काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको छ । अग्र्यानिक उत्पादन गरी कृषि वस्तुमा परनिर्भरता घटाउने उद्देश्यले स्थापना गरिएको बैंकले मुलुक पूर्ण रूपमा रासायनिक मलमा परनिर्भर हुँदा वर्षेनि अर्बौं रुपैयाँ बाहिरिने भएकाले त्यसलाई रोक्ने उद्देश्यले प्रांगारिक मल कारखाना स्थापना गर्ने तयारी गरेको बताएको छ ।
कारखाना स्थापनाका लागि अहिले विज्ञहरूको संलग्नतामा विभिन्न चरणमा अध्ययन भइरहेको कम्पनीले जानकारी दिएको छ । बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले प्रांगारिक मल कारखाना स्थापनाका लागि अध्ययन थालिएको जानकारी दिए । उनका अनुसार अबको केही वर्षभित्रै खाद्य बैंकसँग आबद्ध लाखभन्दा बढी किसानलाई प्रांगारिक मल उपलब्ध गराउन सकिने गरी कारखाना खोल्ने उद्देश्यले अध्ययन थालिएको छ । अध्ययनपश्चात् कारखाना सम्भव भएर उत्पादन शुरू गर्न सके विस्तारै त्यसलाई देशव्यापी बनाउने योजना रहेको उनले सुनाए ।
‘हामीले चीन, दक्षिण कोरिया, जापानलगायत देशमा प्रांगारिक मल उत्पादन गरिरहेका कम्पनीसँग सहकार्य गरेर नेपालमा पनि यसको सम्भावनाबारे अध्ययन गरिरहेका छौं । प्रारम्भिक अध्ययनले प्रशस्त सम्भावना देखाएको छ,’ उप्रेतीले आर्थिक अभियानसँग भने, ‘यसको उत्पादन लागत रासायनिक मलभन्दा निकै सस्तो पर्ने देखिएको छ ।’ उप्रेतीका अनुसार यसमा सहकार्य गर्न कोरियन कम्पनीहरूले चासो पनि देखाएका छन् । ‘त्यसैले उनीहरूसँगै सहकार्य गरेर काम अघि बढाउँछौं,’ उप्रेतीले थपे ।
रासायनिक मलविना कृषि उत्पादन असम्भव जस्तै छ । यस्तो बेला सरकारले कृषिका लागि छुट्ट्याउने कुल बजेटको आधाभन्दा बढी अंश रासायनिक मल खरीदमै खर्च हुने गरेकाले कृषिका अन्य क्षेत्रमा बजेट नै नजाने स्थिति आउने सक्ने जोखिम छ ।
बजेट जति सबै रासायनिक मलमा खर्च हुने र कृषिका पूर्वाधार विकासका काम पछि पर्ने खतरा बढ्दै गएकाले रासायनिक मलमाथिको परनिर्भता घटाउन प्रांगारिक मल कारखाना नै उत्तम विकल्प हुन सक्ने उप्रेतीको भनाइ छ । त्यसैले खाद्य बैंकले यसको थालनी गर्न पहल गरेको उनले बताए ।
नेपालमा प्रचलनमा रहेका प्रांगारिक मलमध्ये जिवातु मल, एजोला प्लान्टबाट बन्ने वनस्पति मल, गाईबस्तुको मल, गँड्यौला मललगायतलाई विकल्पको रूपमा अध्ययन भइरहेको बताइएको छ । आधुनिक तरीकाले उच्च प्रविधियुक्त कारखानाबाट मल उत्पादन गरी उत्पादन क्षमतासमेत बढाएर दाना वा झोलका रूपमा बजारमा ल्याउने सम्भावनाको खोजी भइरहेको छ ।
राष्ट्रिय खाद्य बैंकका वनस्पतिविज्ञ मोहनप्रसाद पन्थीका अनुसार रासायनिक मलको बढ्दो प्रयोगका कारण माटो बिग्रिएको छ । रासायनिक मल थोरै मात्रामा नभए माटो खुकुलो नै हुँदैन । त्यसैले पहिलो वर्ष ५० प्रतिशत रासायनिक र ५० प्रतिशत प्रांगारिक, दोस्रो वर्षमा ६० प्रतिशत प्रांगारिक र ४० प्रतिशत रासायनिक, तेस्रो वर्षमा ७० प्रतिशत प्रांगारिक र ३० प्रतिशत रासायनिक प्रयोग गर्दै चौथो वा पाँचौं वर्षमा शतप्रतिशत प्रांगारिक मलको प्रयोगमा जान सकिन्छ । एकैपटक प्रांगारिक मल मात्रै प्रयोग गर्दा उत्पादन बढ्नेभन्दा पनि घट्ने जोखिम हुन्छ । त्यसैले प्रयोगमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् ।
नेपालमा अहिले विभिन्न संघसंस्था र कम्पनीले सानो परिमाणमा प्रांगारिक मल उत्पादन गर्ने गरेका छन् । ती मल चामल, धानभन्दा पनि महँगा छन् । तिनको प्रयोगले उत्पादन पनि राम्रो दिन सकेको छैन । त्यसैले त्यसको क्षमता विस्तार जरुरी देखिन्छ । खाद्य बैंकले उत्पादन गर्न खोजेको प्रांगारिक मल फलपूmल, तरकारी र अन्नबालीलगायत फरकफरक बालीका लागि त्यही अनुसारको पोषण क्षमतायुक्त हुनेछ ।