माघ १७, काठमाडौं । विगत ४/५ महीनादेखि मन्दीमा चलिरहेको घरजग्गा व्यवसाय तत्काल लयमा फर्किने संकेत देखिएको छैन ।
विगतका यस्ता मन्दीमा काम गरिसकेका अधिकांश घरजग्गा व्यवसायीहरु २ वर्ष अघि किनेकै मूल्यमा जग्गा बेचेर बजारबाट सुरक्षित भइसकेका छन् ।तर आर्थिक मन्दीको ज्ञान नभएका सर्वसाधारणहरुको घरजग्गा क्षेत्रमा गरिएको लगानी भने जोखिममा परेको छ ।
पछिल्लो समय हरेक महीना घरजग्गा किनबेचको संख्या ओरालो लागेको छ । मंसिर र पुस महीनामा समान ७० हजार हाराहारी घरजग्गा किनबेच भएकोमा माघको आधा महीना बितिसक्दा सम्म जम्मा २९ हजार घरजग्गा मात्रै किनबेच भएका छन् ।
व्यवसायीका अनुसार यो संख्याको किनबेचमा पनि अधिकांस त केही पैसा दिएर ३/४ महीनापछि मात्रै पुरा पैसा चुक्ता गर्ने कागज गर्दै किनबेच भइरहेका छन् । बैंकबाट ऋण लिएर घरजग्गा किन्ने योजना बनाइरहेका धेरैले किनबेच गर्ने भाखा पर सार्दै आएका छन् । कसैले भने विक्रेताको आर्थिक चाप कम गर्ने गरि केहि रकम दिएर सस्तो मूल्यमै जग्गा उठाइरहेका छन् ।
अहिले घरजग्गा विक्री गर्ने जग्गा धनीहरुले मूल्य घटाएर बेच्न खोजेपनि किन्ने मान्छे भेटाउन सकेका छैनन् । कसैले भने एक वर्षदेखि जग्गा विक्री गर्न खोजेको र अहिले आएर मूल्य घटाएर दिएपछि मात्रै जग्गा विक्री भएको बताएका छन् ।
बुटवलकी गिता गिरीले आर्थिक समस्या परेरै जग्गा बेच्न खोजेपनि कसैले नकिनेको गुनासो गरेकी छिन् । बाटो, बिजुली र खानेपानी लगायतका सबै सुविधा भएको जग्गा बेच्न खोज्दा पनि लिने मान्छे नपाएको उनको भनाइ छ ।
केहि दिनअघि बागलुङका एक जना शिक्षकले भैरहवाको जग्गा चलन चल्तीभन्दा निकै सस्तो दिंदा पनि विक्री नभएको बताएका थिए । अहिले घरजग्गा विक्री गर्ने अनलाइन पोर्टलहरुमा पनि हजारौ घरजग्गा विक्रीका लागि मात्रै आउने गरेका छन् । एउटा सामान्य दलाल कम्पनीको हातमा पनि यतिबेला १ हजार भन्दा बढी घरजग्गाहरू विक्रीका लागि उपलब्ध रहेको पाइएको छ ।
तर उपत्यका बाहिर विक्रीमा राखिएका लाखौ घरजग्गाको तथ्याङ्क भने यी अनलाइन साइटहरुमा पाउन सकिन्न । त्यसकारण यतिबेला जग्गा किन्नेहरु सीमित र विक्रीका लागि राखिएका घरजग्गाहरु असीमित भइसकेको घरजग्गा व्यवसायीहरुले नै बताउने गरेका छन् ।
स्थानीय तहको निर्वाचन आगामी जेठमा गर्ने तयारी गरेपछि यसले घरजग्गा क्षेत्रमा थप विक्री चाप बढाउने यस क्षेत्रका जानकारहरुले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा टिकट पाउनको लागि पनि पैसा खर्च गर्नुपर्छ । टिकट पाइसकेपछि निर्वाचनको प्रचारप्रसारमा पनि पैसा खर्च गर्नुपर्छ । विगतको इतिहास हेर्ने हो भने स्थानीय तहमा उमेद्वार हुने अधिकांसले घरजग्गा धितो राख्दै बैंक ऋण लिएर चुनाव लडेको पाइन्छ । यतिबेला बैंकले समेत पैसा दिन सक्ने अवस्था नरहेकोले उनीहरुले जग्गै बेचेर टिकट लिने र चुनाव लड्ने तयारी गर्न सक्छन् । यसले घरजग्गाको विक्री चाप थप बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।
निर्वाचन भएपछि भने होटल रेष्टुरेन्टको व्यापार बढ्ने, बैंकिङ क्षेत्रमा तरलता केही सहज हुने र यसले घरजग्गा क्षेत्रमा पनि धेरै/थोरै सकारात्मक प्रभाव पार्न सक्ने घरजग्गा व्यवसायी दिनेशलाल चुकेले बताए ।
'चुनाव हुने कुराले तत्काल त यो क्षेत्रमा फरक पार्दैन', उनले भने, 'चुनाव भएपछि केही सकारात्मक प्रभाव पर्न सक्छ । त्यति धेरै आशावादी भने हुन सकिन्न ।'
अहिले सस्तो मूल्यका घरजग्गाको सामान्य खरीदविक्री भइरहेको छ । १५ देखि २५ लाख रुपैयाँ सम्ममा पाइने घडेरीको विक्री छिटफुट भइरहेको छ । तर ठूलो ठूलो रकमको कारोबार भने विगत लामो समयदेखि नै हुन नसकेको उनको भनाइ छ ।
कोरोना महामारीबाट पाठ सिकेका घरजग्गा व्यवसायीहरु सुरक्षित भइसकेको उनको दावी छ ।
'ज-जसले बैंकबाट ऋण लिएर काम गरिरहनु भएको थियो, उहाँहरुले २ वर्ष अघिकै मूल्यमा जग्गा बेचेर ऋण चुक्ता गरिसक्नु भएको छ', चुकेले भने, 'बैंकको भर पर्नु नपर्ने र आफैसँग लगानी गर्ने पैसा भएका साथीहरुले भने सस्तो सस्तो मूल्यमा पाएका घरजग्गा खरीद पनि गरिरहेका छन् ।'
बैंकबाट ऋण लिएर जग्गा किन्ने र त्यहि जग्गा बेचेर नाफा खान्छु भन्ने समय भने अहिले नभएको उनको भनाइ छ । महामारी जति पनि लम्बिन सक्छ । मन्दी पनि तत्काल सकिने संकेत छैन। यस्तोमा ऋणमा बसेर जग्गा राखी राख्दा थप जोखिम हुन्छ । यो सब बुझेरै ऋणमा भएका व्यवसायीले २ वर्ष अघि किनेकै मूल्यमा जग्गा बेचेर बजारबाट बाहिरिएको उनले बताए ।
यो पनि पढ्नुस :
व्यवसायी मात्र होइन सर्वसाधारणको जग्गासमेत विक्री हुन छोड्यो, २ वर्ष अघिकै मूल्यमा दिंदा पनि लिने मान्छे छैनन्
भक्तपुरका ९२ ठाउँमा अनधिकृत प्लटिङ, अनुमति नलिएका प्लटिङ किनबेचमा रोक लगाइने
नागढुंगा-नौबिसे सडकको जाम हटाउन एकैपटक दुई ओटा विकल्प तयार हुँदै
घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार
प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै