२० ओटा लघुवित्त कम्पनी मर्जर तथा प्राप्ति प्रक्रियामा, कसको कोसँग ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा मर्जरको लहर चलेको छ । बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउन नेपाल राष्ट्र बैंकले मर्जरमा सेवा सुविधा प्रदान गरेपछि धमाधम गाभिन थालेका हुन् । विशेषगरी वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरूको संख्या घटाउन मर्जरमा जोड दिइएको छ । मर्जरका माध्यमबाट वाणिज्य बैंक र लघुवित्तको संख्या घटाउन नेपाल राष्ट्र बैंकले प्रोत्साहन गर्न थालेपछि हालसम्म १० ओटा वाणिज्य बैंकको मर्जर तथा प्राप्ति सम्पन्न भई पाँच ओटा कायम भएका छन् । यससँगै वाणिज्य बैंकको संख्या २१ मा झरेको छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत नै निरन्तरता दिएको थियो । सोहीअनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको देखिन्छ । हालसम्म २० ओटा लघुवित्त कम्पनीले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । तीमध्ये केहीले एकीकृत कारोबार पनि थालिसकेका छन्, केही भने मर्जरका लागि नियामक निकायको स्वीकृति पर्खिंदै छन् । लघुवित्त मर्जरका लागि राष्ट्र बैंकबाट र नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाउनुपर्छ ।  पछिल्लो पटक सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् ।  त्यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन सेबोनबाट पूर्वस्वीकृति लिइसकेका छन् । पुस २८ गते समान अनुपातमा मर्जरमा जान सहमति गरेका यी दुई कम्पनीले एक आपसमा गाभिने प्रस्ताव विशेष साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् । डीडीए रिपोर्ट फरक आएमा सोहीबमोजिम मर्ज हुने समता लघुवित्तले जानकारी गराएको छ । समता घरेलु लघुवित्तले साधारण मर्जरसम्बन्धी प्रस्ताव सभाबाट पारित गरिसकेको छ भने स्वरोजगार लघुवित्तको बाँकी छ । अब स्वरोजगार लघुवित्तले साधारण सभाबाट पारित गरी आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै एकीकृत कारोबार शुरू हुनेछ ।  मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तबीच गत पुस ११ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी कम्पनीहरूले पनि समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका हुन् । मर्जरसम्बन्धी अन्तिम सम्झौता एक हप्ताभित्र हुने मिर्मिरे लघुवित्तले जानकारी दिएको छ । दुवै कम्पनीको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  त्यस्तै धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले मङ्सिर १८ गते मर्जरसम्बन्धी सम्झौता गरेका हुन् । दुवै कम्पनीलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले पुस १८ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । यी दुवै कम्पनीले विशेष साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । बाँकी प्रक्रिया पूरा गरेर नियामक निकायको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन असोज २६ गते सम्झौता गरेका थिए । राष्ट्र बैंकबाट मर्जरमा जान सैद्धान्तिक स्वीकृति लिइसकेका दुवै लघुवित्त प्रारम्भिक सम्झौताअनुसार १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अब मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीले विशेष साधारण सभाले पारित गरेपछि प्रक्रिया अगाडि बढ्ने जानकारी दिइएको छ ।  डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने  समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका छन् । दुवै कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । अन्तिम सम्झौता गरेका यी कम्पनीले एकीकृत कारोबारका लागि भने नियामक निकाय नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र सेबोनबाट पनि स्वीकृति लिनुपर्नेछ । नियामकको स्वीकृति लिई एकीकृत कारोबारका लागि तयारी अघि बढाइएको जानकारीसमेत कम्पनीले दिएको छ ।  त्यस्तै सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जान पुस १ गते समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी कम्पनीले पनि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृतिपछि मर्जरपश्चात् विशेष साधारण सभाबाट पारित गरेपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।  त्यस्तै विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मङ्सिर २६ गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई कम्पनी समान अनुपातमा मर्जरमा जान लागेको हुन् । मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न यी दुवै कम्पनीले चैत २८ गते साधारण सभा बोलाएका छन् । अब साधारण सभाबाट पारित भएपछि आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायबाट स्वीकृतिपछि एकीकृत कारोबार शुरू हुनेछ ।  साना किसान विकास लघुवित्त संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै कम्पनीले एकआपसमा गाभ्ने÷गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । साना किसानको १ शेयर बराबर १ शेयर कायम हुने तथा आरएमडीसी लघुवित्तको १ शेयर बराबर ०.८७ शेयर (शेयर अनुपात १ः०.८७) कायम हुने गरी फागुन १८ गते दुवै संस्थाका सञ्चालक समितिहरूले हस्ताक्षर गरेका हुन् । मर्जरसम्बन्धी प्रस्ताव साधारण सभाबाट दुवै कम्पनीले पारित गरिसकेका छन् । अब आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।  मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान चैत २ गते समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले २०७७ असोज ५ गते एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

सम्बन्धित सामग्री

एक दर्जन लघुवित्त कम्पनी मर्जर प्रक्रियामा, कुन कम्पनी कोसँग मर्ज हुँदै ?

