ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं. ६ लेलेपको घुन्सामा रहेको ऐतिहासिक गुम्बा जीर्ण बनेको छ । स्थानीय शेर्पा (भोटे) समुदायको पहिचान बोकेको प्राचीन टासी छ्योलिङ बौद्ध गुम्बा संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो ।
राज्य पुनःसंरचनासँगै हाल तीन तहको सरकारले आफ्नो भूमिका निर्वाह गर्दै आएको भए पनि अहिलेसम्म गुम्बाको जीर्णोद्धार अर्थात संरक्षण गर्नमा कुनै पनि सरकारको नजर पर्न नसकेको स्थानीयले गुनासो गर्ने गरेका छन् । आवश्यक प्रचार–प्रसार नभएकाले पनि गुम्बा जीर्णोद्धार लागि कसैको ध्यान नगएको हुनसक्ने बताइएको छ । गुम्बा धेरै पुरानो भएकै कारण संरचना क्रमशः भत्किँदै गएको घुन्साका स्थानीय बताउँछन् ।