प्रिमियम मूल्यमा घोराही सिमेन्टको आईपीओ १९ वैशाखदेखि

११ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति पाएको घोराही सिमेन्टले १९ वैशाखदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सोमबार आह्वानपत्र प्रकाशित गर्दै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १९ वैशाखदेखि आवेदन दिन सकिने जनाएको छ । कम्पनीले जारी पुँजी ३ […]

सम्बन्धित सामग्री

पहिलो कारोबारकै दिन घोराही सिमेन्टको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । आइतवार धितोपत्र दोस्रो बजारमा तीन नयाँ कम्पनीको शेयर कारोबार शुुरू भएको छ । घोराही सिमेन्ट, अपर स्याङ्गे हाईड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको शेयर कारोबार आइतवारदेखि शुुरू भएको हो ।  पहिलो कारोबार दिन अपर स्याङ्गे हाईड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य सर्किट लेभलमा बढ्दा घोराही सिमेन्टको शेयर मूल्य भने सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले घटेको छ । यस दिन घोराही सिमेन्टको शेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँ ५० पैसाले घटेर अन्तिम मूल्य ५०९ रुपैयाँ कायम भएको हो । प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा खुलेको घोराही सिमेन्टको शेयर मूल्य न्यूनतम ५०९ रुपैयाँदेखि अधिकतम ५८१ रुपैयाँ ४० पैसासम्म पुगेको थियो । पहिलो कारोबार दिन घोराही सिमेन्टको ४ लाख ४६ हजार ६८७ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यी तीन कम्पनीहरूले साउन २५ गते बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईपीओ सूचीकृत गराएका थिए । घोराही सिमेन्टले प्रिमियम मूल्यसहित सर्वसाधारणमा प्रतिकित्ता ४३५ रुपैयाँ र आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ विक्री गरेको थियो । अपर स्याङ्गे हाईड्रोपावर र थ्रीस्टार हाइड्रोपावरले भने प्रतिकित्ता १०० रुपैयाँमै आईपीओ विक्री गरेका थिए । पहिलो कारोबार दिन थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ ५० पैसा बढेर अन्तिम मूल्य २८० रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै अपर स्याङ्गे हाईड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ ३० पैसाले बढेर अन्तिम मूल्य २७८ रुपैयाँ ९० पैसा कायम भएको छ ।  पहिलो कारोबार दिन अपर स्याङ्गे हाईड्रोपावरको प्रतिकित्ता २५३ रुपैयाँ ६० पैसामा र थ्रीस्टार हाइड्रोपावरको प्रतिकित्ता २५५ रुपैयाँमा शेयर कारोबार खुला भएको हो । पहिलो कारोबार दिन थ्रीस्टार हाइड्रोपावरको ३ हजार ९५१ कित्ता र अपर स्याङ्गे हाईड्रोपावरको ४ हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आईपीओको पहिलो कारोबार दिनमा एकै दिन सूचीकृत अरू कम्पनीको शेयर मूल्यमा सकारात्मक प्रभाव पर्दा घोराहीको शेयर मूल्यमा भने नकारात्मक प्रभाव देखिएको छ । कम्पनीको आईपीओ निष्कासन हुनुअघिदेखि प्रिमियम मूल्य उच्च रहेको भन्दै विवादित बनेको थियो । विवादबीच कम्पनीको आईपीओ बढीमा ८० कित्तासम्म बाँडफाँट गरिएको थियो । जबकी पछिल्लो समय सर्वसाधारणमा जारी भएको आईपीओ १० कित्ता प्राप्त गर्न पनि भाग्य भरोसामा रहनुपर्ने अवस्था छ । नेप्सेले घोराही सिमेन्टको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसासम्मको मूल्य रेञ्ज तोेकेको थियो । सोही मूल्यको आधारमा आइतवार कम्पनीको शेयर कारोबार प्रि–ओपनिङ सेसनमा प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा भएको थियो ।  नियमित सेसनमा कम्पनीको शेयर कारोबार प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसादेखि खुला भई न्यूनतम ५०९ रुपैयाँदेखि अधिकतम ५८१ रुपैयाँ ४० पैसासम्म पुगेको थियो । पहिलो कारोबार दिन कम्पनीको शेयरमा विक्री चाप बढी हुँदा मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन नेप्से परिसूचक भने १४ दशमलव ८१ अंकले बढेको छ । बजार बढेको दिन घोराहीको शेयर कारोबार शुुरू हुँदाको अवस्थामा पनि शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

