चैत २७, इस्लामावाद (पाकिस्तान) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ ।
संसदमा शनिवार मध्यरातमा भएको मतदानमा खान विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको थियो ।
खानलाई पदमुक्त गर्न १७२ मत चाहिएको थियो । उनको विपक्षमा १७४ मत खसेकोे थियो । पाकिस्तानको इतिहासमा अविश्वासको प्रस्तावमार्फत यस अघि कुनै प्रधानमन्त्री पदमुक्त भएका थिएनन् । यसरी पद गुमाउने खान पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेका छन् । पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न पाएका छैनन् ।
प्रतिपक्ष दलले मार्च ८ मा अविश्वासको प्रस्ताव गरेका थिए । अघिल्लो हप्ता खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
सर्वाेच्च अदालतले बिहीवार संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गर्दै फैसला सुनाएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतवार दिउँसो २ बजे संसद बैठक बस्नेछ । खानले आफूविरुद्ध विपक्षी दलसँग मिलेर विदेशीहरुले षडयन्त्र गरेको दाबी गर्दै आएका थिए । एजेन्सी