काठमाडौं । आइतवार दुई कम्पनीले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । सिद्धार्थ बैंक र प्रोग्रेसिभ फाइनान्सको कुल ४ लाख ३१ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यी दुवै कम्पनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएका हुन् ।
कुल कित्ता शेयरमध्ये प्रोग्रेसिभ फाइनान्सको ३ लाख ४१ हजार ६४७ कित्ता रहेको छ भने सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता रहेको छ । प्रोग्रेसिभ फाइनान्सले चैत २५ गते सूचना जारी गर्दै ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भनेको हो । प्रोग्रेसिभ फाइनान्सको उल्लिखित कित्ता शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय तिनकुने, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।
सिद्धार्थ बैंकले पनि चैत २६ गते सूचना जारी गर्दै ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा पेश गर्न भनेको छ । दुवै कम्पनीले शेयरको मूल्य भने तोकेका छैनन् । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी दुवै कम्पनीले दिएका छन् ।