काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले भोलि (बिहीवार)देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ भने आयोजना प्रभावित स्थानीयमा २ लाख ६ हजार ७६० कित्ता आईपीओ बाँडफाँट गरिएको छ ।
स्थानीयका लागि ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याइएको थियो । कम्पनीले स्थानीयमा वितरण हुन नसकेको शेयरसमेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म शेयर माग गर्न सकिने व्यवस्था छ । यो आईपीओको विक्री अवधि छिटोमा साउन २२ गतेसम्मको लागि तोकिएको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन ३२ गतेसम्म विक्री अवधि लम्बिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले दैलेखमा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ छ । प्रतिमेगावाट अनुमानित लागत भने २३ करोड ६८ लाख ४ हजार रुपैयाँ छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।