राँझा । मानव स्वास्थ्यमा सिसाजन्य विषबाट हुने समस्या न्यूनीकरण गर्न सचेतना जगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सिसाको विषबाट बच्नका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा आज नेपालगञ्जमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले घर, फर्निचर र मैदानमा गरिने रङरोगन, आयुर्वेदिक औषधि, बालबालिकाका खेलौना, सौन्दर्य सामग्रीलगायत वस्तुमा हुने सिसाको प्रयोगलाई निरुत्साहित गर्न उपभोक्तामा सचेतना जगाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले मानव स्वास्थ्य सबैभन्दा संवेदनशील विषय भएकाले सिसाको प्रयोगलाई निरुत्साहित बनाउन उपमहानगरले अभियान सञ्चालन गर्ने बताए। नगरवासीमा स्वास्थ्य सचेतना जगाएर उपभोग्य सामग्री तथा अन्य वस्तुमा सिसाको प्रयोगलाई निरुत्साहित गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भन्सारमा स्वास्थ्य, वातावरण र सुरक्षा प्रभाव पार्ने वस्तु तथा सामानको आयातमा निषेध गर्ने गरेको बताउँदै मापदण्ड भन्दा बढी सिसाको प्रयोग भएका सबैखाले वस्तु आयातमा चासो दिने प्रतिबद्धता व्यक्त गरे ।
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका निमित्त प्रमुख अमितभूषण सुमनले मापदण्ड भन्दा बढी सिसा प्रयोग भएका खाद्यवस्तु तथा सौन्दर्य सामग्रीको प्रयोगले केन्द्रीय स्नायु प्रणालीमा असर पर्ने बताउँदै बालबालिका, गर्भवती र वृद्धालाई बढी खतरा हुने भएकाले प्रयोग नगर्न आग्रह गरे । सरकारले खाद्य सामग्रीमा दुई दशमलव पाँच, खानेपानीमा शून्य दशमलव शून्य एकको मापदण्ड तोकेको जानकारी दिँदै सबै सरोकारवाला निकाय लागेर आम उपभोक्तालाई यो विषयमा जानकारी दिएर सिसाको अधिकतम प्रयोगलाई निरुत्साहित गर्न सकिने उनले बताए।
घरेलु तथा साना उद्योग महासंघ बाँकेकी उपाध्यक्ष दिला शाहले आफुहरुले प्रयोग गर्ने सौन्दर्यताका सामग्रीमा प्रयोग भएको सिसाका कारण रोग निम्त्याइरहेकाले अब महिला दिदीबहिनीमा पनि सचेतना जगाउन आफू लाग्ने बताए। कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अधिकृत राजाराम पोटे श्रेष्ठले चेतनाको कमिका कारण सिसाबाट हुने जोखिम बढ्दै गएको उल्लेख गरे ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र काठमाडौँका अध्यक्ष रामचरित्र साहले घर, फर्निचर, खेलौना, पेन्टसर कस्मेटिक सामानमा सरकारले तोकेको मापदण्ड भन्दा बढी सिसाको प्रयोग गरेको पाइएको जानकारी दिँदै सबै सरोकारवाल निकायले चासो र चिन्ता दिनुपर्ने बताए। विश्व स्वास्थ्य संगठन् नेपाल, एकीकृत सामाजिक विकास केन्द्र बाँके र नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले कार्यक्रमको आयोजना गरेको हो ।
सन् २०१९ को विश्वव्यापी कोरोना संक्रमणले थिलथिलो बनाएको विश्व अर्थतन्त्र राम्रोसँग तंग्रिन नपाउँदै पुनः आर्थिक मन्दीको चपेटामा फस्दै गएको छ । कोभिडपश्चात्को असर तथा रसिया–युक्रेन युद्धलगायत कारण उपभोग्य वस्तु तथा सेवाको मूल्य क्रमशः आकाशिँदो छ भने समग्र आर्थिक गतिविधि खुम्चिँदो गतिमा छ । सन् २०२१ मा ६ प्रतिशतको वृद्धिदर प्राप्त गरेको विश्व अर्थतन्त्र सन् २०२२ मा ३ दशमलव २ प्रतिशतमा खुम्चने प्रक्षेपण अन्तरराष्ट्रिय मुद्राकोषले गरेको छ । त्यसैगरी चालू आर्थिक वर्ष (आव) २०७९/८० मा ५ दशमलव ८४ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको नेपालको आर्थिक वृद्धि २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपणलाई आधार मान्ने हो भने कृषिक्षेत्रको वृद्धिदर सन्तोषजनक रहे तापनि गैरकृषि क्षेत्रको वृद्धिदर अत्यासलाग्दो ढंगले ओरालो झरेको देखिन्छ । गत आव २०७८/७९ मा २ दशमलव २४ प्रतिशतले वृद्धि भएको कृषिक्षेत्र चालू आवमा २ दशमलव ७३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ भने गत आव २०७८/७९ मा ६ दशमलव ५६ प्रतिशतले वृद्धि भएको गैरकृषि क्षेत्र चालू आवमा केवल १ दशमलव ९२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । यद्यपि चालू आवमा विप्रेषण आय १२३१ अर्ब ७३ करोड प्राप्त हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ ।
करीब २ दशकदेखि नेपाली अर्थतन्त्रको मेरूदण्डका रूपमा रहँदै आएको विप्रेषणले गरीबी न्यूनीकरणमा सकारात्मक भूमिका खेलेको छ । सन् २०२१ को अन्त्यतिर नेपाल आएका संयुक्त राष्ट्र सङ्घीय गरीबी तथा मानवअधिकार विशेषज्ञ ओलिभियर डि सुटरले भनेका थिए, ‘गरीबीमा आएको एक चौथाइ कमीको श्रेय वैदेशिक रोजगारीलाई मात्र जान्छ र विप्रेषण नआउँदा नेपालमा गरीबी बढ्ने अध्ययनहरूले देखाएका छन् ।’ तेस्रो जीवनस्तर मापन सर्वेक्षणका अनुसार ५६ प्रतिशत नेपाली घरपरिवारले विप्रेषण प्राप्त गर्ने गरेका छन् । फलस्वरूप नेपाली घरपरिवारको आम्दानीमा वृद्धि भएको छ । बढ्दो विप्रेषणले एकातिर गाँस, वास, कपाससहित गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईजस्ता आधारभूत आवश्यकतामा पहुँच बढाएको छ भने अर्कोतिर क्रयशक्ति बढेका कारण समग्र आर्थिक क्रियाकलापमा वृद्धि भई सरकारको राजस्वको आकारसमेत बढाएको छ ।
नेपालमा विप्रेषणले विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान गरेको छ । गत आव २०७८/७९ मा कुल वस्तु निर्यात रू.२०३ अर्बको र कुल वस्तु आयात रू. १९२० अर्ब २६ करोडको भई रू. १७२० अर्ब ४२ करोड कुल वस्तु व्यापारघाटा भएको थियो, जुन कुल गार्हस्थ्य उत्पादनको ३५ दशमलव ५ प्रतिशत हो । फलस्वरूप चालू खाता ६२३ अर्ब ३३ करोडले र शोधनान्तर स्थिति रू. २५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । तथापि गत आवको अन्त्यसम्ममा कुल विदेशी विनिमय सञ्चिति रू. १२१५ अर्ब ८० करोड कायम भएको थियो, जसको एकमात्र कारण विप्रेषण आय नै हो ।
मूलतः आयात र विप्रेषणमा आश्रित नेपाली अर्थतन्त्र विश्व आर्थिक मन्दीसँगै थप संकटमा पर्नसक्ने आशंका अर्थविद्हरूले गर्न थालेका छन् । नेपालमा बढ्दै गएको उपभोगवादी प्रवृत्तिका कारण बचत तथा लगानीको आकार न्यून छ । विप्रेषणबाट प्राप्त आयको झन्डै ८० प्रतिशत रकम उपभोगमा खर्च हुने गरेको अध्ययनहरूले देखाएका छन् । अधिक उपभोग र न्यून बचतले एकातिर उत्पादनमूलक क्षेत्रमा लगानीका लागि स्रोतको अभाव देखिएको छ भने अर्कोतिर विलासिताका वस्तु उपभोगले व्यापारघाटा मात्रै बढाएको छैन, अर्थतन्त्रमा चरम तरलता अभावसमेत देखिएको छ । अतः विप्रेषणको आप्रवाह र यसको उत्पादनमूलक उपयोगबारे व्यापक रूपमा छलफल तथा बहस गर्नुपर्ने बेला आएको छ ।
