चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि आर्थिक सहयोग जुटाउन शनिबार रङ्गशालाको मिनी ग्राउन्डमा कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता सुरु भएको छ । मैत्रीपूर्ण एक दिवसीय खेल भरतपुर महानगर प्रमुख रेनु दाहालले ब्याटिङ र धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बलिङ गरेर उद्घाटन गर्नुभएको हो । ‘स्टार क्रिकेट २०२१’ नामाकरण गरिएको एक दिवसीय प्रयोगितामा नेपाली फिल्म, सङ्गीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी दुई समूहमा चार टिममा बाँडिएर क्रिकेट खेलेका छन् ।