माघ २६, काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । नेपाल एयरलाइन्सको ट्विनअटर (नाइनएन एबीटी) विमानबाट परीक्षण उडान भएको हो ।
काठमाडौं अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ९ बजेर ५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १० बजेर २ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न भएको नेपाल वायुसेवा निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त परीक्षण उडान गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निर्देशन दिएका थिए ।
उक्त परीक्षण उडानको प्रतिवेदन तयार भए पश्चात सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी निगमले नियमित उडान सञ्चालनको तयारीको प्रक्रिया अघि बढाउने समेत जानकारी दिएको छ ।