पहिलो कुरो त व्यक्तिगत विप्रेषणलाई कसरी यो खर्च गर वा त्यो नगर भन्न सकिन्छ र ? दोस्रो, कसैले कसैलाई तिम्रो सम्पत्ति यहाँ खर्च गर वा त्यहाँ नगर भन्दैमा सबैले मान्छन् भन्ने कहाँ छ र ? त्यसैले विप्रेषणको उत्पादनमूलक उपयोग गर्ने भन्ने विषय आफैमा चुनौतीपूर्ण छ । तथापि यो गम्भीर संकटको अवस्थामा विप्रेषणको विवेकपूर्ण उपयोग अत्यावश्यक पनि छ । अतः यो विश्व आर्थिक संकटको जटिल समस्यासँग जुध्न विप्रेषण प्राप्त गर्ने परिवारलाई विभिन्न आर्थिक तथा गैरआर्थिक प्रोत्साहन उपलब्ध गराई औपचारिक माध्यमबाट विप्रेषणको आप्रवाह बढाई विप्रेषणलाई निम्न उत्पादनमूलक क्षेत्रतर्फ आकर्षित गर्न सम्बद्ध सबै निकायले हरसम्भव प्रयास गर्नुपर्छ ।
कृषि उत्पादनमा लगानी एउटा सही उपयोग हुन्छ । विप्रेषणप्राप्त परिवार शहर केन्द्रित भएका कारण केही वर्षयता खेतीयोग्य जमीन बाँझिँदै बुट्यान तथा जंगलमा परिणत भएको छ भने अर्कोतिर जनसंख्या वृद्धिको अनुपातमा राष्ट्रिय कृषि उत्पादनमा कमी आउनुका साथै खाद्य पदार्थको आयात बढ्न थालेको छ । त्यसैगरी, विश्व खाद्य बजारमा ३३ प्रतिशत खाद्यान्न निर्यात गर्ने रूस र युक्रेनबीचको युद्धका कारण निकट भविष्यमा विश्व खाद्यसंकट निम्तिने खतरा बढेर गएको छ । त्यसैले सम्भावित खाद्यसंकटबाट बच्न विप्रेषणप्राप्त परिवारलाई नै वा अन्य माध्यमबाट विप्रेषणलाई कृषि उत्पादनसँग जोड्नुपर्ने देखिन्छ ।
दोस्रो, घरेलु तथा साना उद्योगमा लगानी गर्न प्रेरित गर्नुपर्छ । दर्ता शुल्क छूट, आय कर छूटलगायत विभिन्न आर्थिक उपकरण तथा गैरआर्थिक उपकरणहरूको प्रयोग गरी घरेलु तथा साना उद्योगमा विप्रेषण लगानीलाई आकर्षित गर्न जरुरी छ । यसले एकातिर रोजगारीका अवसरहरू सृजना गर्नमा सहयोग पुर्याउँछ भने अर्कोतर्फ आयात प्रतिस्थापनमा समेत टेवा दिन्छ ।
विप्रेषणलाई स्वरोजगार प्रवर्द्धनमा केन्द्रित गर्नुपर्छ । वैदेशिक रोजगारीबाट प्राप्त आर्थिक तथा सामाजिक विप्रेषणलाई स्वरोजगारसँग आबद्ध गर्न आर्थिक तथा प्राविधिक सहयोग र समन्वयका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । जस्तै विदेशमा बसेर जुन ज्ञानशीप प्राप्त गरेर फर्किएको छ सोही किसिमको स्वरोजगारमा आबद्ध हुन तीनै तहका सरकारले विलम्ब नगरी आर्थिक तथा प्राविधिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
विप्रेषणलाई स्थानीय उत्पादन र उपभोगमा प्रोत्साहित गर्नुपर्छ । नेपाल भित्रिएको विप्रेषण रकमलाई मुलुकभित्रकै अर्थतन्त्रमा उपयोग र पुनर्प्रयोग गर्न स्थानीय उत्पादन र उपभोगमा लगानी तथा खर्च गर्न प्रोत्साहित गरिनुपर्छ । यसले वर्तमान तरलता अभावलाई केही हदसम्म न्यूनीकरण गर्न मद्दत गर्छ ।
विलासिताका वस्तु तथा सेवाको प्रयोग न्यूनीकरण गर्न प्रोत्साहन गर्नुपर्छ । पछिल्लो समयमा बढ्दो विप्रेषणका कारण नेपाली समाज विलासिताका वस्तु तथा सेवा उपभोगमा बढी लालायित देखिन्छ, जसले तत्कालको व्यक्तिगत इच्छा पूर्ति गरे तापनि व्यापारघाटा बढाउन ठूलो भूमिका खेलेको छ । त्यसैले तीनै तहका सरकारले न्यून लागतमा प्राप्त गर्न सकिने, सम्भव भएसम्म स्थानीय उत्पादनका वस्तु तथा सेवा प्रयोग गर्न, गराउन प्रोत्साहन गरिनुपर्छ । जापान, दक्षिण कोरिया, चीनलगायत कतिपय यूरोपेली मुलुकले पेट्रोलियम पदार्थको खपत घटाउन साइकल प्रयोगलाई प्रोत्साहन गरेका छन् । साइकल प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गराई व्यापारघाटा कम गराउनुका साथै नागरिकको शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्नसमेत सहयोग गर्छ । नेपालमा पनि तीनै तहका सरकारले आफ्ना मन्त्रालय वा अन्तर्गतका कार्यालयका कर्मचारीलाई साइकल प्रयोग गर्न प्रोत्साहन गरी उदाहरण देखाउन सक्छन् ।
छोटो अवधिमा सम्पन्न हुने बृहत् आयोजनामा उपयोग गर्नुपर्छ । विभिन्न प्रोत्साहनका माध्यमबाट विप्रेषणलाई सम्पन्न हुन लागेका वा चाँडै सम्पन्न गर्न सकिने जलविद्युत्लगायत ठूला प्रकृतिका, बृहत् रोजगारी सृजना गर्ने र अर्थतन्त्रका बहुक्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने खालका आयोजनामा आकर्षित गर्नुपर्छ । यसले एकातिर पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गरी क्रमशः विद्युतीय उपकरण तथा साधनको प्रयोगमा प्रोत्साहित गर्छ भने अर्कोतिर हालको पेट्रोलियम पदार्थको बढ्दो आयात निरुत्साहित गरी व्यापारघाटा कम गर्न सघाउँछ ।
अन्त्यमा, वर्तमान विश्व आर्थिक संकटको चपेटाबाट विक्षिप्त हुने स्थितिमा पुगेको नेपाली अर्थतन्त्रलाई जोगाउँदै सही बाटोमा फर्काउन विप्रेषणलाई बडो सुझबुझका साथ उत्पादनमूलक र रोजगारोन्मुख क्षेत्रतर्फ आकर्षित गरी अधिकतम परिचालन गर्न तीनै तहका सरकारका साथै विप्रेषणप्राप्त परिवारलगायत सम्बद्ध सबै सरोकारवाला विलम्ब नगरी लाग्नुपर्छ ।
लेखक युवराज आचार्य नेपाल सरकारका अधिकृत हुन् ।
गाँजा अवैध हिसाबले संसारमा सबैभन्दा धेरै सेवन गरिने नशालु लागूपदार्थ हो । विश्व जनसंख्याको करीब ४ प्रतिशत (१९ करोड २० लाख) मानिसहरूले यसको सेवन गर्ने र अमेरिकीहरूमा ४० प्रतिशतले जीवनमा एक न एकपटक सेवन गर्ने आँकडा छ । यसको सेवन अक्सर हुर्किरहेको तरुण उमेर किशोरावस्थामै शुरु गर्नेे र पुरुषले बढी गरे पनि महिलाहरूमा पनि बढ्दै गएको देखिन्छ । यसरी किशोरावस्थामा शुरु गर्ने करीब १५ प्रतिशत र दैनिक सेवन गर्ने ३५–५५ प्रतिशत मानिसहरूमा यसको दुर्व्यसन, लत (Addiction) जस्तो गम्भीर स्वास्थ्य समस्या हुने विश्व स्वास्थ्य संघ (२०१६) को तथ्यांक छ । लेखक संलग्न अवलोकन र अध्ययनमा पनि मानसिक सेवामा आउने १०-२० प्रतिशत मानिसहरूले यसको सेवन गर्ने गरेको देखिएको छ ।
मूलतः क्यानाबिज साटिभा, एन्डिका र रुडरालिस जस्ता बोटमा हुने सयभन्दा धेरै खालका क्यानाबिनोइड्, फ्लाबिनोइड् र टर्नोइड् जस्ता रसायन पदार्थहरूमध्ये डेल्टा-9-टेट्राहाइड्रोक्यानाबिनोल र क्यानाबिनोलमा मात, लत लाग्ने गुण हुन्छ । धुवाँ बाफ तान्ने, खाने लगाउने अनेक स्वरूपहरूमा विभिन्न मात्रामा गाँजाको प्रयोग हुने गर्दछ । गाँजा, भाङमा १ प्रतिशत जति हुन्छ भने सिन्सेमिलामा ५-६ प्रतिशतसम्म हुने गर्दछ । यी बोटहरूबाट मादक पदार्थका अलावा कपडा, डोरीलगायत सामग्रीहरू तथा अचार, पेयपदार्थ जस्ता खाद्य–सामग्रीहरुको पनि उत्पादन हुने गर्दछ । यसको खेती, विक्री, वितरण, प्रयोग (मनोरञ्जन र चिकित्सकीय उपभोग)लाई कानूनी मान्यता दिनुपर्ने मत टड्कारो हिसाबले विश्वभरि नै आएको र नेपालमा पनि यसको लहर देखिएको छ ।
नेपालले सन् २०२० डिसेम्बरमा गाँजालाई मादक, लागूपदार्थको यस्तो समूह जसलाई उपचारात्मक प्रयोजनका लागि पनि विचार गर्न नसकिने कोटि (schedule IV) बाट पुनःवर्गीकरण र पुनर्विचार गर्नुपर्ने पक्षमा मत दिएको छ । यसलाई कानूनी मान्यता दिँदा देशलाई ठूलो धनराशी (सन् २०२५ मै करीब १ खर्ब ४६ अर्ब रुपैयाँ) फाइदा हुने र देशको विकास भई काँचुली फेरिने तर्क नेपालमा आएको छ । नेता, विद्वत भनिने केही व्यक्तिहरूबाट यसका पक्षमा साह्रै प्रभावकारी र चित्ताकर्षक वाणी, विचार, अन्तरवार्ता, समाचार, लेख आदिको एकोहोरो अलाप र बाढी आएको स्थिति देखिँदैछ ।
दुई दशकभन्दा लामो समयदेखि मनोचिकित्सा कर्ममा रहेको एक मनोचिकित्सकका रुपमा मैले याद गरेदेखि अन्तरंग, बहिरंग, आकस्मिक सेवा सबै खालका सेटअपहरूमा यो गाँजा प्रकरणले धेरै बिरामी, तिनका जीवन र परिवारजनलाई थिल्थिलो, तहसनहस, विक्षिप्त र आजित बनाएको, सताएको देखेको छु । आज यो लेख लेख्न बसेकै दिन पनि हाम्रो साइक्याट्री वार्डका ३३ प्रतिशत बिरामीहरूमा गाँजाको सेवन छ भने २३ प्रतिशतमा यसको डिपेन्डेन्सको क्राइटेरिया पुग्छ । हिस्ट्री लिँदा बिरामी र मानिसहरूमा गाँजाको असरबारे पटक्कै वैज्ञानिक जानकारी भएको भेटिँदैन । कलेज र विज्ञान पढिरहेका बिरामीसमेत गाँजाले राम्रो हुने, यो सरल रूपमा पाइने कुरा गर्छन् । एकातिर गाँजाको पक्षधर मतको ज्वालामुखी ! अर्कोतिर हरपलको आफ्नो फर्स्ट ह्याण्ड अवलोकनको दिग्दारी ! तर अत्यन्त झिनो, नगन्य तथ्यगत गाँजा सेवनको विपक्षी मत । यसबारे निष्पक्षरूपमा यसको चिकित्सकीय प्रयोगबारे समीक्षा अध्ययन गर्ने विचार गरें र यसबारे जर्नल लेखहरू पनि प्रकाशित भए । यहाँ, त्यसै प्रयासको प्रतिबिम्ब तथ्यगत विचार राख्ने दुस्प्रयास गर्दैछु । तथ्यबारे घोटलेर सही कुरा अवलम्बन गर्ने जिम्मा भने विवेकी पाठकहरूकै हातमा सुम्पन्छु ।
गाँजामा हुने विशेषतः क्यानाबिड्योल भनिने एक विशेष रसायनचाहिँ केही स्वास्थ्य समस्याहरूमा औषधीको रूपमा प्रयोग गरेको पाइन्छ । विशेष खालको काम्ने, मुर्छा पर्ने, निकै थोरै सीमित रोग र उल्टी रोक्ने प्रयोजनमा यसको प्रयोगलाई ज्यादै हाइलाइट गरेको पाइन्छ । यी दुई प्रयोजनका लागि अमेरिकामा (एफडीए ) स्वीकृतिसमेत छ । अरु केही स्नायु रोगहरू (मल्टिपल स्क्लेरोसिस, पार्किन्सन्स)मा पनि यसको उपयोगिताको दाबी छ, तथापि प्रमाणको कमी देखिन्छ । उल्टी रोक्न र यस्ता स्नायु समस्याहरूमा प्रयोग गर्ने भनिए पनि गाँजामा हुने यी नै केमिकलले रोक्नै हम्मे पर्ने वान्ता भई यसको सेवन गर्ने धेरै मानिसहरू सिकिस्तै परेको बढी देखियो । स्नायुरेशा र कोषमा प्रतिकूल असर परी अरु धेरै स्नायु समस्याहरू उब्जिएको पाइयो ।
