नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर सुचिकृत भएको छ । शुक्रबार कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता शेयर सुचिकृत भएको हो ।कम्पनीको शेयर सुचिकृत भएसंगै सोमबारबाट कम्पनीको शेयर कारोबारमा आउने छ । कम्पनीको CYCL सिम्बलबाट कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३४४.३६ रुपैयाँदेखि १०३३.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यमा रहेर कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएर मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए। आईपिओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको थियो । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको थियो । जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । ति मध्ये ८ जनाले थप १ कित्ता शेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता शेयर पाएका थिए । आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका थिए। 

सम्बन्धित सामग्री

लगातार तीन कारोबार दिनमा ५ % घट्यो नेप्से, किन हाबी भइरहेका छन् विक्रेता ?

काठमाडौं  । लगातार तीन कारोबार दिनमा नेप्से परिसूचक ५ दशमलव १४ प्रतिशत घटेको छ । गत बुधवारयता घटेको नेप्से त्यसपछिका कारोबार दिन आइतवार र सोमवार पनि घटेको हो । सोमवार नेप्से परिसूचक १ दशमलव ०२ प्रतिशत अर्थात् २१ दशमलव ३२ अंक घटेर २ हजार ७५ दशमलव ९७ विन्दुमा झरेको हो ।  परिसूचकसँगै कारोबार रकम पनि केही घटेको छ । यसअघिका केही दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा सोमवार भने त्यो रकम ४ अर्बमा झरेको छ । असार मसान्त नजिकिँदै गर्दा बजार प्रभावित भएको जानकारहरू बताउँछन् । बढेको बजारमा केहीले नाफा बुक गर्दा र केहीले बैंकको साँवा–ब्याज र अन्य करहरू तिर्नका लागि शेयर बेच्दा बजारमा सेलिङ प्रेसर परेको जानकारहरूको भनाइ छ ।  सोमवार कारोबारमा आएका २७६ धितोपत्रको ९४ लाख १८ हजार ९५२ कित्ता शेयर ६४ हजार ८६८ पटकमा रू. ४ अर्ब ५ करोड बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र बिपि डब्लु लघुवित्तको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्य रू. १ हजार २८९ र बिपि डब्लु लघुवित्तको शेयर मूल्य रू. १ हजार ५५४ दशमलव ८० पुगेको छ ।  सोमवार सबैभन्दा बढी लक्ष्मी इक्वीटी फण्डका इकाईधनीहरूले गुमाएका छन् । यो फण्डको इकाई मूल्य ८ दशमलव ९५ प्रतिशत घटेको छ । यससँगै कम्पनीको इकाई मूल्य रू. ८ दशमलव ६५ मा झरेको छ । यो सूचीमा दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ७ दशमलव १३ प्रतिशत घटेर रू. ९२५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. २३ करोड ९४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य रू. ५३२ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोल्टी होटल छ । कम्पनीको रू. २० करोड ९४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ६६ प्रतिशत र होटल एण्ड टुरिजम समूहको परिसूचक २ दशमलव ०७ प्रतिशत बढेको छ भने बाँकी सबै परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी जीवन बीमा समूह छ । उक्त समूहको परिसूचक १ दशमलव ८३ प्रतिशत घटेको छ । सोमवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ०७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०१ प्रतिशत घटेको हो ।

