कसैले भनिदिएको भरमा खल्तीको पैसा झिकेर थपक्क शेयरमा लगानी गर्नु बुद्धिमत्तापूर्ण निर्णय होइन । शेयरमा लगानी गर्ने भन्नेबित्तिकै कहीँकतै केही टिप्स, सूचना, जानकारी वा हल्ला भेटिन्छ कि र त्यसैको आधारमा लगानी गर्न भांैतारिरहेका व्यक्तिहरू शेयरबजारमा प्रशस्त देख्न सकिन्छ । लगानी गर्नुको मुख्य उद्देश्य प्रतिफल प्राप्त गर्नु हो त्यो प्रतिफल पनि सकभर जतिसक्दो बढी प्राप्त गर्नु हो । थोरै धैर्य र जाँगर अनि स्वाध्ययन वा स्वानुभवबाट प्राप्त ज्ञानभन्दा ठूलो ज्ञान अरू हुन सक्दैन । सकेसम्म थोरै संख्यामा राम्रा र धेरै गुण भएका कम्पनीहरू रोज्ने र तिनको विश्लेषण गर्ने अनि लगानी गर्ने लगानीकर्ताले जस्तोसुकै अवस्थामा पनि राम्रो प्रतिफल प्राप्त गर्न सक्छन् ।
१. कम्पनीले लामो समयसम्म सेल्स ग्रोथ जारी राख्नलाई पर्याप्त बजार विकास हुने सम्भावना छ ? छैन भने यस्ता कम्पनीको शेयरमा लगानी गर्नु उपयुक्त हुँदैन । पर्याप्त बजार विकास नभएका कम्पनीको व्यवसाय बढ्न कठिन हुन्छ र आयमा कमी आई प्रतिफल वितरण गर्न गाह्रो हुन्छ ।
२. के कम्पनीको व्यवस्थापन भविष्यमा आउन सक्ने नवीन उत्पादनका लागि योग्य छ ? कम्पनीसँग भएको मेशिन, प्रविधि, मानव संसाधान उसले गर्ने उत्पादनसँग अंगीकार गर्न सक्ने खालको छ वा छैन त्यो बुझ्नुपर्छ । कम्पनीको व्यवस्थापन भविष्यमा आउन सक्ने नवीन उत्पादनका लागि योग्य छैन भने लगानीकर्ताले यस्ता कम्पनीबाट टाढै बसेको राम्रो हुन्छ ।
३. के कम्पनीले अनुसन्धान र विकासमा खर्च गर्ने गरेको छ ? अनुसन्धान र विकासले राम्रो उत्पादन र नयाँ प्रतिभाले कम्पनीको उत्पादकत्व वृद्धि गर्छ । अत: अनुसन्धान र विकासमा ध्यान नदिने कम्पनीका शेयरमा लगानीको लागि त्यति उपयुक्त हुँदैन ।
४. कम्पनीले आफ्नो उत्पादनलाई ठीकसँग उपभोक्तालाई बुझाउन सकेको छ ? छैन भने उसले आय बढाउन सकेको हुँदैन । यस्ता कम्पनीको शेयरमा लगानी बढाउनु त्यति राम्रो हुँदैन ।
५. कम्पनीको नाफाको मार्जिन औसतभन्दा कम छ ? विक्री बढ्दैमा नाफा बढ्छ भन्ने निश्चित हुँदैन । यदि प्रोफिट मार्जिन कम छ भने खर्च बढ्दै जाँदा आम्दानी भने सोही अनुपातमा बढ्न सक्दैन । त्यस्ता कम्पनीले भविष्यमा त्यति धेरै मुनाफा बाँड्न सक्दैनन् ।
६. कम्पनीले नाफाको मार्जिन कसरी बढाइराखेको छ वा उसका प्रतिस्पर्धीलाई त्यही काम किन मुश्किल परिराखेको छ ? त्यो बुझ्नुपर्छ । कम्पनीले मुख्य व्यवसायभन्दा अन्य तरीकाले नाफा बढाइरहेको छ भने तत्काललाई त फाइदा भएको जस्तो देखिन्छ । तर, त्यो दिगो हुँदैन । त्यसैले यस्ता कम्पनीमा लगानी गर्नु जाखिम धेरै हुन्छ ।
७. कम्पनी र कर्मचारीको सम्बन्ध कस्तो छ ? कम्पनीले श्रम ऐन वा प्रचलित ऐन, कानूनअनुसार अफ्ना कामदार, कर्मचारीलाई व्यवहार गरेको छ ? कहीँकतै श्रम शोषण त गरेको छैन ? विगतमा देखिको यस्तो सम्बन्धलाई अध्ययन गर्नुपर्छ । कम्पनी र कर्मचारीको सम्बन्ध बिग्रिएका कम्पनीको शेयरमा लगानी गर्नु त्यति उपयुक्त हुँदैन ।
८. कम्पनीको सञ्चालक समिति र व्यवस्थापन बीचको सम्बन्ध कस्तो छ ? त्यहाँ कुनै टकराव छ कि त्यो हेर्नुपर्छ । यदि भए त्यस्तो कम्पनीमा लगानी गर्न टाडै बसेको राम्रो हुन्छ ।
९. कम्पनीले टिम वर्कलाई विश्वास गरेको छ ? टिम वर्कलाई प्रोत्साहन गरेको छ ? अथवा कुनै एक व्यक्तिका कारणले प्रगति गरेको छ ? त्यो हेर्नुपर्छ । यदि कि पर्सनको कारणले प्रगति गरेको छ भने त्यस्तो अवस्थामा उक्त व्यक्तिले कम्पनी छाडे त्यो प्रगतिको ठेगान हुँदैन । त्यसैले यस्तो कम्पनीमा लगानी जोखिमपूर्ण हुन्छ ।
१०. कम्पनीको लागत विश्लेषण र लेखा नियन्त्रण कस्तो छ ? उसको उत्पादनको जुन मूल्य छ त्यो मूल्य बजारअनुसार जायज छ वा छैन अध्ययन गर्नुपर्छ । उस्तै प्रकारको कुनै उत्पादन बजारमा कम मूल्यमा उपलब्ध छ भने त्यस कम्पनीको उत्पादनको विक्री घट्न सक्छ र घाटामा जान सक्छ ।
११. कम्पनीको औद्योगिक सम्बन्धको ताकत कस्तो छ ? कुनै कम्पनीले कच्चा पदार्थ आफैले उत्पादन गर्ने भए उसको प्रतिस्पर्धी कम्पनीको उत्पादनभन्दा पक्कै पनि सस्तो पर्न जान्छ । यदि कच्चा पदार्थको लागि अरूमा आश्रित हुनु परेमा उत्पादन लागत बढ्न सक्छ । लागत बढेमा कम्पनीको मुनाफा घट्न सक्छ । कच्चा पदार्थका लागि अरूमा आश्रित कम्पनीमा लगानी गर्नु पनि धेरै जोखिमपूर्ण मानिन्छ ।
१२. छोटो समयमा नाफा कमाउने खालको कम्पनीबाट टाढै बसेको राम्रो हुन्छ ।
१३. कम्पनीलाई सधैं नगदको खाँचो भइराख्छ ? यदि कुनै कम्पनीले ऋण लिएर सधैं नगदको आवश्यकतालाई पूरा गर्छ भने त्यस्तो कम्पनीबाट टाढै रहनुु राम्रो हुन्छ ।
१४. कम्पनीका कार्यकारीले कम्पनीमा राम्रो वा नराम्रो जे भए तापनि शेयरधनीलाई त्यसको जानकारी वा सूचना बाँड्छन् ? यदि बाँड्दैनन् भने त्यस्तो कम्पनीबाट टाढै रहनु राम्रो हुन्छ ।
१५. कम्पनीको व्यवस्थापनले अनुत्तरित इमानदारी देखाउँछ ? अवकाश पाएका कर्मचारीसँग यस्ता विषयमा जानकारी लिँदा वा सोध्दा पनि हुन्छ । यदि व्यवस्थापनले अनुत्तरित इमानदारी देखाउँछ र त्यो अस्वाभाविक लाग्छ भने त्यस्तो कम्पनीमा लगानी नगर्दा राम्रो हुन्छ ।
नियमाक निकाय वा बजार सञ्चालकको डोमेनमा वा तोकिएको सूचना केन्द्रमा धितोपत्र बजारमा सूचीकृत कम्पनीबारे सम्पूर्ण सूचना, डेटा, जानकारी आदि उपलब्ध हुने व्यवस्था हुनु एकदमै जरुरी छ । मिडियाबाट प्राप्त सूचना, विश्लेषण, जानकारी आदि पूर्वाग्राही ढंगले प्रकाशित वा प्रसारित गरिएको पनि हुनु सक्छ । कहिलेकाहीँ धितोपत्र बजारबारे अनभिज्ञ, अर्धज्ञान वा गलत बुझाइका कारण मिडियामा आएका भनाइ, सूचना, रिपोर्ट, व्याख्या, विश्लेषणले बजारमा गलत प्रभाव पारेको पाइन्छ । त्यसैले सूचनाको भरपर्दो, विश्वसनीय माध्यम हुन नसक्दा यसले लगानीकर्तालाई गलत निर्णय लिनेतर्फ डोर्याइरहेको छ ।
गुरागाईं नागरिक लगानी कोषसँग आबद्ध छन् ।