सहरिया खुसीको मानक पनि सहरिया नै हुँदोरहेछ । जटिल सहरी जीवनको खुसी पनि जटिल, दुर्वोध र दुरूह । जीवनधारामा लहरिँदै केही परिबन्द र केही रहरले खुसीको लालचमा अर्ध सहरवासी भएको म । जब सहरले अपेक्षित खुसी दिन सक्दैन, जब खुसीका गाँठाहरू फुक्नुको बदला अञ्जान रुमलोमा अल्झिन थाल्छन्, अनि याद आउँछ निर्वोध बालापन र ग्रामीण परिवेश ।
उसबखतको सरल जीवन र सहज वातावरणमा खुसी हुन पाइने असङ्ख्य अवसर थिए । हाम्रो शास्त्र भन्छ– दुःखका कारण हो– अज्ञान । किन्तु त्यही निर्दोष अज्ञानभित्र छरिएको थियो खुसी । चञ्चल खुसीलाई जहाँको त्यहीँ समातेर आनन्द उठाउने क्षमता राख्थ्यो गाउँले जीवन ।
सीमित सूचनामा पहुँच भएका किसान, मजदुर र भरिया जीवनका स्वान्त सन्तुष्टिहरू । सानो तर सुगम संसारमा पालैपालो पाइने वृहदाकार खुसीहरू । सहरिया चस्काले आक्रान्त नहुँदासम्म प्राप्त भइरहने निर्वोध र निर्दोष आनन्दानुभूति । अज्ञानभित्र विराजमान
विलक्षण दिव्यज्ञान ।