२० ओटा लघुवित्त कम्पनी मर्जर तथा प्राप्ति प्रक्रियामा, कसको कोसँग ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा मर्जरको लहर चलेको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउन नेपाल राष्ट्र बैंकले मर्जरमा सेवा सुविधा प्रदान गरेपछि धमाधम गाभिन थालेका हुन् । विशेषगरी वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरूको संख्या घटाउन मर्जरमा जोड दिइएको छ । मर्जरका माध्यमबाट वाणिज्य बैंक र लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्न थालेपछि हालसम्म १० ओटा वाणिज्य बैंकको मर्जर तथा प्राप्ति सम्पन्न भई पाँच ओटा कायम भएका छन् । यससँगै वाणिज्य बैंकको संख्या २१ मा झरेको छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत नै निरन्तरता दिएको थियो । सोहीअनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको देखिन्छ । हालसम्म २० ओटा लघुवित्त कम्पनीले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । तीमध्ये केहीले एकीकृत कारोबार पनि थालिसकेका छन्, केही भने मर्जरका लागि नियामक निकायको स्वीकृति पर्खिंदै छन् । लघुवित्त मर्जरका लागि राष्ट्र बैंकबाट र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाउनुपर्छ ।  पछिल्लो पटक सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् ।  त्यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन सेबोनबाट पूर्वस्वीकृति लिइसकेका छन् । पुस २८ गते समान अनुपातमा मर्जरमा जान सहमति गरेका यी दुई कम्पनीले एक आपसमा गाभिने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् । डीडीए रिपोर्ट फरक आएमा सोहीबमोजिम मर्ज हुने समता लघुवित्तले जानकारी गराएको छ । समता घरेलु लघुवित्तले साधारण मर्जरसम्बन्धी प्रस्ताव सभाबाट पारित गरिसकेको छ भने स्वरोजगार लघुवित्तको बाँकी छ । अब स्वरोजगार लघुवित्तले साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै एकीकृत कारोबार शुरू हुनेछ ।  मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच गत पुस ११ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी कम्पनीहरूले पनि समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका हुन् । मर्जरसम्बन्धी अन्तिम सम्झौता एक हप्ताभित्र हुने मिर्मिरे लघुवित्तले जानकारी दिएको छ । दुवै कम्पनीको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले मङ्सिर १८ गते मर्जरसम्बन्धी सम्झौता गरेका हुन् । दुवै कम्पनीलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले पुस १८ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । यी दुवै कम्पनीले विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । बाँकी प्रक्रिया पूरा गरेर नियामक निकायको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन असोज २६ गते सम्झौता गरेका थिए । राष्ट्र बैंकबाट मर्जरमा जान सैद्धान्तिक स्वीकृति लिइसकेका दुवै लघुवित्त प्रारम्भिक सम्झौताअनुसार १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अब मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीले विशेष साधारण सभाले पारित गरेपछि प्रक्रिया अगाडि बढ्ने जानकारी दिइएको छ ।  डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने  समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका छन् । दुवै कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । अन्तिम सम्झौता गरेका यी कम्पनीले एकीकृत कारोबारका लागि भने नियामक निकाय नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र सेबोनबाट पनि स्वीकृति लिनुपर्नेछ । नियामकको स्वीकृति लिई एकीकृत कारोबारका लागि तयारी अघि बढाइएको जानकारीसमेत कम्पनीले दिएको छ ।  त्यस्तै सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जान पुस १ गते समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी कम्पनीले पनि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृतिपछि मर्जरपश्चात् विशेष साधारण सभाबाट पारित गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।  त्यस्तै विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मङ्सिर २६ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी समान अनुपातमा मर्जरमा जान लागेको हुन् । मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न यी दुवै कम्पनीले चैत २८ गते साधारण सभा बोलाएका छन् । अब साधारण सभाबाट पारित भएपछि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायबाट स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  साना किसान विकास लघुवित्त संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै कम्पनीले एकआपसमा गाभ्ने÷गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । साना किसानको १ शेयर बराबर १ शेयर कायम हुने तथा आरएमडीसी लघुवित्तको १ शेयर बराबर ०.८७ शेयर (शेयर अनुपात १ः०.८७) कायम हुने गरी फागुन १८ गते दुवै संस्थाका सञ्चालक समितिहरूले हस्ताक्षर गरेका हुन् । मर्जरसम्बन्धी प्रस्ताव साधारण सभाबाट दुवै कम्पनीले पारित गरिसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।  मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान चैत २ गते समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले २०७७ असोज ५ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गराएका छन् । सानिमा बैंकले १० प्रतिशत बोनस शेयरबापतको १ करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता शेयर फागुन १७ गते नेप्सेमा सूचीकृत गराएको हो । सानिमा बैंकले पुस ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभामार्फत उक्त बोनस शेयर पारित गरेको थियो । बैंकले बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांशसमेत पारित गरेको थियो ।  त्यस्तै सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत पुस ३० गते पारित गरेको ३० प्रतिशत बोनस शेयर फागुन १७ गते नै नेप्सेमा सूचीकृत गराएको छ । कम्पनीले उक्त बोनस शेयरबापतको ३ लाख ६४ हजार ९२५ दशमलव ५१ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीले ३० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।  नेप्सेमा सूचीकृत यो बोनस शेयर फागुन १८ गतेदेखि कारोबारयोग्य भए पनि सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

