माघ १३, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आएको छ ।
नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९०२ कित्ता र आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।
नागरिक लगानी कोषको शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार १८३ र आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता रू. ४९४ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी माघ २० गतेसम्म यी शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।
आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्ता र नागरिक लगानीकोषको शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका आवेदन दिन सकिनेछ भने अधिकतम कित्तामा कुनै हद लाग्ने छैन । आरएमडिसी लघुवित्तको शेयर खरीदको आवेदन विक्री प्रबन्धक एनएआईसी एशिया क्यापिटल लिमिटेडमा पाउन र बुझाउन सकिने व्यवस्था छ ।
नागरिक लगानीकोषको शेयर खरीदका लागि भने विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको छ ।