घोराही सिमेन्टको शेयर रजिष्ट्रारको जिम्मेवारी हिमालयन क्यापिटललाई

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पूरा गरेको क्यापिटलले कम्पनीको शेयर व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारीसमेत पाएको छ । सञ्चालक समितिको निर्णयबमोजिम शेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि क्यापिटललाई जिम्मेवारी दिइएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।  कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी असार ३१ गते बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी छ । शेयर रजिष्ट्रारको समन्वयमा दोस्रो बजारमा शेयर सूचीकृत गराउने कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रिमियम मूल्यसहित सर्वसाधारणमा प्रतिकित्ता ४३५ रुपैयाँ र उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ विक्री गरेको हो । सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बाँडफाँट गरेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानीकोषमा ३ लाख २८ हजार ९६१ कित्ता, कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूमा ७७ हजार २९० कित्ता आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीमा संस्थापकतर्फ भने ३ अर्ब १७ करोड ७५ लाख २० हजार ५०० रकम चुक्ता भएको छ । संस्थापक तर्फको समेत कुल ३ अर्ब ९७ करोड १९ लाख ६०० बराबरको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत हुनेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

घोराही सिमेन्टको आईपीओ सबै आवेदकको भागमा पर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ सबै आवेदकहरूले पाउने भएका छन् । कम्पनीको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म ६ लाख ७३ हजार ८३९ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट २ करोड ५४ लाख २० हजार ३२० कित्ता आईपीओ खरीद माग भएको हो । कित्ताको हिसाबमा मागभन्दा करीब ३ गुणा बढी आवेदन परेको हो । कम्पनीको आईपीओ आवेदक संख्याको हिसाबमा बाँडफाँट हुनेछ । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्यसहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री गरेको हो । पछिल्लो बाँडफाँट व्यवस्था अनुसार कम्पनीको आईपीओ ६ लाख ९१ हजार १६७ जनाले १० कित्ताका दरले पाउने थिए । तर, कम्पनीको आईपीओ खरीदका लागि योभन्दा कम संख्यामा आवेदकहरू रहेका छन् । सबै आवेदक योग्य भएमा सबै आवेदकहरूले १० कित्ता शेयर पाउनेछन् भने केही आवेदकहरूले २० कित्तासम्म शेयर हात पार्नेछन् ।  सर्वसाधारणमा आईपीओ निष्कासनका क्रममा परेको आवेदनको संख्यालाई हेर्दा घोराहीको आईपीओ खरीदका लागि कम आवेदकहरूले मात्र आवेदन दिएका छन् । सर्वसाधारणमै जारी भएको आईएमई लाइफको आईपीओ खरीदका लागि भने १२ लाख ९० हजार ७४१ जनाबाट आवेदन परेको छ । सिडिएससीका अनुसार अन्तिम दिनसम्म आईएमई लाइफको यी आवेदकहरूबाट १ करोड ५७ लाख ८७ हजार १५० कित्ता आईपीओ खरीद माग भएको हो, जुन मागभन्दा १ दशमलव ६४ गुणा बढी आवेदन हुन आउँछ । आईएमई लाइफले पनि प्रिमियम मूल्यमै सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । यस कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले असार २० गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । घोराही सिमेन्टको आईपीओ भने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउदादेखि नै विवादित बनेको थियो । सर्वसाधारण  लगानीकर्ताहरूले शुरुआती दिनदेखि नै घोराही सिमेन्टको आईपीओको प्रिमियम मूल्य बढी भएको भन्दै आईपीओ नभर्न आग्रह गर्दै आएका थिए । जेठ ३१ गतेदेखि विक्रीमा आएको घोराहीको आईपीओ खरीदमा नक्कली आवेदन दिएको प्रमाण भेटिएपछि असार ४ गतेदेखि स्थगित भएको थियो । बोर्डले आवश्यक छानबिन गर्न भन्दै घोराहीको आईपीओ असार ४ गतेदेखि नै रोक्का राखेको थियो । आर्थिक वर्षको अन्त्यको समय रहेकाले लगानीकर्ताको पैसा लामो समय रोक्का नराख्ने उद्देश्यसहित बोर्डले छानबिन जारी राख्दै निष्कासन प्रक्रिया खुला गर्ने निर्णय असार २० गते गरेको थियो । बोर्डको निर्णयपछि असार २१ गतेदेखि २५ गतेसम्म कम्पनीले सर्वसाधारणमा पुनः आईपीओ विक्री गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।

घोराही सिमेन्टको आईपीओ विवाद

शेयर बजार विस्तार भएसँगै यसमा अनेक किसिमका विकृति र हल्ला फैलने गर्दछ । कतिपय हल्ला निराधार हुन्छन् भने कतिपयचाहिँ अनुसन्धानबाट सही प्रमाणित पनि हुन्छन् । घोराही सिमेन्ट इन्डस्ट्रीले प्रिमियम मूल्यमा विक्री गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको र त्यसमा बैंकमा रकम नभएका व्यक्तिले ठूलो संख्यामा आईपीओ भरेको भनेर विवाद आएको छ । नक्कली आवेदनकर्ताले आवेदन हालेको भनी आवाज उठेपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोकी अध्ययन थालेको छ । यस घटनाले विभिन्न प्रश्नहरू जन्माएको छ ।  पहिलो त कम्पनीले बढी माग भएको अवस्थामा आईपीओ विक्री बन्द गर्नुपर्नेमा उल्टै समय थप गर्‍यो । यसरी समय थप गरेकाले कम्पनीको नियतमाथि प्रश्न उठेको हो । किन म्याद थप्न पर्‍यो भन्नेमा उसले चित्तबुझ्दो जवाफ दिनसक्नुपर्छ । यद्यपि कम्पनीले विवाद सृजना भएदेखि नै आफ्नो दोष नभएको अडान लिइरहेको छ । कम्पनी मात्र नभई यस विवादमा सम्बद्ध सबै पक्षले आआफ्नो भनाइ राखेका छन् ।  नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ । प्रिमियम मूल्य नै महँगो भएको भनी शुरूमै यो आईपीओबारे विवाद उठेको हो । आईपीओ निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नु अनिवार्य हुन्छ । घोराही सिमेन्टको क्रेडिट रेटिङ केयर रेटिङले गरेको हो । उक्त क्रेडिट रेटिङको कम्पनीसँग सम्बन्ध रहेको बताइन्छ । यद्यपि क्रेडिट रेटिङ कम्पनीले मनलाग्दी रेटिङ भने गर्ने होइन । रेटिङ गर्ने कम्पनीमा विदेशी कम्पनीको पनि संलग्नता हुने भएकाले नेपालमा हुने त्रुटिले उसको अन्तरराष्ट्रिय छविमा प्रभाव पर्छ । क्रेडिट रेटिङ कम्पनीले रेटिङ गर्न विभिन्न आधार लिएको हुन्छ । त्यसमा उसले यसमा हुन सक्ने सम्भावित पक्षबारे पनि उल्लेख गरेको हुन्छ र लगानीकर्तालाई त्यसबारे पनि सूचना दिइएको हुन्छ । उसले दिएको रेटिङकै आधारमा लगानी गर्नयोग्य हुने भए अमेरिकामा उच्च रेटिङ पाएका बैंकहरू किन डुब्थे ? त्यसैले लगानीकर्ताले आफै विश्लेषण गरेर लगानी गर्ने बानी गर्नुपर्छ । त्यसमा यो सहयोगी मात्रै हुन्छ । नेपालको शेयरबजारमा यसबारे अझै जानकारीको कमी रहेको देखिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको बैंकमा पैसा राख्नुसरह होइन भन्ने कुरा बुझ्न आवश्यक छ । आईपीओ निष्कासनको अनुमति दिने नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासनमा सबै प्रक्रिया पूरा गरेको दाबी गरेको छ । पक्कै पनि बोर्डले आईपीओका लागि स्वीकृति दिँदा आवश्यक सबै दस्तावेजको अध्ययन गरेको हुनुपर्छ । प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि स्वीकृति दिनुपर्ने बाध्यता उसको छ । घोराही सिमेन्टमा पनि यस्तै भएको छ भन्न सकिन्छ । यद्यपि बोर्डले यसरी प्राप्त कागजातको प्रामाणिकता र विश्वसनीयतामा अध्ययन नगरेको भने हुन सक्छ । बोर्डमा क्रेडिट रेटिङसम्बन्धी विज्ञ जनशक्ति नभए पनि कम्पनीले बुझाएको रिपोर्टलाई स्वीकार्नुको विकल्प देखिँदैन । बोर्डले अनुमति दिएको भन्दैमा सबै आईपीओ सुरक्षित लगानी हुन् भन्ने सोच गलत हो । कम्पनीले पूरा गरेको प्रक्रिया सही छ वा गलत भन्ने कुराको यकीन गर्न आवश्यक छ भने बोर्डलाई त्यस्तो अधिकारको व्यवस्था गर्न सकिन्छ ।  नेपाली शेयरबजारमा हल्ला अलि बढी हुने गरेको चर्चा पहिलेदेखिकै हो । त्यही हल्लाकै आधारमा कतिपयले कमाइरहेका पनि हुन्छन् । यो घटनाबाट लगानीकर्ताले पाठ सिक्नुपर्ने हुन्छ । त्यो पाठ हो : विनाविश्लेषण र अध्ययन आईपीओमा नै पनि लगानी गर्नु हुँदैन ।  इक्विटीको मूल्य कति सही हो भन्न सकिँदैन । सार्वजनिक हुनुअघि नै आर्थिक पक्ष कमजोर छ भनिएको नेपाल रिपब्लिक मिडियाको सबै आइपीओ विक्री नहुनुपर्ने हो तर आवश्यकभन्दा बढी माग भयो । यसको अर्थ लगानीकर्ताले त्यसलाई आफ्नै हिसाबले व्याख्या गरे । लाभ हुने ठानेर आकर्षित भए । त्यसैले शेयरबजारमा कसले कति मूल्य निर्धारण गर्‍यो वा कुन कम्पनी कस्तो भन्नु भन्दा पनि लगानीकर्ताले त्यसलाई कसरी लिन्छन् भन्ने नै महत्वपूर्ण कुरा हो ।

घोराही सिमेन्टका नक्कली आवेदकको छानबिन गर्दै सेबोन

काठमाडौं  । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ खरीदका लागि १२ जनाले अधिकतम १० लाख कित्ताका लागि आवेदन दिएको तथ्य पत्ता लागेको छ । खातामा पैसा नै नभएको अवस्थामा अधिकतम १० लाख कित्ताका दरले १२ जनाको आवेदन परेको तथ्य पत्ता लागेको हो ।  आवेदकको सम्पूर्ण जानकारी सजिलै प्राप्त हुने आस्बादेखि सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्थाकै कारण घोराही सिमेन्टका नक्कली आवेदकको विवरण सहजै पत्ता लागेको नेपाल धितोपत्र बोर्ड (सेबोन)स्थित उच्च स्रोतले जानकारी दिएको छ ।  बोर्डले घोराही सिमेन्टको आईपीओ सम्बन्धमा छानबिन गर्न बोर्डका सुपरभिजन प्रमुख दीपेश ताम्राकारको संयोजकत्वमा समिति समेत गठन गरेको छ । बुधवार गठित समितिले कम्पनीको आईपीओका लागि गराइएको रेटिङसँगै अन्डरराइटरमाथि समेत छानबिन गर्ने बुझिएको छ ।  स्रोतका अनुसार नक्कली आवेदक प्रेमप्रसाद आचार्य, उज्ज्वल आचार्य, सावित्रा पराजुली, लक्ष्मी घिमिरे, मुना खत्री, मनोज पाठक, सृजा पोखरेल, मिथिलेशकुमार मेहता, अनिल राणा, नवीन खत्री, सुमित्रा बम र रन्जना ढकाल हुन् । यीबाहेक १ लाखभन्दा बढी कित्ता माग गर्दै एक दर्जनभन्दा बढीको आवेदन परेको जानकारीसमेत बोर्डले दिएको छ । बोर्डले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सहयोगमा नक्कली आवेदक पहिचान गरिरहेको छ । बोर्डका अनुसार कम्पनीको आईपीओ खरीदका लागि हालसम्म परेको आवेदनमा ५८ प्रतिशतभन्दा बढी नक्कली छन् । कुल आवेदनमा करीब ६ अर्ब रुपैयाँको आवेदन नक्कली भएको बोर्डको दाबी छ । कम्पनीको आईपीओमा ९ अर्ब ८३ करोड ८५ लाख रुपैयाँभन्दा बढीका लागि आवेदन परेको छ । ५ लाख ६२ हजार ४३ जना आवेदकले २ करोड २६ लाख १७ हजार ३७० कित्ता शेयर खरीदका लागि आवेदन दिएका छन् । बोर्डले यी आवेदकले खातामा पैसा नै नभएको अवस्थामा किन अधिकतम कित्ताका लागि आवेदन दिए भन्ने विषयमा विशेष रूपमा छानबिन गर्ने बताएको छ । आम लगानीकर्तामा भ्रम फैलाउने क्रियाकलापमा सहभागी सम्पूर्णलाई कारबाहीको दायरामा ल्याउने बोर्डको भनाइ छ । १० कित्ता आईपीओ पाउन समेत भाग्य भरोसा रहने अवस्थामा खातामा पैसा नै नभएका व्यक्तिले १० लाख कित्ताका लागि आवेदन दिनुलाई बोर्डले शंकाको दृष्टिले हेरेको छ । घोराहीको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । १० कित्ता शेयर नपाउने अवस्थामा १० लाख कित्ताको लागि आवेदन दिनु उचित नभएको आधारमा टेकेर अनुसन्धान बलियो बनाएको बोर्डको भनाइ छ ।  