कति हैरानीपछि बल्ल हामी रुप्से झरना समक्ष उपस्थित थियौँ । झरनासँग साक्षात्कार हुँदा भिज्नुको के दुःख ? हिलोमा जाक्किनुको के चिन्ता ? पानीमै चोबलिनुको के सास्ती ? थिएन केही पर्वाह । भएन कुनै कष्ट । ढुङ्गामा बजारिँदा पनि दुखेन । पानीमा भिजिँदा पनि चिसो लागेन । मनको इच्छा पूरा भएपछि के हैरानी, के सास्ती ! मन रमाएपछि अनुहारमा खुसीका मुस्कान स्वतः प्रकट हुँदोरहेछ । गाडीमा थचारिएर थिल्थिलो भएको पीडा केही नहुँदो रहेछ । अनेकौँ खाल्डाखुल्डी, कोप्चेरो र भिरको जोखिम नाघेर आइपुग्नुको उपलब्धि यही त थियो । आँखै सामुन्ने सौन्दर्यको सुन्दर तस्बिर ‘रुप्से झरना’ झरिरहेको झरझर । झरनाको दृश्यले हाम्रा भोका आँखालाई ग्वाम्म अँगालो मार्न आउने । पानीका कञ्चन जलकणले गालामा जताततै म्वाइँ खान थाल्ने । सुक्खा अनुहारलाई सिञ्चन गर्दै त्यो मायालु स्पर्श–सुखले बेग्लै आनन्द दिने ।