मंसिर ८, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारी कायमै रहेता पनि मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज) ले बुधवार आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले असोज महीनायता भएको सरकारी खर्चले पनि यसको पुष्टि हुने बताए ।
कोभिडका कारण अर्थतन्त्रमा चाप बढेता पनि केन्द्रीय बैंकले त्यसको व्यवस्थापनको लागि प्रयास गरिरहेको बताए । उनले समग्र अर्थतन्त्रमा केन्द्रीय बैंकको नीतिले जोगाउने काम गरेको भन्दै अहिले तरलताको समस्या टार्न अर्बौंको तरलता बजारमा पठाएको समेत बताए।
उनले आर्थिक पुनरुत्थानमा सार्वजनिक साझेदारी अत्यन्त महत्वपूर्ण विषय भएकाले सरकारले पनि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढेको बताए ।यो वर्ष कर्जाको माग धेरै भएको कारण ब्याजदर केही माथि गएको भन्दै उनले चालू आर्थिक वर्षमा मूल्य वद्धिमा चाप पर्ने देखिएको बताए । कर्जाको ब्याजदर अझै दोहोरो अंकमा नपुगेकोले आत्तिनुपर्ने अवस्था नआएको पनि उनले बताए ।
यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडकै समयमा पनि मुलुकको अर्थतन्त्र विस्तारै अगाडि बढ्न थालेको तर अझै पनि पर्यटन, बैकिंग लगायतका केहि क्षेत्रमा संकट कायमै रहेको बताए । उनले पर्यटन अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको पुनरुत्थानको लागि सवै पक्ष गम्भिर भएर लाग्नुपर्ने बताए ।
साथै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) परियोजना मुलुकको अर्थतन्त्र विकासको लागि अत्यन्त आवश्यक रहेको भन्दै यो अवसर नेपालले गुमाउन नहुने पनि बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजले मुलुकको गतिविधिले सबै क्षेत्रमा सकारात्मक तरिकारले सम्प्रेषण गर्न सहयोग गरिरहेको बताए । उनले आर्थिक क्षेत्रमा आबद्ध पत्रकारहरुले सत्य, तथ्य तथा मुलुकको पुनरुत्थान गर्न सहयोग गरेको बताउँदै अझै यस क्षेत्रमा गहन अध्ययन गरी उत्पादनशील क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे ।
त्रिभुवन विश्वविद्यालयका केन्दीय अर्थशास्त्र विभाग प्रमुख प्राडा शिवराज अधिकारीले पत्रकार सरकारको वाचडगको रुपमा भएकाले नीति नियममा प्रभावकारी कार्यान्वयन गर्नका लागि जोड दिनुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोभिड - १९ ले गर्दा थलिएको अर्थतन्त्र निकै गम्भीर बनेको बताए । सरकार निजी क्षेत्रको जस्तो सबल बन्न नसकेको भन्दै उनले सरकारको आर्थिक क्षेत्रका समृद्धिका लागि साझेदारीका साथ अघि बढ्ने बताए । साथै, उनले सरकारले नीतिगत व्यवस्थापन गरेमा सहज ढंगले अघि बढ्न सक्ने जिकिर गरे ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सरकारले कोरोनाको खोपलाई प्राथमिकता दिएको बताए । उनले सरकारले सबै क्षेत्रलाई प्याकेजको व्यवस्था गर्नुका साथै सामाजिक सुरक्षामा पनि ध्यानमा राखेर राहत प्रदान गरेको बताए ।
सरकारको समृद्धिको सपना साकार पार्नका लागि नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिंदै उनले निजी क्षेत्रको सहयोग विना सरकारले कुनै पनि कार्यको पूर्णता दिन नसक्ने पनि बताए ।