नेपालको कुल जनसंख्याभन्दा बढी बैंक खाताको संख्या पुगे पनि बैंकिङ पहुँच भने ६७ दशमलव ३४ प्रतिशतमा मात्र सीमित रहेको छ । आर्थिक समृद्धिका लागि वित्तीय पहुँच र वित्तीय साक्षरता महत्त्वपूर्ण मानिन्छ, तर, नेपालले यसको पहुँच बढाउन विभिन्न नीतिगत व्यवस्था गरे पनि अपेक्षित मात्रामा वित्तीय पहुँच पुग्न सकेको देखिँदैन ।
बैंकिङ पहुँच बढाउन बैंक खाता खोल्नुपर्छ भन्ने मानसिकतामा परिवर्तन गरी प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्नु अपरिहार्य देखिन्छ ।
वित्तीय पहुँच पुर्याउन सरकारले प्रत्येक पालिका तहमा बैंक शाखा पुग्ने पर्ने नियम बनाएको छ । करीबकरीब सबैजसो पालिकाहरूका बैंक शाखा खुलेका पनि छन् । तर, सर्वसाधारणमा बैंकिङ पहुँच पुग्न सकेको देखिँदैन । वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने नीतिले बैंकमा खाता खोल्नेको संख्या बढेको छ । सरकारले खोलौं बैंक खाता अभियानअन्तर्गत हरेक नागरिकको बैंक खाता कार्यक्रम सञ्चालन गर्यो । बैंक खाता खोल्नुलाई नै बैंकिङको पहुँच बढाउनुजस्तो गरी बैंकहरूले पनि विभिन्न सुविधासहित यो अभियानलाई तीव्रता दिए । आफ्नो कर्मचारीलाई बढी खाता खोलाउने लक्ष्य नै दिएका थिए । त्यही कारण लाखौं खाता खोलिए तर ती खातामध्ये अधिकांश निष्क्रिय रहेका छन् । त्यसैगरी बैंकहरूले कुनै नयाँ प्रडक्ट ल्याउँदा नयाँ खाता खोल्न लगाउने गरेका छन् । पुराना खातामा नयाँ सुविधा नदिने बैंकहरूको नीतिका कारण एउटै बैंकमा एउटै व्यक्तिको एकभन्दा बढी खाता पनि खुलेको पाइन्छ । अहिले यस्तो प्रवृत्तिमा कमी आएको पनि छ । कुनै सरकारी कार्यालयले कसैलाई भुक्तानी दिनुपरे आफ्नो कार्यालयको खाता भएको बैंकमा खाता खोल्न लगाएर भुक्तानी दिने गरेको पनि पाइन्छ । ठेक्कापट्टाको भुक्तानी लिनुपरे सम्बद्ध कार्यालयको खाता भएको बैंकको पनि शाखामा नै खाता खोल्न लगाएको समेत पाइन्छ । यसरी हरेक बैंकमा खाता खोल्नुपर्ने नीति खर्चिलो हुन्छ तर यसबाट वित्तीय पहुँच भने बढ्दैन ।
यही कारण करीब ३ करोड जनसंख्या भएको मुलुकमा ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता खोलिएको पाइन्छ । यी खातामध्ये एकै व्यक्तिको धेरै खाता नगनी एउटामात्र गन्दा वित्तीय पहु“च ६७ दशमलव३४ प्रतिशतमा बैंकिङ पहुँच पुगेको देखिएको हो । भारत सरकारको सिको गर्दै नेपाल सरकारले खाता खोलौं अभियान सञ्चालन गरे पनि वित्तीय पहुँच भने खासै बढाउन सकेको देखिँदैन । त्यसैले खाता खोल्ने अभियान सञ्चालन गर्नुभन्दा वित्तीय पहुँच पुर्याउन वित्तीय प्रविधिहरूको उपयोग गर्नु बढी प्रभावकारी हुन्छ ।
वित्तीय पहुँच बढाएर अफ्रिकाका कैयौं मुलुकले गरीबी न्यूनीकरणमा महŒवपूर्ण उपलब्धि प्राप्त गरेका छन् । छिमेकी मुलुक भारतले पनि मोबाइलमार्फत वित्तीय पहुँच बढाएर यस क्षेत्रमा ठूलो उपलब्धि प्राप्त गरेको छ । अहिले बैंकको भौतिक शाखा बढाउनुभन्दा मोबाइलबाट वित्तीय कारोबार बढाउनु बढी प्रभावकारी हुन्छ । प्रविधिको प्रयोगबाट मोबाइलबाट नै शाखासरह वित्तीय सेवा प्रदान गर्न सम्भव भएको छ ।
नेपालमा मोबाइलको पहुँच निकै वृद्धि भएको छ । त्यसमा पनि स्मार्ट फोन बोक्नेको संख्या प्रशस्त छ । मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या पनि अत्यधिक छ । तर, हातमा मोबाइल बोक्नेमध्ये धेरैले बैंकिङ सेवा उपयोग नगरेको पाइन्छ । यसो हुनुमा बैंकिङलाई नयाँ प्रविधिसँग जोड्न नसक्नु र त्यसप्रति विश्वास बढाउन नसक्नु नै प्रमुख कारण देखिन्छ ।
गाउँगाउँमा बैंक शाखा खोलेर साध्य हुँदैन । तर, हरेक स्थानीय तहमा कम्तीमा एउटा शाखा खोल्ने भन्ने नीति ठीक छ । चीनमा एन्ट ग्रूपले प्रविधिको प्रयोगबाट बैंकिङ पहुँच विस्तारमा ठूलो योगदान दियो । नेपालमा पनि त्यस्ता कम्पनीहरूलाई प्रोत्साहित गरिनुपर्छ । यसका लागि मुलुकको आफ्नै पेमेन्ट गेटवे हुनुपर्छ र अन्य प्रविधिगत सुरक्षा पनि बलियो हुनुपर्छ । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा डिजिटल मुद्रा बनाउने विषयमा अध्ययन गर्ने बताएको छ । यसले बैंकिङ पहुँच बढाउन थप सहयोग मिल्ने देखिन्छ । तर, बैंकिङ पहुँच बढाउन बैंक खाता खोल्नुपर्छ भन्ने मानसिकतामा परिवर्तन गरी प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्नु अपरिहार्य देखिन्छ ।