नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीले ७७ ओटै जिल्लामा शाखा विस्तार गर्न पाउने व्यवस्था गरेको छ । यसबाट लगानीकर्ता र शेयर ब्रोकरसमेत खुशी देखिएकाले यसले बजारलाई थप विस्तार र परिपक्व बनाउँदै लैजाने अपेक्षा गर्न सकिन्छ ।
बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका २०७९’ जारी गरी शाखा खोल्न बाटो खुला गरेको हो । ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा प्रतिशाखा रू. १ करोड ५० लाखका दरले चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ, यस्तै मुख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्न अनुमति नदिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी उपत्यकाबाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्रै उपत्यकामा शाखा खोल्न पाइने व्यवस्था गरिएको छ । एकपटकमा एउटा मात्र शाखा खोल्नका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसरी विभिन्न प्रावधानसहित बोर्डले शाखा विस्तार गर्न दिने नीति लिएको छ ।
अहिले शेयरबजारको सबैजसो काम अनलाइन हुन थालिसकेको छ । शेयर खरीद विक्री आदेश दिने, रद्द गर्ने, खरीद गरेपछि भुक्तानी दिने र विक्री गरेको शेयरको रकम खातामा आउने सबै कुरा अनलाइन भइरहेको छ । विश्वको कुनै पनि कुनामा बसेर शेयर किनबेच गर्न सकिने भएको छ । यस्तोमा ब्रोकर कम्पनीका शाखा सबै जिल्लामा आवश्यक नपर्न पनि सक्छन् । तर, बैंकहरूले ब्रोकरको अनुमति लिएमा भने ब्रोकरहरूलाई समस्या पर्ने देखिन्छ । बैंकहरूको शाखा सबै जिल्लामा पुगिसकेकाले उनीहरूले ती शाखामार्फत शेयर कारोबारको सुविधा दिन सक्छन् । हुन त बैंकहरूले शेयर कारोबार गर्न अलग्गै कम्पनी खडा गर्नुपर्ने प्रावधान राखिएको छ । तैपनि बैंकको शाखा सञ्जालसँग प्रतिस्पर्धा गर्न ब्रोकर कम्पनीहरूले शाखा खोल्न आवश्यक देखेका हुन सक्छन् ।
बोर्डले यस्तो व्यवस्था गरे पनि जिल्लाजिल्लामा ब्रोकरको शाखा खुलिहाल्छन् भन्ने देखिँदैन । बजारको सम्भावना देखिएका जिल्लाहरूमा शाखा खुल्न सक्छ । एउटै व्यक्तिले अलग अलग ब्रोकरकहाँ खाता खोल्न नपाउने व्यवस्था गरिएको छ । यसो हुँदा शाखाहरू बीच प्रतिस्पर्धा भने हुन सक्ने देखिँदैन । जे भए पनि यसले शेयरबजारलाई सकारात्मक बनाउने विश्वास गर्न सकिन्छ ।