नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका २०७९ जारी गरी नेपाली कम्पनीलाई विदेशमा शाखा खोल्न दिने नीति लिएको छ । व्यवसाय विस्तारका लागि नेपाली कम्पनीले पनि विदेशमा व्यवसाय गर्न पाउनुपर्छ भन्ने आवाज उठेको थियो । यसलाई अहिले प्राधिकरणले बाटो खुलाइदिएको छ जुन सकारात्मक छ ।
तालीम, जनशक्ति, प्रविधिको उपयोग र विश्व वित्त बजारमा आएका नवीनतम अभ्यासलाई अपनाएर विश्वको बीमाको केही अंश लिन सकिन्छ ।
निर्देशिका अनुसार बीमकले प्राधिकरणको पूर्वसहमति लिई विदेशमा आफ्नो शाखा. सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्नेछन् । प्राधिकरणले तोकेको शर्त पूरा गर्न भने आवश्यक छ । यसले नेपाली बीमा कम्पनीलाई मुलुकबाहिरको बजार खोज्न सहजीकरण गरिदिने देखिन्छ । सरकारले विदेशमा कम्पनीको शाखा खोल्न स्वीकृति दिएपछि बीमा कम्पनीहरूले अवसरका रूपमा लिनुपर्छ । किनकि, यसले बीमा कम्पनीलाई व्यवसाय बढाउन सघाउँछ ।
हुन त नेपालभित्रै पनि बीमा कम्पनीका लागि व्यवसाय गर्ने ठाउँ नभएको होइन । अझै पनि ठूलो जनसंख्याले बीमा गराएको पाइँदैन । नयाँ व्यवस्थाले बीमा कम्पनीहरूले विदेशमा शाखा वा सम्पर्क कार्यालय खोली आफ्नो व्यवसाय विस्तार गर्न सक्छन् । बीमा व्यवसाय विस्तार विदेशी मुद्रा आर्जन गर्ने गतिलो माध्यम बन्न सक्छ । अहिले नेपालले विदेशी मुद्रा आर्जन गर्ने भनिएका क्षेत्रबाट धेरै लाभ हुन सकेको छैन । जलस्रोतको अपार सम्भावना भए पनि व्यवसाय भारत र बंगलादेशसँग सीमित हुन सक्छ । कृषिमा भ्यालू एड नगरी लाभ लिन सकिँदैन । पर्यटनले पनि गति समात्न सकेको छैन । यस्तो अवस्थामा फाइनान्सियल सर्भिस लाभका लागि प्रभावकारी हुन सक्छ ।
कतिपय मुलुकले वित्तीय सेवा प्रदान गरेर आर्थिक गतिविधिको केन्द्रका रूपमा आफूलाई उभ्याउन सफलता प्राप्त गरेका छन् । नेपालले पनि आफूलाई वित्तीय सेवा केन्द्र बनाउन पहल गर्नु आवश्यक छ । स्वीट्जरल्यान्ड, सिंगापुर, हङकङ आदि क्षेत्र विश्व वित्तीय केन्द्र बन्न सक्नुको कारण आफूलाई वित्तीय केन्द्रका रूपमा उभ्याउन सक्नु हो । नेपालले बैंक तथा बीमाक्षेत्रले विदेशमा शाखा खोल्न पाउने व्यवस्था गरेर यस्तो केन्द्र बन्नका लागि पहल शुरू गरेको देखिन्छ । तर, यस्तो कार्यक्रमले मात्रै लक्ष्य प्राप्त हुन सक्दैन ।
अहिले नेपालका बीमा कम्पनीहरू धमाधम मर्जरमा जाँदै छन् । यसले गर्दा कम्पनीको आकार मात्र बढ्दैन, बजार पनि बढ्छ । यसले बीमा कम्पनीहरूलाई बलियो बनाउँदै छ । पूँजी बढेपछि व्यवसाय विस्तार गर्नुपर्ने बाध्यता पनि कम्पनीहरूमाथि आइपर्छ । त्यसो हुँदा नेपाली कम्पनीलाई विदेशमा शाखा खोल्न दिनु उपयुक्त हो ।
बैंक तथा वित्तीय क्षेत्रमा नेपालका कम्पनीहरूले राम्रो प्रदर्शन गरेका छन् । त्यसो हँदा बीमाक्षेत्र पनि सबल बन्दै विदेशमा लगानी गर्न सक्ने हुन सक्छन् ।
जीवन, निर्जीवन र पुनर्बीमा गरी नेपालमा दर्जनभन्दा बढी बीमा कम्पनी छन् । कतिपय मुलुकमा नेपालीको उपस्थिति निकै बाक्लो भएकाले त्यहाँ नेपाली कम्पनीले बीमा व्यवसाय विस्तार गर्न सक्छन् । नेपालमा बीमा कम्पनीहरूले राम्रो सेवा दिन नसकेको गुनासो पाइन्छ । विदेशमा यस्तो गुनासो आउनु हुँदैन भन्नेमा कम्पनीहरूको ध्यान जानुपर्छ ।
विश्व वित्तीय बजारमा आफूलाई चिनाउने हो भने यहाँ काम गर्ने सहज वातावरण बनाइनुपर्छ । आफूलाई अब्बल बनाउन सके भने त्यस्ता कम्पनीको बाह्य यात्रा पनि सफल हुन्छ । त्यसैले तिनलाई सबल बनाउन आवश्यक सहयोग पनि गरिनुपर्छ । तालीम, जनशक्ति, प्रविधिको उपयोग र विश्व वित्त बजारमा आएका नवीनतम अभ्यासलाई अपनाएर विश्वको बीमाको केही अंश लिन सकिन्छ । त्यसैले यसका लागि अब बीमा कम्पनीहरूले गम्भीर भएर लाग्ने बेला आएको छ । बीमा कम्पनीहरूको मागअनुसार नै नियामक निकायले विदेशमा शाखा खोल्ने व्यवस्था गरेपछि बीमा कम्पनीहरूले यस्तो अवसर खेर जान दिनु हुँदैन ।