नेप्सेमा उछाल: शिवमको कारोबार उच्च, विकास बैंक र फाइनान्समा आकर्षण

आज बिहिबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ७४.९३ अंकले बढेर २०३७.६४को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२७ कम्पनीका ७२ लाख ७४ हजार ७० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख, अरुण कब्लीको ५ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।आज नेपाल फाइनान्स, मैलुंग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रो, सिवाईसी नेपाल लघुवित्त , आंधीखोला लघुवित्त, र सुर्योदय वोमी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बरुण हाइड्रोको शेयर मूल्य सर्वाधिक २.६५ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ७.३१ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक समुह ६.१३ प्रतिशतले बढेको छ ।

सिवाईसी नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

वैशाख २९, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त भएको छ ।  कम्पनीले भर्खरै बाँडफाँट गरेको आईपीओ व्यवस्थापनको लागि आरविवि मर्चेण्ट बैंकिङलाई जिम्मेवारी दिएको हो ।  कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम वैशाख २८ गतेदेखि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडबाट भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म आईपीओ जारी गरी वैशाख १५ गते बाँडफाँट गरेको हो ।

सिवाईसी नेपाल लघुवित्तको आईपीओ प्रि–अलोटमेन्ट सम्पन्न, बिहीवार अन्तिम बाँडफाँट

वैशाख १२, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रि–अलोटमेन्ट कार्य सम्पन्न भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सोमवार आईपीओ प्रि अलोटमेन्ट कार्य सम्पन्न गरेको जानकारी दिएको हो ।  प्रि–अलोटमेन्ट सम्पन्न गरेको तीन दिनभित्र अन्तिम बाँडफाँट गर्नुपर्ने व्यवस्था बमोजिम आईपीओको अन्तिम बाँडफाँट (बिहीवार) वैशाख १५ गते गर्ने जानकारी समेत क्यापिटलले दिएको छ ।  क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले वैशाख १५ गते बिहीवार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा आईपीओको अन्तिम बाँडफाँट हुने जानकारी दिएका हुन् । कम्पनीले सर्वसाधारणमा रू. ३ करोड ९५ लाख ३३ हजार ६०० बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता शेयर वितरण गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ बाँडफाँटको तयारी कम्पनीले गरेको हो ।  कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म सर्वसाधारणमा आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा ६९ दशमलव ५२ गुणा बढी आवेदन परेको थियो ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार २२ लाख ७७ हजार ७४३ जना आवेदकहरुबाट २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता शेयर खरीद माग भएको हो ।  कम्पनीको आईपीओ बाँडफाँटको अहिलेको व्यवस्था बमोजिम ३६ हजार ९४८ जना आवेदकहरुले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता शेयर थप ८ जनाले एक/एक कित्ताका दरले पाउनेछन् ।  कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर वितरण गरेको हो । यस कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक सञ्चित नाफा रू. ६ करोड ३१ लाखभन्दा बढी छ । सो अवधिसम्म प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ७४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेको छ ।  धितोपत्र दोस्रो बजारमा कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ । यस आधारमा कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता रू. ३४४ दशमलव ३६ देखि रू. १ हजार ३३ सम्ममा हुने देखिन्छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार २४० रहेको छ । आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. १२ करोड १६ लाख ४१ हजार ८४० पुग्नेछ ।

सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्तको एकीकृत कारोबार शुरु

असार ३०, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको छ । राष्ट्रिय स्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेश स्तरको शालिग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।  एकीकृत कारोबारको शुभारम्भ सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबर्द्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्यनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण प्रसाद थापाले संयुक्त रुपमा गरेका हुन् । यी दुबै कम्पनीले जेठ २४ गते बसेको छुट्टा - छुट्टै विशेष साधारण सभा मार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते प्राप्तिका लागि अन्तिम स्वीकृती पाएसँगै एकीकृत कारोबार सम्पन्न भएको हो । शालीग्राम लघुवित्तको १०० कित्ता शेयर बराबर सिवाईसी नेपाल लघुवित्तलाई ७५ कित्ता शेयर दिने गरी शालीग्राम लघुवित्तलाई प्राप्ति गरेको हो ।  प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. १२ करोड १६ लाख रहेको छ । अव कम्पनीले ३८ ओटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्नेछ ।