काठमाडौं । पछिल्लो समय विद्युतीय गाडी (Electric Vehicles) को आकर्षण बढेको छ । भन्सार विभाग (Department of Customs)को तथ्यांकअनुसार गत साउनदेखि चैत मसान्तसम्म नेपालले ६ अर्ब ८४ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको २ हजार ४५१ ओटा विद्युतीय गाडी (EV) आयात गरेको छ ।
गाडी आयातको संख्याका आधारमा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको १ हजार ४७३ ओटा विद्युतीय गाडी आयात गरेको थियो ।
यो वर्ष नेपालमा आयात भएका गाडीको औषत मूल्य करीब २८ लाख रुपैयाँ परेको छ । गत वर्ष आयात भएका गाडीको औसत मूल्य २९ लाख रुपैयाँभन्दा बढी रहेको थियो । नेपालमा विद्युतीय गाडीको आकर्षण बढेसँगै सस्तो मूल्यका गाडी आयात बढ्दा औसत मूल्य घटेको भन्सार विभागको भनाइ छ ।
नेपालले चीन, भारत, इन्डोनेसिया, कोरिया, संयुक्त राज्य अमेरिका लगायतका मुलुकबाट विद्युतीय गाडी आयात गर्ने गरेको छ ।
भारतबाट सर्वाधिक भित्रिए
पछिल्लो ९ महीनामा नेपालले सबैभन्दा बढी विद्युतीय गाडी भारत (India)बाट आयात गरेको छ । भारतपछि नेपालले चीन (China) बाट ठूलो परिमाणमा गाडी आयात गरेको छ । चालू आवको ९ महीनामा नेपालले भारतबाट ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बराबरको १ हजार ७ सय ५५ थान विद्युतीय गाडी भित्र्याएको छ । सो अवधिमा चीनबाट १ अर्ब ८ करोड ५१ लाख रुपैयाँको ४२९ ओटा विद्युतीय सवारी आयात भएका छन् ।
सरकारले पछिल्लो ९ महिनामा २ हजार ४५१ विद्युतीय सवारीसाधन आयातबाट १ अर्ब ९० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार विभागले तथ्याङ्क छ ।