कोभिडको महामारीको बेलामा पनि गाँजाले फोक्सोको स्वास्थ्यमा फाइदा हुने भनिए पनि यसमा हुने अर्को रसायनले फोक्सोमै गम्भीर असर पर्ने र क्यान्सर समेत गराउनसक्ने तथ्य सामु आयो । गाँजामा सुर्ती चुरोटमा जस्तै बेन्जोपाइरिन लगायत्का थरिथरि क्यान्सरकारक रसायनहरू त्यसमा भन्दा चारगुणा बढी असरदार हुने रिपोर्ट आएको छ । क्यान्सरको दर्द, खानाको अरुचिमा काम लाग्ने भन्दै गर्दा यसले नै विभिन्न खालका क्यान्सर गराउनसक्ने तथ्य झन् ध्यान दिन आवश्यक हुन गयो । खानाको अरुचिमा फाइदा पुग्ने भनिने गाँजाको सेवन गर्ने मानिसहरू अक्सर खाना नखाने, खानपिन अनियमित हुने र कुपोषणको शिकार भइरहेकै देखिन्छ । अझ, यसको सेवनले खानाको अरुचि भई तौल नियन्त्रण रहने भएकोले विशेष गरी आधुनिक र स्लिम हुन चाहने महिला वृत्तमा यसको सेवनको कुरा उठ्ने गरेको र त्यसै हिसाबका आकर्षक विज्ञापनहरू पनि देखिन्छ । दुखाइ, पीडा, सुजन कम गर्न प्रयोग गर्ने सन्दर्भमा आजकल औषधी विज्ञानमा अरु धेरै प्रभावकारी, सुरक्षित र वैज्ञानिक प्रमाण सहितका औषधीहरू विकास भइसकेको परिप्रेक्ष्यमा गाँजाको एनाल्जेसिक गुणको उपयोग गरिहाले पनि अति अति सतर्कताका साथ, अन्तिम उपायका रूपमा मात्र गर्नु ठिक होला ।
यता कतिपय मानसिक रोगहरूमा पनि गाँजाको उपयोगिताबारे मेडिकल लिटरेचरमा उल्लेख गरेको पाइन्छ । एन्जाइटी र निद्राको समस्यामा फाइदा गर्ने भनिए पनि सेवन गरेको वा मातिएको वा लामो समयको सेवन गर्नेहरूमा अक्सर धेरैमा मनोत्रास प्यानिकदेखि लिएर विभिन्न खालका छट्पटी एन्जाइटीसम्मका समस्याहरू देखिन्छन् । उदासीनता, डिप्रेसन वा मेनियामा पनि यदाकदा फाइदाको कुरा भने पनि आम यथार्थ जुन मेरो पनि देखेभेटेको कुरा हो, त्यो के भने गाँजा सेवन गर्ने मानिस यी मानसिक रोगले कडै रुपमा प्रभावित भएपछि अक्सर मनोस्वास्थ्य सेवामा आउँछन् । त्यसकारण यस्ता भावना वा मूड डिसअर्डरमा गाँजा ओखतीको रूपमा प्रयोग गर्ने कुरा मिल्दैन । कतिपय अरु मादक, लागूपदार्थमा लत लागेकाहरू गाँजातिर लाग्ने वा गाँजाबाट नशा सेवन थालेकाहरू अरु पनि सेवन गर्न थाल्ने परिदृश्य यस्ता मानिसहरूमा आमरुपमा भेट्टिने देखिने हुन् । कतिसम्म भने, गाँजाको उपयोगिता केही सीमित खालको साइकोसिसमा हुन्छ पनि भनियो । जबकि, अति धेरै मानिसहरूमा एकचोटी, बारम्बार सेवन वा दीर्घरूपमा यसको लत भएकाहरूमा साइकोसिस भएको देखिन्छ । गाँजाको सेवनले साइकोसिसको अनुवांसिक खतरा भएकाहरूमा एक पटक मात्र सेवन गर्दा पनि सलाईको काटीले जस्तो काम गर्दछ । यसको सेवनले साइकोसिस जस्तो गम्भीर मानसिक समस्याको शुरुवात गर्ने, यसको समग्र परिणति प्रतिकूल बनाउने, लक्षणहरू कडा रूपमा प्रकट गराउने र गाँजाको वैधतापछि यसको सेवन बढ्दा जनसंख्यामै अरु जटिलता र समस्यासहित विशेष गरेर साइकोसिस बढेका तथ्यांकहरू धमाधम आइरहेको देखिन्छ ।
तर्क गर्ने र मत दिनेहरू भन्छन्– गाँजा पनि ओपियड र अरुजस्तै नशा र लत लाग्नसक्ने पदार्थ हो । ठिक मात्रा, तरीका र माध्यमले लिए बिष त ओखती हुन्छ । अरु पदार्थ ओखतीको रूपमा प्रयोग गर्न मिल्ने, गाँजा किन नमिल्ने ! यस मामिलामा केही महत्त्वपूर्ण पक्षहरू गहिरिएर मनन् गर्न जरुरी हुन्छ, जस्तै– के प्रयोजनका लागि प्रयोग गर्ने ? के-कस्ता वाञ्छित र प्रतिकूल असर छन् ? ती असरहरूको पूर्वानुमान लगाउन सकिने नसकिने आदि । गाँजाका सवालमा, प्रमाणको हिसाबले यसका हानीहरूको अति ज्यादा तर, उपयोगिताको भने प्रमाण पुष्टि हुन बाँकी देखियो । यसको प्रयोगले मुटुको चाल गडबड भई मृत्यु समेत र साइकोसिससम्म हुने रिपोर्टहरु आए । यी घातक असरहरुको कुनै अनुमान लगाउने भरपर्दो आधार भने देखिँदैन । दीर्घ लती मात्र होइन, अति कम मात्रा र केवल एकपटक मात्र चाख्नेलाई पनि गम्भीर परिणाम हुनसक्ने देखियो । फेरि, यो दबाइभन्दा पनि प्लान्ट बेस्ड भएकोले व्यवहारिकरूपले प्रयोगमा आउने कुरामा यसको मात्रा निश्चित नहुने र वास्तविक धरातलमा अनियन्त्रित भई अति गम्भीर परिस्थिति सिर्जना भएका प्रतिवेदनहरू आइरहेछन् ।
अरु देश वा ठाउँको देखासिकी गरेर वा कुनै रूपमा यसको पक्षमा आमरुपले गाँजा बैध गर्दा नेपाल जस्तो अज्ञानता, गरीबी, कमजोर शासन व्यवस्था भएको र पिछडिएको मुलुकमा अति गम्भीर परिणाम नआओस् भनी सतर्क हुन आवश्यक छ । यसको मतलब, सोलोडोलो रोक तथा कानूनी बन्देज लगाउनु वा अहिलको परिस्थितिले सिर्जना भएको लुपहोल्स, राज्यले अनाहकमा राजस्व गुमाउने, तस्कर बिचौलिया मोटाउने परिस्थितिले निरन्तरता पाओस् अथवा यसको अनुसन्धान प्रक्रियालाई निरुत्साहित गर्नु भनेको भने पक्कै होइन । यसतिर गम्भीररूपमा सोचेर हाम्रो आफ्नो वस्तुस्थिति, यथार्थको मनन् गरेर आम मानिस, विद्यार्थी, शिक्षक, अभिभावकलगायत सबैलाई यसबारे सुशिक्षित बनाउने, यसको वैज्ञानिक अनुसन्धान अध्ययनलाई प्रेरित गर्ने तथा विद्यमान कानूनको वैज्ञानिक ढंगले परिमार्जन गरी निर्दिष्ट उद्देश्य, प्रयोजनपरक र जनस्वास्थ्यप्रति सजग नीतिनियमहरूको निर्माण र गम्भीरतापूर्वक कार्यान्वयन गर्न राज्य सरकार र जनता लाग्न जरुरी भएको छ । अब, यस्तोमा कतै सुनियो, विज्ञापन देखियो वा कसैले भने, ‘गाँजा त गज्जबको ओखती हो’, त पत्याउनु र प्रयोग गर्नुअघि अहिलेसम्म प्राप्त प्रमाणहरू पर्गेल्न र बारम्बार सोचेर ठम्याउन जरुरी हुन्छ ।
(प्रा. डा. शाक्य, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् ।)
#Marijuana #Weed #cancer #depression #Dependence #abhiyandaily #aarthikabhiyan
काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासायनिक मलमा परनिर्भर हुँदा वर्षेनि अर्बौं रुपैयाँ बाहिरिने भएकाले त्यसलाई रोक्ने उद्देश्यले प्रांगारिक मल कारखाना स्थापना गर्ने तयारी गरेको बताएको छ ।
