काटमाडौं । काठमाडौंको वसन्तपुरस्थित पुनर्निर्माणाधीन काष्ठमण्डपको छानो छाउने काम शुरू गरिएको छ । २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरिएको काष्ठमण्डपको अन्य काम सकेर छानो छाउने काम शुरू गरिएको हो । सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिको प्रयोग गरेर झिँगटीको छानो छाउने काम थालिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
‘काष्ठमण्डप सम्पदाको पुनर्निर्माणको काम निरन्तर भइरहेको छ, सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै केही महीना लाग्न सक्छ,’ उनले भने । काष्ठमण्डपको ऐतिहासिकता बचाएर पुनर्निर्माण हुने उनको भनाइ छ । काष्ठमण्डप मुलुकको राजधानी काठमाडौंको ठूलो मौलिक सम्पदा भएकाले यसको मौलिकता कायम राख्दै पुनर्निर्माण गरिनु ठूलो उपलब्धि भएको उनले बताए । काष्ठमण्डप सम्पदा पुरानै प्रविधिबाट निर्माण गर्नु विश्वका लागि नमूना भएको उनको भनाइ छ ।
काष्ठमण्डप सम्पदा पुनर्निर्माणका लागि हालसम्म ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना रहेको अध्यक्ष शाक्यले बताए । काठैकाठको प्रयोग, झिँगटीका छाना, चारकुने इँटाका गारा, लेसाइलो माटोको लिपाइ, मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना काष्ठमण्डपमा पाइन्छ । करीब रू. १९ करोड लागत अनुमान गरिएको उक्त ऐतिहासिक तथा पुराताŒिवक महŒवको सम्पदाको काम चाँडो सक्ने गरी काम भइरहेको अध्यक्ष शाक्यले बताए । रासस