अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ खरीदका लागि स्थानीयमा म्याद थप

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि निष्कासन गरेको पहिलो चरणको आईपीओको विक्री अवधि थप गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेकोमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भने साउन ५ गतेसम्म विक्री अवधि थप गरेको हो । छिटो अवधि असार २१ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि स्थानीयमा ढिलो अवधि साउन ५ गतेसम्मको विक्री अवधि तय गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आजसम्म मात्रै आईपीओ खरीद गर्न पाउनेछन् ।  कम्पनीले जारी पूँजी रू. ५० करोड ९८ लाख ४ हजारको १० प्रतिशत अर्थात् रू. ५ करोड ९ लाख ८० हजार ४०० बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूको लागि र ५० प्रतिशत उक्त क्षेत्र बाहेकका सम्पूर्ण दैलेख जिल्लावासीहरूका लागि विक्री गर्न लागिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने दोस्रो चरणमा विक्री गरिने सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ विक्री खुला गरिएको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड छ । स्थानीय वासिन्दाहरूले आयोजना स्थलको कार्यालय, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले दैलेखमा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ९४ करोड ७२ लाख १७ हजार छ । प्रतिमेगावाट अनुमानित लागत भने रू. २३ करोड ६८ लाख ४ हजार छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला