काठमाडौं (अस) । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी अभियान’ अन्तर्गत वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मंगलवार ‘स्वदेशी डटकम डटएनपी’ र मोबाइल एप सार्वजनिक गरेका हुन् । स्वदेशी अभियानमा आबद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सक्ने व्यवस्था मिलाइएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिेकेसन र वेबसाइटमा समावेश छ । स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आबद्ध भएको बताइएको छ । नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्नेगरी अभियानको प्रारम्भ गरिएको परिसंघको बताएको छ ।
स्वदेशी बेवसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्य अभियानले राखेको बताए । स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगिकीकरणमा पनि टेवा दिने उनले उल्लेख गरे ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको बताए । परिसंघका अर्का उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने लक्ष्य अभियानले राखेको उल्लेख गरे ।