काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
आफ्नो जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता १०० अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानीय बासिन्दाहरूका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा १ लाख ३४ हजार ५२० कित्ता मात्र आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता आईपीओ सर्वसाधारणमा थप गरी सोही अनुपातमा सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १२ लाख १६ हजार ५६८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको छ ।
यीबाहेक सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरूका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यीबाहेक बाँकी रहेको ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो ।
सर्वसाधारण लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा असोज १७ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा असोज २८ गतेसम्म विक्री लम्बिनेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले दाङमा क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । २०६९ जेठ १८ गतेदेखि कम्पनीले उत्पादन शुरू गरेको हो ।