एउटै जिल्लामा काम गर्ने स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गर्दा कतै बजेट फालाफाल हुन थालेको छ भने कतै तलब खान नपाएर स्वास्थ्यकर्मीको बेहाल भएको छ । सङ्घीय सरकार मातहत रहेको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तलब खुवाउने बजेट नहुँदा मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको छ । घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन । झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोग कोभिड, मलेरिया, एचआइभी जस्ता रोगको परीक्षण हुँदै आएको छ । ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाउनुभयो ।