सर्वोच्चको न्यायिक सक्रियता जायज कि अस्वाभाविक ?

सामान्यतः बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतबाट अनुसन्धानकर्ता निकायलाई अनुसन्धानको क्षेत्राधिकार फराकिलो पार्ने विषयमा आदेश हुँदैन । तर, २१ साउनमा सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता मुद्दामा पक्राउ परेका आरोपीको बन्दी...

सम्बन्धित सामग्री

आयात घट्नुको अ(न)र्थ

चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि फागुनसम्मको ८ महीनामा वैदेशिक व्यापारमा नेपालको घाटाको ग्राफ ओर्लिएका समाचार सञ्चारमाध्यममा आएका छन् । आर्थिक अयिभान दैनिकमा प्रकाशित समाचारअनुसार व्यापारघाटा अघिल्लो आर्थिक वर्षको तुलनामा करीब १८ प्रतिशतले घटेको छ । आयात १९ प्रतिशतले घट्दा निर्याततर्फ भने करीब ३० प्रतिशतले गिरावट आएको देखिन्छ । समग्रमा वैदेशिक व्यापारको आकार नै घटेको छ । स्मरण हुन्छ, तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा सरकारले आयात घट्नुलाई ठूलो उपलब्धिको रूपमा प्रचार गरेको थियो । त्यतिबेला निर्यातमा खानेतेल निकासीको टेको थियो । र, आयात घटे पनि निर्याततर्फ खासै असर परेको थिएन । त्यो सहुलियतलाई सरकारले उपलब्धिका रूपमा व्याख्या गरेको थियो । खासमा त्यतिबेला आयातमा आएको कमीलाई उपलब्धिका रूपमा बुझ्नुपर्ने अवस्था किन पनि थिएन भने आन्तरिक उत्पादन बढेर होइन कि सरकारले लिएको नियन्त्रणात्मक नीतिका कारण आयातमा गिरावट आएको थियो । आन्तरिक उत्पादन र उपभोग बढेर आयातमा कमी आएको भए त्यसलाई उपलब्धि मान्न सकिन्थ्यो । सरकारले आयातमा कडाइ गरेकाले आयात खुम्चिनु अर्थतन्त्रका लागि उत्साहित हुनुपर्ने कुरा होइन । आयात भइरहेका वस्तुको उत्पादन स्वदेशमै हुने हो र त्यस्ता वस्तुको आयात प्रतिस्थापन हुँदै जाने हो भने मात्रै त्यसलाई अर्थतन्त्र सुधारका लागि सरकारले लिएको नीतिगत सफलताका रूपमा बुझ्न सकिन्छ । यहाँ त औद्योगिक कच्चा पदार्थको खपतमा आएको कमीलाई समेत प्रचारबाजीको विषय बनाइन्छ र आत्मरति खोजिन्छ । यस्तोमा स्वस्थ अर्थतन्त्र निर्माणको उद्देश्य सधैं ओझेलमा परिरहेको हुन्छ । कृत्रिम उपलब्धिको प्रचारबाजी दिगो हुँदैन । बैंकहरूको चर्को ब्याजदर र आयात निरुत्साहनको नीतिले व्यापार घटेको हो । कृत्रिम सुधारका यस्ता तथ्यांकलाई देखाएर उपलब्धिको प्रचार गर्नुको तुक छैन । खासमा त्यतिबेलादेखि नै अर्थतन्त्रको उँधोगति शुरू भइसकेको थियो, जतिबेला उत्पादनलाई होइन, नियन्त्रणको परिणामलाई उपलब्धिको भ्रम छर्न सरकार नै उद्यत देखियो । अर्थतन्त्रका आधारहरू त्यतिबेलादेखि नै मक्किन शुरू