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा मर्जरको लहर चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त कम्पनीलाई सुविधा दिने भएपछि मर्जरमा जान थालेका हुन् ।  राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै निरन्तरता दिएको छ । २०८१ असारसम्म एकीकृत कारोबार गरे विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको हो ।   पछिल्लो समय १२ वटा लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साधना र सबैको लघुवित्त, किसान र जाल्पा सामुदायिक लघुवित्त, मानुषी र श्रृजनशील लघुवित्त, मिर्मिरे र नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच मर्जर सम्झौता भइसकेको छ । साधना लघुवित्त र सबैको लघुवित्तले गत भदौ १५ गते गाभ्ने तथा गाभिने (मर्जर)सम्बन्धी प्रारम्भिक सम्झौता गरेका हुन् ।  दुवै कम्पनीको शेयर स्वाप रेसियो समान अर्थात् १ः१ अनुपातमा मर्ज हुने सहमति भएको कम्पनीले बताएको छ । राष्ट्र बैंकबाट पहिलो चरणको स्वीकृति पाएको कम्पनीले जानकारी दिएको हो ।  दुवै कम्पनी राष्ट्रियस्तरमा कारोबार गरिरहेका छन् । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुरमा छ भने साधना लघुवित्तको गोरखाको हरमटारीमा छ । सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ छ भने साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ छ । मर्जरपश्चात भने कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।  किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जान गत साउन ९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन् । यी दुई अहिले कम्पनीको डिडिए भइरहेको किसान लघुवित्तका सूचना अधिकारी नवराज पोखरेलले जानकारी दिए । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए) भएपछि मात्रै स्वाप रेसियो निर्धारण हुनेछ ।  हाल किसान लघुवित्तको करीब ५० करोड रुपैयाँ चुक्ता पूँजी छ भने जाल्पा सामुदायिक लघुवित्तको १८ करोड रुपैयाँ छ । समान हैसियतमा मर्जरमा गएमा मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ६८ करोड रुपैयाँ पुग्नेछ ।  मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्थाले मर्जरमा जान २०७९ चैत २ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । पुस मसान्तभित्र एकीकृत कारोबार शुरु गर्ने तयारी भएको मानुषी लघुवित्तको वरिष्ठ अधिकृत मुरारी सापकोटाले बताए । डीडीए भएर आएपछि स्वाप रेशियो निर्धारण हुने उनको भनाइ छ । मानुषी लघुवित्तको केन्द्रीय कार्यालय, काभ्रे बनेपामा रहेको छ भने श्रृजनशिल लघुवित्तको केन्द्रीय कार्यालय, सिरहाको गोलबजारमा रहेको छ । मानुषी लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ भने श्रृजनशील लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएमा बन्ने कम्पनीको चुक्ता पुँजी २१ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।  नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस १२ गते मर्जर सम्झौता भएको थियो । यी दुई कम्पनी १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । कात्तिक ३ गतेको पत्रमार्फत नेपाल राष्ट्र बैंकले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरु गर्नेछन् । मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।  सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच १ः०.८५ अनुपात मर्जरमा जान लागि अन्तिम सम्झौता गरेका छन् । २०७९ फागुन २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीहरूलाई मर्जरका लागि राष्ट्र बैंकले २०८० जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । अब आवश्यक प्रक्रिया पूरा गरेर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार शुरु गर्नेछन् ।  समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्न गत भदौ ७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिका लागि संयुक्त निवेदन दिइसकेको मनकामना स्मार्ट लघुवित्तले जानकारी दिएको छ ।  राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर डीडीए भएपछि मात्रै शेयर स्वाप रेशियो निर्धारण हुने कम्पनीको भनाइ छ ।

