नेपाल र भारतका शेयर बजारका प्रत्यक्ष नियामक निकायबीच रणनीतिक साझेदारी हुने भएको छ । नेपालको नेपाल धितोपत्र बोर्ड (सेबोन ) र भारतको सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) बीच रणनीतिक साझेदारी हुने भएको हो। रणनीतिक साझेदारीको विषयमा छलफल गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा बोर्डको ३ सदस्यीय टोली हिजो सोमबार भारत प्रस्थान गरेको छ। टोलीमा बोर्डका उपकार्यकारी कृष्णराज पोखरेल र कामु उप कार्यकारी निर्देशक नारायण शर्मा सहभागी छन् । उक्त टोलीले सेबीसँग रणनीतिक साझेदारीको लागि छलफल गर्नुका साथै भारतमा शेयर बजारका नियामक, स्टक एक्सचेन्ज, ब्रोकर, लगायत निकायले कसरी काम गर्छन् भन्नेबारे जानकरी लिने बताईएको छ । त्यस्तै त्यहाँको नवीनतम अभ्यासहरुको विषयमा जानकारी लिने बताईएको छ । औपचारिक कार्यक्रम ३ दिनको भए पनि आउने र जाने दिन गरि उक्त टोलीले ५ दिन भारतमा बिताउने छ । उक्त टोली आगामी शुक्रबार नेपाल फर्कने छ।