फागुन ४, धरान । सुनसरीको दुहबीस्थित एक फर्मको कुखुरामा बर्ड फ्लू रोग देखिएपछि ८०० भन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८०० भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको हो । फर्ममा रहेको कुखुरामा वर्ड फ्लू रोग भएको पुष्टि भएपछि बर्ड फ्लू नियन्त्रण समिति सुनसरीको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो ।
निर्णय अनुसार मंगलवार फर्ममा रहेको ८०० बढी कुखुरा नष्ट गरिएको दुहबी नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख शिवहरि अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार फर्ममा रहेको ८२० ओटा बोइलर कुखुरा र १५ ओटा लोकल कुखुरा मारेर खाल्डोमा जलाइएको थियो । त्यस्तै, एक क्रेट अण्डा, ७ बोरा कुखुरालाई खुवाउने दाना पनि गाडिएको हो । फर्मलाई बुधवार सेनिटाइज गरेर बिहीवारदेखि सिल गरिने उनले बताए । सेनिटाइज गरिएका फर्मलाई ४२ दिनसम्म सिल गरिनेछ ।
बर्ड फ्लू नियन्त्रण समितिले फर्मलाई केन्द्र मानेर पुर्वमा सोनापुरदेखि कदमगाछी जाने कच्ची सडकको सिमाना, पश्चिममा बाँसघारी र सानो खोल्सीको सिमाना, उत्तरमा बाँसघारी र दक्षिणमा दुर्गा, पचु खानको घर र बासघारीसम्म चार दिशा (चारकिल्ला) कायम गरेको छ । त्यस क्षेत्रभित्र अन्य फर्म तथा खोरहरु भेटिएमा त्यहाँ भएका कुखुरा, हाँसलगायत पंक्षीजन्य सबै नष्ट गरिने अधिकारीले बताए ।