कारखाना स्थापनाका लागि अहिले विज्ञहरूको संलग्नतामा विभिन्न चरणमा अध्ययन भइरहेको कम्पनीले जानकारी दिएको छ । बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले प्रांगारिक मल कारखाना स्थापनाका लागि अध्ययन थालिएको जानकारी दिए । उनका अनुसार अबको केही वर्षभित्रै खाद्य बैंकसँग आबद्ध लाखभन्दा बढी किसानलाई प्रांगारिक मल उपलब्ध गराउन सकिने गरी कारखाना खोल्ने उद्देश्यले अध्ययन थालिएको छ । अध्ययनपश्चात् कारखाना सम्भव भएर उत्पादन शुरू गर्न सके विस्तारै त्यसलाई देशव्यापी बनाउने योजना रहेको उनले सुनाए ।
‘हामीले चीन, दक्षिण कोरिया, जापानलगायत देशमा प्रांगारिक मल उत्पादन गरिरहेका कम्पनीसँग सहकार्य गरेर नेपालमा पनि यसको सम्भावनाबारे अध्ययन गरिरहेका छौं । प्रारम्भिक अध्ययनले प्रशस्त सम्भावना देखाएको छ,’ उप्रेतीले आर्थिक अभियानसँग भने, ‘यसको उत्पादन लागत रासायनिक मलभन्दा निकै सस्तो पर्ने देखिएको छ ।’ उप्रेतीका अनुसार यसमा सहकार्य गर्न कोरियन कम्पनीहरूले चासो पनि देखाएका छन् । ‘त्यसैले उनीहरूसँगै सहकार्य गरेर काम अघि बढाउँछौं,’ उप्रेतीले थपे ।
रासायनिक मलविना कृषि उत्पादन असम्भव जस्तै छ । यस्तो बेला सरकारले कृषिका लागि छुट्ट्याउने कुल बजेटको आधाभन्दा बढी अंश रासायनिक मल खरीदमै खर्च हुने गरेकाले कृषिका अन्य क्षेत्रमा बजेट नै नजाने स्थिति आउने सक्ने जोखिम छ ।
बजेट जति सबै रासायनिक मलमा खर्च हुने र कृषिका पूर्वाधार विकासका काम पछि पर्ने खतरा बढ्दै गएकाले रासायनिक मलमाथिको परनिर्भता घटाउन प्रांगारिक मल कारखाना नै उत्तम विकल्प हुन सक्ने उप्रेतीको भनाइ छ । त्यसैले खाद्य बैंकले यसको थालनी गर्न पहल गरेको उनले बताए ।
नेपालमा प्रचलनमा रहेका प्रांगारिक मलमध्ये जिवातु मल, एजोला प्लान्टबाट बन्ने वनस्पति मल, गाईबस्तुको मल, गँड्यौला मललगायतलाई विकल्पको रूपमा अध्ययन भइरहेको बताइएको छ । आधुनिक तरीकाले उच्च प्रविधियुक्त कारखानाबाट मल उत्पादन गरी उत्पादन क्षमतासमेत बढाएर दाना वा झोलका रूपमा बजारमा ल्याउने सम्भावनाको खोजी भइरहेको छ ।
राष्ट्रिय खाद्य बैंकका वनस्पतिविज्ञ मोहनप्रसाद पन्थीका अनुसार रासायनिक मलको बढ्दो प्रयोगका कारण माटो बिग्रिएको छ । रासायनिक मल थोरै मात्रामा नभए माटो खुकुलो नै हुँदैन । त्यसैले पहिलो वर्ष ५० प्रतिशत रासायनिक र ५० प्रतिशत प्रांगारिक, दोस्रो वर्षमा ६० प्रतिशत प्रांगारिक र ४० प्रतिशत रासायनिक, तेस्रो वर्षमा ७० प्रतिशत प्रांगारिक र ३० प्रतिशत रासायनिक प्रयोग गर्दै चौथो वा पाँचौं वर्षमा शतप्रतिशत प्रांगारिक मलको प्रयोगमा जान सकिन्छ । एकैपटक प्रांगारिक मल मात्रै प्रयोग गर्दा उत्पादन बढ्नेभन्दा पनि घट्ने जोखिम हुन्छ । त्यसैले प्रयोगमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् ।
नेपालमा अहिले विभिन्न संघसंस्था र कम्पनीले सानो परिमाणमा प्रांगारिक मल उत्पादन गर्ने गरेका छन् । ती मल चामल, धानभन्दा पनि महँगा छन् । तिनको प्रयोगले उत्पादन पनि राम्रो दिन सकेको छैन । त्यसैले त्यसको क्षमता विस्तार जरुरी देखिन्छ । खाद्य बैंकले उत्पादन गर्न खोजेको प्रांगारिक मल फलपूmल, तरकारी र अन्नबालीलगायत फरकफरक बालीका लागि त्यही अनुसारको पोषण क्षमतायुक्त हुनेछ ।