमन्त्री पत्नी आरजु देउवालाई
विश्वासमा लिएर टिकट पाएका दुवै जनाले जित्दा गगन कांग्रेसभित्र कमजोर बन्ने पक्का
थियो । दोस्रो
गगन रविसँग प्रत्यक्ष सम्पर्कमा थिए । प्रधानमन्त्री बन्न 'मिसन पीएम' अभियानअन्तर्गत
३१ विधामा ६० जनाभन्दा बढी विज्ञ सम्मिलित टोलीमार्फत फरक–फरक क्षेत्रको अध्ययन
गरिरहेका गगनलाई कम्तीमा चितवन र काठमाडौँमा नयाँ जनमत सिर्जना गर्न सकिने अवस्था थाहा
नहुने कुरै भएन । पार्टीभित्र
हावी हुन पनि पाइने, कम्युनिस्टलाई साइजमा राख्न पनि
पाइने र राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाउन पाइने त्यसपछि मात्र
प्रधानमन्त्री हुने बाटो सहज गर्ने रणनीतिमा गगनले रविलाई साथ दिएका हुन् । चितवन
१ मा रास्वपाका हरि ढकालको जित सुनिश्चित जस्तै छ भने २ मा रविले बाजी मारिसकेका
छन् । रविले आफ्नो पार्टी निर्णायक ढंगले उदाउने र ठूला दलमा पनि नयाँ नेतृत्व आएदेखि
सरकारमा सामेल हुन सक्ने अभिव्यक्ति दिइसकेका छन् । यो अभिव्यक्ति गगनलक्षित नै हो
। गगनले
रविसँग गोप्य तालमेल गरेका रहेछन् भन्ने पुष्टि अर्को घटनाक्रमबाट पनि हुन्छ । काठमाडौँका
दशवटा निर्वाचन क्षेत्रमध्ये रास्वपाले चारवटामा बिजय हासिल गर्यो । बाँकी ५ वटामा
राम्रै मत ल्यायो । तर गगनले बिजय हासिल गरेको क्षेत्र नम्बर ४ मा रास्वपाले
उम्मेदवारी नै दिएन । काठमाडौँ
२, ६, ७ र ८ मा रास्वपाले बिजय हासिल गरेको छ भने ९ मा एमालेका कृष्णगोपाल
श्रेष्ठ बिजयी भएका छन् । अन्य क्षेत्रमा कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । त्यस्तै
ललितपुर ३ मा पनि रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्की बिजयी भएकी छन् । समानुपातिक
मतमा पनि रास्वपा माओवादी केन्द्रभन्दा अगाडि छ । अबको संसदमा रविले कम्तीमा २०
सांसदमार्फत आफ्नो प्रतिनिधित्व गर्ने पक्कापक्की भइसकेको छ । कतिपय
स्रोतहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम अवस्थामा यसअघि
लडेको चितवन क्षेत्र नम्बर ३ छोडेर गोर्खा जानुमा गगनकै यही रणनीतिले काम गरेको बताउँछन्
। आफू प्रधानमन्त्री बन्ने अवस्था आएमा रास्वपा र माओवादी केन्द्रलाई सजिलै मनाउन
सक्ने गगनले आंकलन गरेका छन् । त्यस्तै सम्भावित वाम गठबन्धनलाई रोक्न पनि गगनलाई
चुनौती छ । गगन
शुरूदेखि नै सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलको विपक्षमा थिए । पछि कांग्रेसले
त्यसलाई औपचारिक रूपमै पारित गरेपछि पार्टीको निर्णयप्रति असहमति हुँदाहुँदै पनि कार्यान्वयन
गर्नुपर्ने अभिव्यक्ति गगनले दिएका थिए । गठबन्धनमा
भएको तालमेलअनुसार कांग्रेस मतदाताले रुख चिह्न नभेटिएको ठाउँमा घन्टीमा मत हालेका
छन् । चुनाव हुन केही दिनमात्र बाँकी रहँदा घन्टीको लहर देशव्यापी भयो । यो लहरमा
माओवादी र एमाले पनि सामेल भएको समानुपातिक मतपरिणामले प्रष्ट पारेको छ ।
कम्युनिस्टलाई
साइजमा राख्ने, पार्टीबाहिर एउटा 'स्याटेलाइट' शक्ति
राख्ने र पार्टीभित्र प्रभाव बढाउँदै जाने गगनको यो रणनीति कत्तिको प्रभावकारी
हुन्छ, त्यो अन्तिम मतपरिणाम र त्यसपछि
सरकार बनाउन हुने चलखेलहरूले पुष्टि गर्नेछन् ।