अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ स्थानीयले खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । आयोजना प्रभावित स्थानीयले अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री खुला गरेको थियो ।  वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने असार २१ गतेसम्म आईपीओ विक्री गरि सम्पूर्ण कित्ता आईपीओ साउन २ गते बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।  कम्पनीले जारी पूँजी रू. ५० करोड ९८ लाख ४ हजारको १० प्रतिशत अर्थात् रू. ५ करोड ९ लाख ८० हजार ४०० बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूको लागि र ५० प्रतिशत उक्त क्षेत्र बाहेकका सम्पूर्ण दैलेख जिल्लावासीहरूका लागि विक्री गर्न लागिएको हो ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । स्थानीय बासिन्दाहरूले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले दैलेखमा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ९४ करोड ७२ लाख १७ हजार छ । प्रतिमेगावाट अनुमानित लागत भने रू. २३ करोड ६८ लाख ४ हजार छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला