काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ५७ औं वार्षिक साधारण सभा (AGM) आज (मंगलवार)बाट शुरु भएको छ ।
साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् । महासंघको विधानमा अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका व्यक्ति आगामी कार्यकाल स्वत: अध्यक्ष हुने व्यवस्था छ ।
साधारणसभामा वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि भने बुधवार निर्वाचन हुनेछ । बुधवार बिहान ८ बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने महासंघले जनाएको छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कार्यकारिणी सदस्य गरी ६४ पदका लागि ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उद्योग वाणिज्य महासंघको १ वरिष्ठ उपाध्यक्षका लागि ३ जना, ३ उपाध्यक्षका लागि ८ जना र ५८ सदस्यका लागि १०४ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षको चयनलाई चासोका साथ हेरिएको छ ।
वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानका कारण पनि यो पदप्रति व्यापक आकर्षण देखिन्छ । त्यसमाथि यसपालि पहिलो पटक वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकाले पनि भिडन्त थप रोचक बनेको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ एवं पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ गरी तीन जनाको उम्मेदवारी परेको छ ।
उद्योग वाणिज्य महासघंको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन उम्मेदवारले कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पहिलो चरणको मतदानमा प्राप्त गर्न नसकेमा दोस्रो चरणको मतदान हुनेछ । दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने महासंघले जनाएको छ ।
वरिष्ठ उपाध्यक्ष बाहेकका उम्मेदवारको हकमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली लागू हुनेछ । यो निर्वाचन प्रणालीबाट उपाध्यक्ष र कार्यकारिणी सदस्यहरू निर्वाचित हुनेछन् ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तीनै जनाले आ-आफ्नो प्यानल बनाएकाले को हुँदा तीनओटै प्यानलबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा हुनेछ । वर्तमान उपाध्यक्षसमेत रहेका रामचन्द्र संघाईले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई उमेदवार बनाएका छन् ।
त्यस्तै पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा अहिले पनि यही पदमा रहेका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाललाई उमेदवार बनाएका छन् । वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो समूहबाट जिल्ला–नगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधानलाई उमेदवार बनाएका छन् ।
उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दुवैको समूहबाट एशोसिएट उपाध्यक्षमा भरतराज आचार्य नै उम्मेदवार छन् ।