भइसकेको थियो । कोरोना महामारीयताको वैश्विक परिस्थितिले त्यसलाई सतहमा ल्याइदिएको मात्रै हो । त्यसबेला आर्थिक क्षेत्र सुधारको आश पालेकाहरू छोटै समयान्तरमा अर्थमन्त्रीको बहिर्गमनको दिन कुर्ने अवस्था यसै आएको थिएन । अहिले विदेशी मुद्रा सञ्चितिमा परेको दबाबबाट बाहिर निस्किन अपनाइएको व्यापार नियन्त्रणलाई बढाइचढाइ गरेर अर्थतन्त्र सुधारउन्मुख भएको देखाउन खोजिएको छ । यसले अर्थतन्त्रका सरोकारहरूलाई सकारात्मक बाटोतिर उन्मुख गराउँदैन । आयात घट्नुमात्र अर्थतन्त्र बलियो भएको प्रमाण हुन सक्दैन । हाम्रो आर्थिक, राजनीति र सामाजिक अवयवहरू जहिले पनि कृत्रिम चमकधमकको पछाडि दौडिएको भान हुन्छ । यस्ता आयाममा अप्राकृतिक र अस्वाभाविक प्रचारबाजीको बोलाबाला देखिन्छ । छोटै समयको अन्तरालमा पानीको फोका सावित हुन्छ । यसबाट पाठ सिक्नुको सट्टा हामी पुन: त्यस्तै प्रवृत्तिको पुनरावृत्तिको पछाडि दौडिइहेका हुन्छौं, विडम्बना नै यही हो । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले व्यापार नियन्त्रणका अनेक उपाय अपनायो । अहिले सबै खालका प्रतिबन्ध र नियन्त्रणका शर्तहरू हटाइसकेको छ । तर, व्यापारले गति लिएको छैन । हालैमात्र एउटा तथ्यांक आएको छ, सरकारले लक्ष्यको तुलनामा केवल ४० प्रतिशतमात्रै राजस्व उठाएको छ । सरकार यो राजस्वबाट दैनिक प्रशासनिक खर्चसमेत चलाउन नसक्ने अवस्थामा पुगिसकेको कुराहरू पनि चर्चामा आइरहेका छन् । यसबाट स्वत: बुझ्न सकिन्छ कि सरकारले अर्थतन्त्रका सूचकमा आएको सुधारलाई होइन, ढुकुटीमा परेको दबाबलाई धान्न नसकेर आयातमा लगाएका नीतिगत नियन्त्रणलाई हटाएको हो । सरकारले प्रतिबन्ध हटाए पनि किन व्यापार बढ्न सकेको छैन ? एक समय १३/१४ महीनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति साढे ६ महीनामा झरेपछि अत्तालिएको सरकारले आयातमा रोक त लगायो, तर उत्पादन अभिवृद्धिका कुनै पनि योजना देख्न पाइएन । उल्टै, बजारमा त्यस्ता वस्तुको कालोबजारी र तस्करी व्यापक परिमाणमा देखियो । आयात प्रतिबन्ध अल्पकालीन उपाय बन्न पनि सक्ला, तर यसको दीर्घकालीन समाधान भनेको त उत्पादन नै हो । उत्पादनको वातावरण बनाउनेतर्फ सरकार सधैं उदासीन नै देखिएको छ । अहिले १० महीनाको वस्तु आयात धान्ने अवस्था बनिसकेको तथ्यांक सरकारले पेश गर्दै आएको छ । यो कसरी सम्भव भयो ? सोझो उत्तर छ– आयात रोकियो, विप्रेषण थुप्रियो । न उत्पादन बढ्यो, न निकासी व्यापार । केही महीनामात्रै व्यापार पुरानो लयमा फर्किने हो भने यो सञ्चिति पनि पानीको फोका हुनेमा आशंका आश्यक छैन । देशमा उद्योग र व्यापारको वातावरण बन्न नसक्नुमा अर्को मुख्य कारण भ्रष्टाचार हो । केही समयअघि निजीक्षेत्रको एउटा संस्थाले गरेको अध्ययनले उद्यमी व्यापारीले आफूले कमाएको आम्दानीमध्ये ४० प्रतिशतको हाराहारी घूसको रूपमा खर्च गर्नु परेको देखाएको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै प्रकाशित गरेको भ्रष्टाचार अवधारणा सूचकांकले केही स्थान माथि उक्लिए पनि ५० अंकभन्दा मुनिको सूचकलाई भ्रष्टाचारको दृष्टिले गम्भीर समस्या मानिन्छ । प्रतिवेदनले नेपालले भ्रष्टाचार कम गर्न थुप्रै काम गर्न बाँकी रहेको तथ्य पनि बाहिर ल्याएको थियो । यस्ता तथ्यले पनि हाम्रो अर्थतन्त्र सुधारको बाटोमा गइरहेको छ कि तथ्यांकीय भ्रममात्र बढी छरिएको छ भन्नेमा स्वाभाविक सन्देह उत्पन्न भइराखेको छ । अर्थतन्त्रको चालक भनिएको निजीक्षेत्र सरकारी नियम र नीतिप्रति असन्तुष्ट मात्र होइन, आशंका र त्रासमा छ । अर्थतन्त्र कुन बेला धराशयी हुने हो भन्ने आशंका व्याप्त बन्दै गएको छ । यतिसम्म कि, एक समय देश लोडशेडिङमुक्त भएकोमा अहिले आएर उद्योगमा दैनिक ९/१० घण्टा विद्युत् कटौती भइरहेको छ । सरकार समाधानमा गम्भीर छैन । सरकारको ध्यान सत्ताको बचाउ र विघटनमै केन्द्रित भएको छ । राजनीतिले आर्थिक सरोकारलाई प्राथमिकतामा राखेकै छैन । समस्या देखिएपछि निकासका उपाय पहिल्याउनुको सट्टा नियन्त्रणलाई मात्र सहज हतियार बनाउने र बजार प्रणालीलाई अस्तव्यस्ता बनाउने परिपाटीको पुनरावृत्तिले अर्थतन्त्रलाई सही बाटोमा लैजाँदैन । यसले दुर्घटनातिर डोर्‍याउँछ । यस्ता समग्र समस्यामा निजीक्षेत्रले सरकारको ध्यानाकर्षण गराएको मात्र छैन, सुधारका उपायमा आग्रहसँगै अन्दोलनलाई अघि बढाएको छ । सरकार निजीक्षेत्रका जायज सुझावलाई समेत ठीक तरीकाले सुनुवाइ गरिरहेको छैन । स्वदेशमा उत्पादनको आकार बढेर आयात कम भएमात्रै त्यसले अर्थतन्त्रमा सुधारलाई बल पुर्‍याउने हो । सरकारले यो संकटमा खर्च घटाउनेसम्बन्धी मापदण्ड २०७९ पनि ल्यायो । तर, यसमा पानीको बोतल नकिन्ने, पत्रपत्रिका खरीद नगर्नेजस्ता सामान्य खर्चलाई प्रचारप्रसार गरियो । तर, सरकार आज पनि सरकारी खर्च पुनरवलोकन आयोगले दिएका सुझावको कार्यान्वयनमा किन उदासीन छ ? सरकार भ्रष्टाचार नियन्त्रण, विकास बजेटको खर्च क्षमता अभिवृद्धि, विशिष्टका नाममा हुने फजु खर्च नियन्त्रणजस्ता सरकार खास आवश्यकताको सम्बोधनमा होइन, सस्तो लोकप्रियता र लाभका निम्ति टालटुले काम र त्यसैको बखानबाजीमा लागेको बुझ्न कठिन छैन । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

कस्ता कम्पनीको शेयरमा गरेको लगानी जोखिमपूर्ण ?

कसैले भनिदिएको भरमा खल्तीको पैसा झिकेर थपक्क शेयरमा लगानी गर्नु बुद्धिमत्तापूर्ण निर्णय होइन । शेयरमा लगानी गर्ने भन्नेबित्तिकै कहीँकतै केही टिप्स, सूचना, जानकारी वा हल्ला भेटिन्छ कि र त्यसैको आधारमा लगानी गर्न भांैतारिरहेका व्यक्तिहरू शेयरबजारमा प्रशस्त देख्न सकिन्छ । लगानी गर्नुको मुख्य उद्देश्य प्रतिफल प्राप्त गर्नु हो त्यो प्रतिफल पनि सकभर जतिसक्दो बढी प्राप्त गर्नु हो । थोरै धैर्य र जाँगर अनि स्वाध्ययन वा स्वानुभवबाट प्राप्त ज्ञानभन्दा ठूलो ज्ञान अरू हुन सक्दैन । सकेसम्म थोरै संख्यामा राम्रा र धेरै गुण भएका कम्पनीहरू रोज्ने र तिनको विश्लेषण गर्ने अनि लगानी गर्ने लगानीकर्ताले जस्तोसुकै अवस्थामा पनि राम्रो प्रतिफल प्राप्त गर्न सक्छन् ।  १. कम्पनीले लामो समयसम्म सेल्स ग्रोथ जारी राख्नलाई पर्याप्त बजार विकास हुने सम्भावना छ ? छैन भने यस्ता कम्पनीको शेयरमा लगानी गर्नु उपयुक्त हुँदैन । पर्याप्त बजार विकास नभएका कम्पनीको व्यवसाय बढ्न कठिन हुन्छ र आयमा कमी आई प्रतिफल वितरण गर्न गाह्रो हुन्छ । २. के कम्पनीको व्यवस्थापन भविष्यमा आउन सक्ने नवीन उत्पादनका लागि योग्य छ ? कम्पनीसँग भएको मेशिन, प्रविधि, मानव संसाधान उसले गर्ने उत्पादनसँग अंगीकार गर्न सक्ने खालको छ वा छैन त्यो बुझ्नुपर्छ । कम्पनीको व्यवस्थापन भविष्यमा आउन सक्ने नवीन उत्पादनका लागि योग्य छैन भने लगानीकर्ताले यस्ता कम्पनीबाट टाढै बसेको राम्रो हुन्छ । ३. के कम्पनीले अनुसन्धान र विकासमा खर्च गर्ने गरेको छ ? अनुसन्धान र विकासले राम्रो उत्पादन र नयाँ प्रतिभाले कम्पनीको उत्पादकत्व वृद्धि गर्छ । अत: अनुसन्धान र विकासमा ध्यान नदिने कम्पनीका शेयरमा लगानीको लागि त्यति उपयुक्त हुँदैन । ४. कम्पनीले आफ्नो उत्पादनलाई ठीकसँग उपभोक्तालाई बुझाउन सकेको छ ? छैन भने उसले आय बढाउन सकेको हुँदैन । यस्ता कम्पनीको शेयरमा लगानी बढाउनु त्यति राम्रो हुँदैन । ५. कम्पनीको नाफाको मार्जिन औसतभन्दा कम छ ? विक्री बढ्दैमा नाफा बढ्छ भन्ने निश्चित हुँदैन । यदि प्रोफिट मार्जिन कम छ भने खर्च बढ्दै जाँदा आम्दानी भने सोही अनुपातमा बढ्न सक्दैन । त्यस्ता कम्पनीले भविष्यमा त्यति धेरै मुनाफा बाँड्न सक्दैनन् । ६. कम्पनीले नाफाको मार्जिन कसरी बढाइराखेको छ वा उसका प्रतिस्पर्धीलाई त्यही काम किन मुश्किल परिराखेको छ ? त्यो बुझ्नुपर्छ । कम्पनीले मुख्य व्यवसायभन्दा अन्य तरीकाले नाफा बढाइरहेको छ भने तत्काललाई त फाइदा भएको जस्तो देखिन्छ । तर, त्यो दिगो हुँदैन । त्यसैले यस्ता कम्पनीमा लगानी गर्नु जाखिम धेरै हुन्छ । ७. कम्पनी र कर्मचारीको सम्बन्ध कस्तो छ ? कम्पनीले श्रम ऐन वा प्रचलित ऐन, कानूनअनुसार अफ्ना कामदार, कर्मचारीलाई व्यवहार गरेको छ ? कहीँकतै श्रम शोषण त गरेको छैन ? विगतमा देखिको यस्तो सम्बन्धलाई अध्ययन गर्नुपर्छ । कम्पनी र कर्मचारीको सम्बन्ध बिग्रिएका कम्पनीको शेयरमा लगानी गर्नु त्यति उपयुक्त हुँदैन । ८. कम्पनीको सञ्चालक समिति र व्यवस्थापन बीचको सम्बन्ध कस्तो छ ? त्यहाँ कुनै टकराव छ कि त्यो हेर्नुपर्छ । यदि भए त्यस्तो कम्पनीमा लगानी गर्न टाडै बसेको राम्रो हुन्छ । ९. कम्पनीले टिम वर्कलाई विश्वास गरेको छ ? टिम वर्कलाई प्रोत्साहन गरेको छ ? अथवा कुनै एक व्यक्तिका कारणले प्रगति गरेको छ ? त्यो हेर्नुपर्छ । यदि कि पर्सनको कारणले प्रगति गरेको छ भने त्यस्तो अवस्थामा उक्त व्यक्तिले कम्पनी छाडे त्यो प्रगतिको ठेगान हुँदैन । त्यसैले यस्तो कम्पनीमा लगानी जोखिमपूर्ण हुन्छ । १०. कम्पनीको लागत विश्लेषण र लेखा नियन्त्रण कस्तो छ ? उसको उत्पादनको जुन मूल्य छ त्यो मूल्य बजारअनुसार जायज छ वा छैन अध्ययन गर्नुपर्छ । उस्तै प्रकारको कुनै उत्पादन बजारमा कम मूल्यमा उपलब्ध छ भने त्यस कम्पनीको उत्पादनको विक्री घट्न सक्छ र घाटामा जान सक्छ । ११. कम्पनीको औद्योगिक सम्बन्धको ताकत कस्तो छ ? कुनै कम्पनीले कच्चा पदार्थ आफैले उत्पादन गर्ने भए उसको प्रतिस्पर्धी कम्पनीको उत्पादनभन्दा पक्कै पनि सस्तो पर्न जान्छ । यदि कच्चा पदार्थको लागि अरूमा आश्रित हुनु परेमा उत्पादन लागत बढ्न सक्छ । लागत बढेमा कम्पनीको मुनाफा घट्न सक्छ । कच्चा पदार्थका लागि अरूमा आश्रित कम्पनीमा लगानी गर्नु पनि धेरै जोखिमपूर्ण मानिन्छ । १२. छोटो समयमा नाफा कमाउने खालको कम्पनीबाट टाढै बसेको राम्रो हुन्छ । १३. कम्पनीलाई सधैं नगदको खाँचो भइराख्छ ? यदि कुनै कम्पनीले ऋण लिएर सधैं नगदको आवश्यकतालाई पूरा गर्छ भने त्यस्तो कम्पनीबाट टाढै रहनुु राम्रो हुन्छ । १४. कम्पनीका कार्यकारीले कम्पनीमा राम्रो वा नराम्रो जे भए तापनि शेयरधनीलाई त्यसको जानकारी वा सूचना बाँड्छन् ? यदि बाँड्दैनन् भने त्यस्तो कम्पनीबाट टाढै रहनु राम्रो हुन्छ । १५. कम्पनीको व्यवस्थापनले अनुत्तरित इमानदारी देखाउँछ ? अवकाश पाएका कर्मचारीसँग यस्ता विषयमा जानकारी लिँदा वा सोध्दा पनि हुन्छ । यदि व्यवस्थापनले अनुत्तरित इमानदारी देखाउँछ र त्यो अस्वाभाविक लाग्छ भने त्यस्तो कम्पनीमा लगानी नगर्दा राम्रो हुन्छ । नियमाक निकाय वा बजार सञ्चालकको डोमेनमा वा तोकिएको सूचना केन्द्रमा धितोपत्र बजारमा सूचीकृत कम्पनीबारे सम्पूर्ण सूचना, डेटा, जानकारी आदि उपलब्ध हुने व्यवस्था हुनु एकदमै जरुरी छ । मिडियाबाट प्राप्त सूचना, विश्लेषण, जानकारी आदि पूर्वाग्राही ढंगले प्रकाशित वा प्रसारित गरिएको पनि हुनु सक्छ । कहिलेकाहीँ धितोपत्र बजारबारे अनभिज्ञ, अर्धज्ञान वा गलत बुझाइका कारण मिडियामा आएका भनाइ, सूचना, रिपोर्ट, व्याख्या, विश्लेषणले बजारमा गलत प्रभाव पारेको पाइन्छ । त्यसैले सूचनाको भरपर्दो, विश्वसनीय माध्यम हुन नसक्दा यसले लगानीकर्तालाई गलत निर्णय लिनेतर्फ डोर्‍याइरहेको छ । गुरागाईं नागरिक लगानी कोषसँग आबद्ध छन् ।

राज्यका तीन अंगबीचको घमासान द्वन्द्वमा फँस्दैछ मुलुक

केपी शर्मा ओलीको ‘न्यायिक’ बर्खास्तिगी र त्योसँगै सर्वोच्च न्यायालयको परमादेशद्वारा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछिको अवस्थालाई केहीअघिको एउटा स्तम्भमा मैले ‘निष्क्रिय सन्तुलन’को संज्ञा दिएको थिएँ। निष्क्रिय सन्तुलनमा राज्य र राजनीतिक नेतृत्वबाट स्वाभाविक या अस्वाभाविक क्रियाकलापहरु हुँदै भएनन्, राज्य र त्यसको आधिकारिकतालाई जायज या नाजायज तरिकाले सञ्चालक निकायहरुले भन्न खोजिएको हैन। राज्यका निकायहरु, खासगरी अख्तियार दुरुपयोग […]

शेयरबजार र गलत सूचना

मानिसको दैनिक जीवन सूचनाबाट शुरू भएर सूचनामै टुंगिन्छ । हरेक क्षेत्रमा सूचनाको महत्त्व हुन्छ । शेयरबजारमा सबैभन्दा बढी कारोबार सूचनाको हुन्छ । सूचीकृत कम्पनीले समयसमयमा सार्वजनिक गर्ने औपचारिक सूचनाबाहेक अनौपचारिक रूपमा पनि थुप्रै सूचना सार्वजनिक भइरहेको हुन्छ । औपचारिक सूचना तथ्ययुक्त हुन्छन् भने अनौपचारिक सूचनाको तथ्य स्थापित हुन पनि सक्छ, नहुन पनि सक्छ । यस्ता सूचना पत्रिका, टेलिभिजन, युट्युब च्यानलमार्फत आइरहेको हुन्छ । खासगरी पत्रिका (अनलाइन)ले यस्ता सूचना बढी प्रवाहित गर्छन् । सूचनाको स्रोतमा ‘विश्वस्त’, ‘विशेष’, ‘कम्पनीको उच्च स्रोत’, र ‘गोप्य’ जस्ता अनेक उपमा हुनेगर्छ । यस्ता उपमायुक्त सूत्रले वास्तविक सूचना दिएको हुन्छ वा हुँदैन । तर, यसरी लेखिने समाचारले शेयरबजारमा राम्रो कारोबार गराउँछ । शेयरबजार साधुसन्तको आश्रम नभएको हुँदा केही हदसम्म यस्ता अफवाहलाई जायज पनि मान्नुपर्ने हुन्छ । तर, अतिचार भयो भने यस्ता सूचना प्रसारकलाई कारबाही गर्नुपर्छ । अफवाहयुक्त सूचनाको प्रवाह अहिले मात्र होइन, पौराणिक कालमा पनि देख्न सकिन्छ । शेयरबजारलाई छिटो पैसा कमाउने स्थलको रूपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन् । वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महीना दिन पनि नलगाई कमाउन सकिन्छ । महाभारतको एउटा प्रसंग महाभारत युद्धमा आचार्य द्रोणले सूचनाको सत्यतालाई पुष्टि गर्न नसक्दा ज्यान गुमाएका थिए । महाभारत युद्धमा द्रोण कौरवका तर्फबाट लडेका थिए । कौरव सेनाका सेनापतिसमेत बनेका द्रोण पाण्डवप्रति नरमभाव राख्थे । उनलाई युद्ध मैदानबाट नहटाएसम्म पाण्डवको विजय सम्भव थिएन । अर्जुनका सारथि बनेका श्रीकृष्णले बनाएको एक कूटनीतिक योजनाअनुसार भीमले ‘अश्वत्थामा’ नाम गरेको हात्तीलाई मारेर युद्ध भूमिमा अश्वत्थामा मारिएको हल्ला फैलाइयो । द्रोणले यस घटनाको सत्यतथ्य सत्यवादी धर्मराज युधिष्ठिरलाई सोधे । उनले ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतो हतः, अर्थात् ‘अश्वत्थामा मारिए तर हात्ती हो वा मानव म जान्दिनँ’ भन्ने कूटनीतिक जवाफ दिए । यतिबेलै श्रीकृष्णले शंखनाद गरेकाले ‘नरो वा कुञ्जरो वा’ भन्ने द्रोणले सुन्न पाएनन् । ‘अश्वत्थामा हतो हतः’ भन्ने वाक्यले उनको होश हराइसकेको थियो । यही अधुरो सूचना सुनेर द्रोण शक्तिहीन भए र धृष्टद्युम्नले उनको वध गरेका थिए । पहिलो अफवाह शेयरबजारलाई छिटो पैसा कमाउने स्थलको रूपमा उपयोग गर्नेले अनेक अफवाह फैलाउने गर्छन् । वर्षौंसम्म कडा मेहनत गर्दा पनि कमाउन नसकिने रकम शेयरबजारबाट महीना दिन पनि नलगाई कमाउन सकिन्छ । अफवाह कस्तो कसरी चल्छ पत्तो पाउन सकिँदैन । यस्ता गतिविधिमा उच्च पदस्थकोसमेत संलग्नता हुन्छ । २१ फेब्रुअरी सन् १८१४ सोमवारको दिन बिहान लन्डन स्टक एक्सचेन्जमा नेपोलियन मारिएको झूटो समाचार फैलाएर शेयर कारोबार गरिएको थियो । छानविनको क्रममा सोमवार बेचिएका अधिकांश शेयर अघिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो । घटनामा सांसद एवम् नौसेना लर्ड थोमस कोच्रेन, उनका काका सांसद एन्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड वट सामेल भएको पाइयो । कम्पनी र पत्रकार कम्पनी र पत्रकार मिलेर पनि गलत सूचना सम्प्रेषण गराउन सक्छन् । सन् १९९९ मा ढाका स्टक एक्सचेन्जमा सूचीकृत बंगलादेश वेल्डिङ इलेक्ट्रोडस कम्पनी सञ्चालन घाटामा थियो । कम्पनीको आर्थिक स्थिति नाजुक हुँदै गएपछि बैंकको ऋण तिर्न जग्गासमेत बेच्नु परेको थियो । चुक्ता मूल्य १० टाका रहेको कम्पनीको शेयर मूल्य सन् २००६ को नोभेम्बर डिसेम्बरताका ६ टाकासम्म झरिसकेको थियो । यस्तो अवस्थामा शेयर मूल्यमा अचानक तीव्र वृद्धि आयो । तीव्रता आउनुको कारण थियो एउटा इमेल । घटनानुसार आफूलाई साउदी अरबको अल आवाद समूहको स्थानीय प्रतिनिधि बताउने एक व्यक्तिबाट कम्पनीलाई एउटा इमेल आयो । उक्त इमेलमा अल आवाद समूहले उक्त कम्पनीसँगको संयुक्त लगानीमा चिट्टगोंगमा अक्सिजन प्लान्ट स्थापनाका लागि मार्च २००७ मा स्थलगत अवलोकन गर्ने बेहोरा उल्लेख थियो । कम्पनीका प्रबन्ध सञ्चालक नुरुल इस्लामले तत्काल उक्त सूचना ढाका स्टक एक्सचेन्जमार्फत सार्वजनिक गरे । सूचना सार्वजनिक हुनासाथ शेयर मूल्यमा तीव्र वृद्धि आयो । शेयर मूल्यमा आएको तीव्र वृद्धिलाई स्वाभाविक रूपमा लिने अवस्था नभएकोले एक्सचेन्जले प्रारम्भिक छानविन शुरू गर्दा उक्त इमेल फर्जी भएको पोल खुलेको थियो । इमेल पठाउने व्यक्ति विक्ली इन्डस्ट्री (हाल डेली इन्डस्ट्री) का सम्पादक इनायत करिम भएको पत्तो लाग्यो । करिमले इमेल पठाउनुअघि डिसेम्बर २००६ देखि फ्रेबुअरी २००७ सम्मको अवधिमा २० हजार ५ सय कित्ता शेयर ६ देखि ७ टाकासम्म किनेका थिए । उक्त शेयर सोही वर्षको फ्रेबुअरीमा ३३ देखि ४६ टाकासम्ममा बेचिएको थियो । करिमलाई फर्जी इमेल लेखाउन कम्पनीका प्रबन्ध सञ्चालक नुरुल इस्लाम र उच्चतहका अधिकारीको पनि संलग्नता भेटिएको थियो । साउदी कम्पनीको आगमन हुने सूचना ११ फेब्रुअरी २००७ मा सार्वजनिक भएको थियो । यस विषयमा विस्तृत छानविन गरेको बंगलादेश सेक्युरिटीज एक्सचेन्ज कमिशनले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराएर मूल्य हेरफेर गरेको भन्दै ढाका मजिस्ट्रेटसमक्ष मुद्दा दायर गर्‍यो । सन् २०१२ मा गठित क्यापिटल मार्केट ट्राइबुनले यस मुद्दाको सुनुवाइ गर्दै इस्लाम र करिम दुवैलाई ३ वर्षको जेलसजाय र २० लाख टाका जरीवानाको फैसला सुनाएको थियो । नेपाल सन्दर्भ विश्वव्यापी समस्या बनेको शेयरबजारमा अफवाह फैलाएर हुने कारोबारमा नेपाल पनि अछुतो हुने कुरै भएन । यस्ता कार्यमा सबैभन्दा बढी अनलाइन न्यूज पोर्टल, फेसबुकका समूह, युट्युब च्यानल, भर्खरै आएको क्लब हाउस बढी सक्रिय छन् भन्दा अत्युक्ति हुँदैन । यस्ता अनलाइनलगायत सूचनाका माध्यम अफवाहका लागि बढी उपयोग भइरहेको अनुमान लाउन सकिन्छ । आर्थिक वर्ष २०७४/२०७५ को मौद्रिक नीति वाचन नसकिँदै एउटा अनलाइनले मार्जिन प्रकारको कर्जामा जाने कर्जाको दर ५० प्रतिशतबाट ४० प्रतिशतमा झारियो भन्ने समाचार सम्प्रेषण गरेको केही मिनेटमै हटाएको थियो र समाचार पढेपछि कर्जा घट्ने चिन्ताले कर्जा लिएर लगानी गरेकाले धमाधम शेयर बेचे । यो घटना ‘नेपोलियन मारिए’ भनेर गरिएको प्रचारजस्तै थियो । त्यस्तै, हकप्रदलाई विषय बनाएर लेखिने अफवाह समाचार पनि राम्रोसँग बिक्छ । नेपाल पुनर्बीमा कम्पनीले गराएको रेटिङलाई हकप्रदसँग जोडेर ‘हकप्रद जारी गर्न रेटिङ गरायो’ भन्ने समाचार सम्प्रेषण भएको थियो । रेटिङ प्रतिवेदनमा यस्तो विषय कतै पनि थिएन र कम्पनीको त्यस्तो उद्देश्य पनि थिएन । समाचार वा सूचनाको सत्यता पुष्टि गर्ने जिम्मा केही हदसम्म सूचना पाउनेको पनि हुन्छ । सबै सूचनाको सत्यता पुष्टि गर्न सकिन्न । द्रोणले जस्तो एउटा वाक्य सुनेर हताश र उत्साहित पनि हुनु हुँदैन । द्रोणले आफ्नो पुत्रलाई भीमले मार्नसक्छन कि सक्दैनन् भन्ने कुराको ख्याल गर्न सकेनन् र हताश मनस्थितिमा पुगे । शेयरबजारमा हताश र उत्साहित दुवै मनस्थिति घातक हुनसक्छ । बंगलादेशको जस्तो परिस्थितिमा कम्पनीले नै एक्सचेन्जलाई दिएको सूचनालाई अन्यथा भन्न पनि सकिँदैन, तैपनि केहीहदसम्म परीक्षण गर्न सकिन्छ । ‘बारबारे तिल जोगिन्छ’ भन्ने पुरानो भनाइलाई आत्मसात गरेमा शेयरबजारमा आउने अफवाहयुक्त सूचनाबाट धन जोगाउन सकिन्छ । नियामकीय निकायले पनि यस्ता अफवाह फैलाउनेलाई निगरानीमा राखी आवश्यक कारबाही गर्न पछि पर्न हुँदैन । लेखक धितोपत्रसम्बन्धी अध्येता हुन् ।