घोराही सिमेन्टले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियम सहित प्रतिकित्ता ४०० र सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता ४३५ मा आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । कम्पनीको आईपीओ मूल्यका सम्बन्धमा शुरुवाती समयदेखि नै चर्को आलोचना हुँदै आएको छ । चर्को आलोचनाबीच कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्‍यो । पहिलो चरणमा १३ प्रतिशत मात्र विक्री भएको कम्पनीको आईपीओ दोस्रो चरणमा सर्वसाधारणबाट पनि मागबमोजिम आवेदन पर्नेमा कम्पनी ढुक्क हुन नसकेको अवस्था थियो । कम्पनीको प्रिमियमसहितको आईपीओको सम्बन्धमा शुरूदेखि नै आम लगानीकर्ताले विवाद गर्दै आएका थिए । कतिपय लगानीकर्ताले यो आईपीओ वहिष्कार गर्न सुझाएका थिए ।  घोराही सिमेन्टको आईपीओ सर्वसाधारणका लागि जेठ ३२ गतेदेखि विक्री खुला भएको थियो । मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले आवेदन दिने अवधि थप गरेपछि नियामक निकायले विशेष निगरानी बढाएको थियो । असार ४ गतेको छिटो अवधिभित्र मागभन्दा बढी आवेदन परिसक्दा पनि कम्पनीले असार १४ गतेसम्म अवधि थप गरेको हो । सीडीएससीले कम्पनीको आईपीओमा नक्कली आवेदक रहेको आशंका गर्दै बोर्डलाई जानकारी दिएपछि बोर्डले असार ४ गते नै आईपीओ निष्कासन बन्द गर्ने निर्णय गरेको छ । अनुसन्धान जारी रहेकाले यो आईपीओ निष्कासनले निरन्तरता पाउने/नपाउने विषय हाललाई अन्योलमै रहेको बोर्डले जानकारी दिएको छ । आम लगानीकर्ताको लगानी नफस्ने गरी बोर्डले निर्णय गर्ने स्रोतले बताएको छ । कम्पनीले पहिलो चरणमा विक्री हुन नसकेको शेयरसमेत जोडेर कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वसाधारण्मा विक्री खुला गरेको हो । बोर्डले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न कम्पनीलाई अनुमति दिएको होे । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर यसअघि नै बाँडफाँट गरिसकेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीका लागि ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघिको कुल शेयरमा १३ प्रतिशत मात्र बाँडफाँट भएको छ ।

शेयरबजारका भित्री कुरा

शेयरबजार जति नै प्रविधिमैत्री भए पनि यसमा अनेक घोटाला र काण्डहरू भइरहने गर्छ । भारत, बंगलादेशमात्रै होइन, अमेरिकालगायत विकसित देशमा समेत शेयरबजारमा थुप्रै काण्ड भएका उदाहरण छन् । ती देशका नियामक निकायले यस्ता काण्डको सूक्ष्म अध्ययन गरेर तिनलाई पुनरावृत्ति हुन नदिने व्यवस्था गरेका हुन्छन् । नेपालमा भने यस्तो घटना गुपचुपमै हराएर जान्छन् वा दबाइन्छ । नेपालको शेयरबजारमा अदृश्य कारोबारको गति निकै छ जसमध्ये केही घटनामात्रै सार्वजनिक हुने गरेका छन् । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ विक्रीमा यस्तै घोटालाको आशंका छ जसले गर्दा नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया नै रद्द गरिदिएको छ । यसरी आईपीओ रोकिएको पहिलो घटना हो । तर, कम्पनीहरूले आईपीओ जारी गर्दा सार्वजनिक गर्ने सूचनालाई लिएर अनेक आशंका हुने गरेको कुरा भने नयाँ होइन । कतिसम्म भने आईपीओ जारी गर्ने कम्पनीले अनुमान गरेअनुसार आम्दानी गर्न सक्यो वा सकेन भन्ने सामान्य सोधीखोजीसमेत नेपालमा हुँदैन । आईपीओ जारी गरेपछि कम्पनीले किन नाफा गरेन ? समस्या के थियो ? भन्ने जस्ता सामान्य कुरामा चासो राख्ने हो भने मात्र घाटामा गएका कम्पनीलाई नाफामा देखाई लगानीकर्ता डुबाउने खेल रोकिन सक्छ । शेयरबजारलाई परिपक्व र सुदृढ बनाउन बोर्डको आ“खा सदैव चनाखो भइरहनुपर्छ । बोर्डले नयाँ अनुमतिपत्र प्रदान गर्दा नैसम्भावित समस्याको अध्ययन गर्नुपर्छ ।कुनै पनि निर्णय गरेपछि आउने चुनौतीको सामना गर्न त्यसले सहयोग गर्छ । अहिले पैसा नै नभएको खाताबाट आईपीओ भरेर बढी माग भएको देखाउन खोजिएको छ । मूल्यमा चलखेल गर्न १० कित्ता शेयर बढी मूल्यमा आफैले किन्ने र त्यसकै हाराहारीमा आफ्नो शेयर विक्री गर्ने गरी विक्री र खरीद अर्डर राख्ने गरेको पनि पाइन्छ । मूल्यान्वेषण विधिबाट प्रिमियम मूल्य तोकेर शेयर विक्री गर्न लाग्दा यस्तो मूल्यमै चलखेल गरिएको घटना भएको पनि धेरै भएको छैन । कर्नरिङ गरेर विक्री गर्ने तथा आन्तरिक सूचना चुहाएर शेयर किनबेच गर्ने काम भइरहेको छ । यस्तो काममा संलग्न केहीलाई बोर्डले कारबाही प्रक्रियासमेत चलाएको छ । पछिल्लो समयमा धितोपत्र बोर्डले शुरू गरेको नयाँ ब्रोकर र नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणको कामलाई सकारात्मक रूपमा लिन सकिन्छ । त्यस्तै घोराही सिमेन्टको फर्जी लगानीमाथि पनि अनुसन्धान थालिनु सकारात्मक हो, जसले सर्वसाधारणलाई सम्भावित नोक्सानीबाट जोगाएको छ । आईपीओ निष्कासनमा कम्पनीले सार्वजनिक गर्ने आह्वानपत्रदेखि क्रेडिट रेटिङसम्ममा नै मिलोमतो हुन सक्छ । बोर्डको काम सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्नु हो र बजारलाई नियम र प्रक्रियाका आधारमा सञ्चालन गराउने वातावरण तयार पार्नु हो । बोर्डले तदारुकता देखाउनु सकारात्मक भए पनि यसमा अझै सूक्ष्म दृष्टि पुग्न आवश्यक देखिन्छ । जसरी नेपाल राष्ट्र बैंकले प्रत्येक बैंकका कारोबारलाई दैनिक रूपमा नजिकबाट अनुगमन गरिरहेको छ त्यसैगरी बोर्डले पनि नेप्से र ब्रोकर सबैका कामको अनुगमन गरिरहनुपर्छ । यसमा शंका लाग्नेबित्तिकै अनुसन्धान थालिहाल्नुपर्छ र गल्ती भए कारबाही गरिहाल्नुपर्छ । बंगलादेशको शेयरबजारमा भएका ठूलाठूला काण्डमा त्यहाँको बोर्डले अनुसन्धान गरेर कैयौंलाई कारबाही गरेको छ । यस्ता काण्डहरू भइरहे शेयरबजारप्रति अविश्वास पैदा हुन सक्छ र लगानीकर्ता बजार छाड्न सक्छन् । त्यसैले शेयरबजारलाई परिपक्व र सुदृढ बनाउन बोर्डको आँखा सदैव चनाखो भइरहनुपर्छ । बोर्डले नयाँ अनुमतिपत्र प्रदान गर्दा नै सम्भावित समस्याको अध्ययन गर्नुपर्छ । कुनै पनि निर्णय गरेपछि आउने चुनौतीको सामना गर्न त्यसले सहयोग गर्छ । गलत गर्नेलाई कारबाही त गर्नुपर्छ नै साथै यस्तो गलत कार्यमा जोडिनेहरूको पहिचान गर्नु पनि अहिलेको आवश्यकता हो । यस्ता काम हुन सके मात्र नेपाली शेयरबजार परिपक्व भई लगानीकर्ता डुब्ने अवस्था आउँदैन ।

घोराही सिमेन्टको आईपीओ : घटेको बजारमा प्रिमियम

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यतिबेला आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरिरहेको छ ।  कम्पनीले आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियमबापत रू. ३०० थप गरी प्रतिकित्ता रू. ४०० मा आईपीओ जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० मा प्रिमियमबापत रू. ३३५ थप गरी प्रतिकित्ता रू. ४३५ मा आईपीओ जारी गरेको हो । प्राथमिक बजारमा लामो समयपछि प्रिमियममा आईपीओ जारी भएको हो । कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपालीले दिएको आवेदनको तथ्यांक हेर्दा कम आकर्षण रहेको बुझ्न सकिन्छ । आयोजना प्रभावित स्थानीयबाट प्राप्त भएको आवेदन पनि निकै कम रहेको विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले जानकारी दिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC)ले आफ्नो वेबसाइटमार्फत अन्य कम्पनीहरूको आईपीओ निष्कासन हुँदा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले दिएको आवेदनको विवरण सार्वजनिक गर्ने गर्दथ्यो । यस कम्पनीको आईपीओमा परेको आवेदनको तथ्यांक भने वैदेशिक रोजगारीमा रहेका नेपालीबाट प्राप्त आवेदनको मात्र रहेको छ । आयोजना प्रभावित स्थानीयले प्रिमियममा कम्पनीको आईपीओ खरीद गर्न नसक्ने बताउँदै आएका छन् । धितोपत्र दोस्रो बजारसमेत घटिरहेको अवस्थामा तोकिएको मूल्य तिरेर आईपीओ खरीद गर्न नसक्ने भनाइ स्थानीयहरूको छ ।  सर्वसाधारणतर्फको शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर यसअघिका कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन पर्ने गरेको थियो । यस कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ २ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । सिडिएससीले दिएको तथ्यांकअनुसार कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपालीबाट करीब ४ लाख कित्ता खरीद माग भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता आईपीओ विक्री खुला गरेको हो । हालसम्म कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीबाट करीब ५३ प्रतिशत मात्र आवेदन प्राप्त भएको सीडीएससीको तथ्यांकले देखाउँछ ।

घोराही सिमेन्टको प्रिमियम आईपीओ जोखिमपूर्ण, विवरणपत्र नै भ्रामक

नेपाल धितोपत्र बोर्डले नै कुनै समय बढी मूल्य आम्दानी अनुपात भएका कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशन गरेर लगानीकर्तालाई सचेत बनाएको थियो । उही धितोपत्र बोर्डले पीई रेसियो ८७० गुणा हुनेगरी घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गर्नु आफैंमा विरोधाभाषपूर्ण छ ।

प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले पायो अनुमति

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई गरी कुल ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो ।  कुल कित्ता आईपीओमध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६११ कित्ता शेयर सर्वसाधारणमा वितरण हुनेछ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई फरकफरक मूल्यमा आईपीओ विक्री गर्न अनुमति पाएको हो । बोर्डले आयोजना प्रभावित स्थानीयमा प्रतिकित्ता रू. ४०० र सर्वसाधारणलाई प्रतिकित्ता रू. ४३५ मा आईपीओ विक्री गर्न कम्पनीलाई अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट विक्री प्रबन्धक रहेका छन् । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै गत साउन ९ गते बोर्डमा आवेदन दर्ता गराएको थियो । आवेदन दिएको नौ महीनामा कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । विसं. २०६४ सालमा दर्ता भई विसं. २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरी व्यावसायिक उत्पादन शुरू गरेको घोराही सिमेन्ट इन्डस्ट्रीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।