बालगुङ । बागलुङ बजारको गोल्डेन गेट चोकमा ट्युसन पढ्न र कम्प्युटर तथा भाषा सिक्न विद्यालय/क्यापसका विद्यार्थीको घुइँचो नै हुन्थ्यो । तर कोरोना महामारीका कारण दुई वर्षयता ट्युसन सेन्टर तथा भाषा सेन्टर बन्द अवस्थामा पुग्यो । ‘गोल्डेन गेट भाषा तथा ट्युसन सेन्टर’का सफल व्यवसायी नेत्र विष्ट कोरोना महामारीका कारण समस्यामा परे । भाषा कक्षाहरू ठप्प भए ।
कोरोनाले नियमित आम्दानीको अवसर रोकिएकोमा लगानीकर्तामा केही तनावको अवस्था सिर्जना भए पनि केही युवा सञ्चालकले संकटले निम्त्याएकोे समस्यामा चिन्तित नभएर नयाँ विकल्प र अवसर खोज्न थाले । त्यही क्रममा ट्युसन भाषा कक्षा सञ्चालन गरेको गोल्डेन गेटकै नामबाट सुपर मार्केट खोल्ने सहमति भयो । कोरोनाको त्रासकै बेलामा खाद्यान्न, कस्मेटिकलगायत एउटै छानामुनि दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीसहित ‘गोल्डेन गेट सुपर मार्केट’ सञ्चालनमा ल्याइएको हो । ‘अहिले सबैभन्दा बढी शैक्षिक संस्था र व्यापार व्यवसायमै असर परेको छ,’ सञ्चालक विष्टले भने, ‘संकटका बेला अवसर खोज्दै नयाँ व्यवसाय थालेका छौं ।’ बागलुङ नगरपालिका–२ गोल्डेनगेट चोकमा तीन करोडको लागतमा यो सुपरमार्केट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । कोरोनाले यी सबै व्यवसायमा असर पारेपछि सुपर मार्केट सञ्चालनमा ल्याइएको अर्का सञ्चालक इन्द्र थापाले बताए । सुपरमार्केटमा १५ जनाले रोजगारी पाएको अर्का सञ्चालक राजेन्द्र पुनले बताए । लामो समयदेखि बजारको लालीगुराँस चोकमा जुत्ता र फेन्सी पसल गर्दै आएका पुनम शर्माले पनि दुई महिना अघिदेखि ‘साथी मार्ट’ सञ्चालनमा ल्याएकी छिन् । झण्डै ५० लाखको लागतमा खाद्यान्न, कस्मेटिक, पेय पदार्थ तथा घरेलु उत्पादनसहितको मार्ट सञ्चालनमा ल्याइएको उनले बताइन् । ‘विदेश भ्रमणका क्रममा टोलटोलमा यस्ता मार्ट देखेको थिएँ, अत्यावश्यक उपभोग्य वस्तुकोे व्यापारसमेत राम्रो देखेर यो मार्ट सञ्चालनमा ल्याएको हुँ,’ उनले भनिन् ।
मार्टमा दैनिक उपभोग्य वस्तुका अलवा कस्मेटिक, पेय पदार्थ, सरसफाइका सामान, अन्तरराष्ट्रिय ब्राण्डका मदिरा, बेकरी आइटम, बाथरूमका लागि चाहिने सामान उपलब्ध छन् । पछिल्लो समय बजारमा सुपर मार्केट सञ्चालकमा एक किसिमको लहरै आएको छ । रासस