पुस १३, काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले मंसिर महीनामा रू. २ करोड ४७ लाख ३३ हजार नाफा गरेको छ ।
कात्तिक महीनामा यो नाफा रू. ३ करोड ७९ लाख ४९ हजार रहेको थियो । कात्तिक महीनाको तुलनामा मंसिर महीनामा योजनाको नाफामा भने कमि आएको छ ।
योजनाको जम्मा आम्दानी घटेको र खर्च बढेकाले नाफामा कमि देखिएको हो । योजनाले कात्तिक महीनामा रू. ४ करोड १६ लाख ९२ हजार जम्मा आम्दानी गरेकोमा मंसिर महीनामा रू. २ करोड ९३ लाख ६ हजार मात्र यो आम्दानी गरेको हो ।
उता कात्तिक महीनामा रू. ३७ लाख ४३ हजार खर्च गरेको योजनाले मंसिर महिनामा रू. ४५ लाख ७२ हजार खर्च गरेको छ ।
योजनाको प्रतिइकाई खुद मूल्य पनि कात्तिकको तुलनामा घटेको छ । कात्तिक महीनामा रू. १० दशमलव ८३ रहेको योजनाको यो मूल्य मंसिर महिनामा रू. १० दशमलव ५६ कायम भएको छ ।
धितोपत्र बजार सूचीकृत र सूचीकृत हुन बाँकी धितोपत्रमा योजनाले गरेको लगानीको परल मुल्य रू. २६ करोड ४२ लाख ६ हजार रहेको छ । योजनाले गरेको लगानीको बजार मूल्य भने रू. ३३ करोड ८९ लाख ७ हजार छ । योजनाले धितोपत्रमा गरेको लगानीको परलमुल्य भन्दा बजारमूल्य भने बढी नै रहेको छ । मंसिर महीनामा योजनको खुद सम्पत्ति रू. ५२ करोड ७८ लाख ३८ हजार छ । यो सम्पत्ति कात्तिक महिनामा रू. ५४ करोड १४ लाख ६७ हजार थियो ।
खुद सम्पत्तिमा पनि कात्तिक महीनाको भन्दा मंसिर महीनामा कमि आएको हो । खुलामुखी प्रकृतिको यस योजनाको मंसिर महीनासम्म ४ करोड ९९ लाख ९४ हजार ३९६ इकाई कायम भएको छ ।