मर्जर र प्राप्ति : लामो समय कारोबार रोक्ने परिपाटी हट्दै

जेठ २०, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीबीच मर्जर वा प्राप्तिको प्रक्रिया शुरू भएपछि लामो समय शेयर कारोबार रोक्ने अहिलेको परिपाटी चाँडै हट्ने भएको छ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मर्जर तथा प्राप्ति प्रयोजनका कारण लामो समय शेयर कारोबार रोकिन थालेपछि यसको निकास खोज्न थालेको हो । बोर्डले यस विषयमा अध्ययन गरी आवश्यक निकास निकाल्न कार्यदल (टास्क फोर्स)लाई जिम्मा दिइसकेको जानकारी दिएको छ ।  बोर्डका अध्यक्ष रमेशकुमार हमालले लामो समय लगानीकर्ताको सम्पत्ति मर्जर तथा प्राप्तिको नाममा बन्धक बनाउन नहुने भन्दै यसको निकासका लागि बोर्ड गम्भीरताका साथ अघि बढेको बताए । यस विषयमा नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग छलफल भइसकेको र दुवै निकाय सकारात्मक रहेकाले आगामी १५ दिनभित्र निकास निस्कने विश्वास हमालको छ । यो विषयमा छिटो निकास निकाल्नुपर्ने भएकाले टास्क फोर्सलाई जिम्मा दिइएको उनको भनाइ छ । टास्क फोर्सले विशेषगरी बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्ति प्रयोजनका लागि केकति समय कारोबार रोक्का गर्दा ठीक हुन्छ भन्ने विषयमा अध्ययन गर्ने हमालले जानकारी दिए । मर्जर तथा प्राप्ति प्रयोजनका लागि कारोबार रोक्का गर्ने व्यवस्था धितोपत्र बोर्डले नगरेको तर्क उनको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बनाएको उक्त व्यवस्था हाल नेप्सेले सबै क्षेत्रको कम्पनीमा लागू गरेकाले यसलाई सुधारेर लैजान निर्देशन दिइसकेको हमालले जानकारी दिएका छन् ।  धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज पनि मर्जर तथा प्राप्तिको कारण लामो समय कारोबार रोक्का गर्न नहुने पक्षमै छ । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बोर्डले हालको व्यवस्थालाई अध्ययन गरी निकासको बाटो खोजे नेप्से सोही बाटोमा हिँड्ने बताए । संसारभर कहीँ कतै नभएको हाम्रो देशको यो व्यवस्थालाई जतिसक्दो परिवर्तन गर्न नियामक निकायले पहल गर्नुपर्ने माग उनको छ । हाल मर्जर तथा प्राप्तिका कारण दुई वाणिज्य बैंक, पाँच बीमा कम्पनी, चार लघुवित्त कम्पनी र दुई जलविद्युत् कम्पनीको शेयर कारोबार रोकिएको छ ।  शेयर कारोबार रोक्का हुने दुई वाणिज्य बैंकमा हिमालयन र नेपाल बंगलादेश बैंक छन् । नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर प्रयोजनका लागि २०७८ साल वैशाख ३१ गतेदेखि नै हिमालयन बैंकको शेयर कारोबार रोक्का छ । नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार खुला भइसके पनि हिमालयन बैंकको रोक्का नै छ । मर्जर नगर्ने भएसँगै २०७८ साल वैशाख ३१ गतेदेखि रोकिएको नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार जेठ १६ गतेदेखि खुला भएको हो । त्यस्तै नबिल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार २०७८ साल पुस ३० गतेदेखि रोक्का छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइमलाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त, आँधीखोला लघुवित्त, घोडीघोडा लघुवित्त, समाज लघुवित्त, रिडी हाइड्रोपावर र रैराङ हाइडोपावरको शेयर कारोबार पनि मर्जर तथा प्राप्ति प्रयोजनकै लागि रोक्का छ । मर्जर र प्राप्तिको कारण लामो समयसम्म कारोबार रोक्का रहँदा समस्यामा परेको गुनासो लगानीकर्ताले गरेका छन् । पछिल्लो समय मर्जर सम्झौता अस्वीकृत भइसकेको महीनौं बितिसक्दा पनि हिमालयन बैंकको कारोबार खुला नभएको अवस्थाले पनि लगानीकर्ता आत्तिएका हुन् ।

६ ओटा लघुवित्त कम्पनीद्वारा एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन

काठमाडौं  । ६ ओटा लघुवित्त कम्पनी एफपीओ निष्कासन गर्ने तयारी प्रक्रियामा लागेका छन् । यी ६ ओटा कम्पनीले एफपीओ निष्कासनका लागि विभिन्न समयमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेका छन् । यी कम्पनीलाई बोर्डले स्वीकृति दिएमा एफपीओ निष्कासन गर्नेछन् ।  एफपीओ निष्कासन गर्न किसान, मिर्मिरे, युनिक नेपाल, उन्नति सहकार्य, समता घरेलु र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न मितिमा बाोर्डमा निवेदन दिएका छन् । पूँजी संरचना मिलाउन यी लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्ने भएका हुन् ।  सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार यी कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  सबैभन्दा बढी कित्ता एफपीओ किसान लघुवित्तको  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त एफपीओ निष्कासन गर्न कम्पनीले २०७८ असार २९ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि मात्र यो कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड १४ लाख नाफा कमाएको छ ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्था  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्न गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै यो कम्पनीको नाम नयाँ सारथी लघुवित्त वित्तीय संस्था भएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख  नाफा कमाएको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था  यो कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो  । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्न सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ४९ लाख नाफा कमाएको छ ।  समता घरेलु लघुवित्त वित्तीय संस्था यो कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शुन्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले एफपीओ निष्कासन गर्न २०७८ चैत २९ गते सेबोनमा निवेदन दिसकेको छ । यो कम्पनीको एफपीओ विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ करोड ३६ लाखमा नाफा कमाएको छ ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था  यो कम्पनीले प्रतिकित्ता रू.१५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न २०७८ चैत २५ गते सेबोनमा निवेदन दिएको छ । उक्त एफपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ७९ लाख नाफा कमाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था   यो कम्पनी प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि २०७८ चैत १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी साविकको युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २७ लाख नाफा कमाएको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड