वैदेशिक व्यापारमा एकद्वार प्रणाली

काठमाडौं । वैदेशिक व्यापारलाई स्वचालित र पारदर्शी बनाउन एकद्वार प्रणालीलाई पूर्ण कार्यान्वयन गरिने भएको छ । आयातनिर्यात कारोबारलाई कागजमुक्त बनाउने अभिप्रायले भन्सार विभागले ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’मा सरोकारका निकायलाई जोडेको हो । वैदेशिक व्यापारसँग सरोकार राख्ने ४० निकाय र पक्षलाई आपसमा जोडेर आयातनिर्यात कारोबार सहजीकरण गरिने एकद्वार प्रणालीको योजना कार्यान्वयन एकाइका निर्देशक सूर्य सेढाईंले बताए । अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर गत माघ १२ गतेदेखि परीक्षणका रूपमा यो प्रणाली कार्यान्वयनमा ल्याइएको थियो । अहिले सरोकारका निकायलाई यो प्रणालीमा आबद्ध गर्ने कामलाई तीव्र पारिएको जानकारी निर्देशक सेढाईंले दिए । शुरूमा खाद्य तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई प्रणालीमा समावेश गरिएको थियो । सरोकारका निकायलाई प्रणालीमा जोड्ने अभियानअन्तर्गत पछिल्लोपटक नेपाल राष्ट्र बैंक र निजीक्षेत्रका संघसंस्थाहरूसित समझदारीपत्रमा हस्ताक्षर गरिएको निर्देशक सेढाईंले बताए । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल हस्ताकला महासंघलाई प्रणालीमा आबद्ध गर्ने समझदारी भएको छ । ‘यी संस्थाहरूले निर्यात प्रक्रियामा उत्पत्तिको प्रमाणपत्र जारी गर्छन् । यो कागजातसमेत अनलाइनबाटै बुझाउने व्यवस्थाका लागि निजीक्षेत्रका संस्थालाई एकद्वार प्रणालीमा जोड्न समझदारी भएको छ, सेढाईंले आर्थिक अभियानसित भने । आयातनिर्यातसँग सरोकार राख्ने सेवाप्रदायक र सेवाग्राहीलाई अनलाइनको माध्यमबाट एकआपासमा आबद्ध गर्न एकद्वार प्रणाली ल्याइएको हो । २०७६ असारबाट पूर्वाधार विकासको काम शुरू गरिएको थियो । आगामी आर्थिक वर्ष २०७८÷७९ बाट पूर्ण कार्यान्वयनमा लैजाने लक्ष्य राखिएकोमा कोरोना महामारीले प्रभावित भएको छ । गत मङ्सिरमा परीक्षणको योजना राखिएकोमा कोरानाकै कारण माघसम्म पर्खिनु परेको थियो । परीक्षणलगत्तै सरोकारका सबै निकाय र पक्षलाई प्रणालीमा समेट्दै जाने योजना थियो । आउँदो मङ्सिरभित्र पूर्ण कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको छ । यो प्रणालीमा आयातनिर्यातको अनुमति, बैंकिङ प्रक्रिया, राजस्व भुक्तानी, भन्सार जाँचपासलगायत अधिकांश प्रक्रिया अनलाइनबाटै हुने विभागले बताएको छ । आयतकर्ता र सरकारी निकाय र निजीक्षेत्रका संंस्थाले अनलाइनबाटै प्रक्रिया र कागजातको व्यवस्थापन गर्ने भएकाले वैदेशिक व्यापार थप सहज र पारदर्शी हुने आयोजना कार्यान्वयन एकाइका संयोजक श्यामप्रसाद भण्डारी बताउँछन् । व्यापार सहजीकरण, राजस्व संकलनमा दक्षता अभिवृद्धि र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित भएको विभागले बताएको छ । एकद्वार प्रणाली भन्सार जाँचपासमा सम्बद्ध सरोकारवाला सबै पक्षले प्रयोग गर्न सकिने गरी तयार पारिएको स्वचालित विद्युतीय प्लेटफर्म हो । यसबाट अन्तरराष्ट्रिय व्यापार र पारवहनसँग सम्बद्ध सबै पक्षले कागजात तथा सूचनाहरू एउटै प्रवेश बिन्दुबाट प्रस्तुत गर्न सक्छन् । यो प्रणाली पूर्ण सञ्चालनमा आएपछि सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क नहुने दाबी भन्सार अधिकारीहरूको छ । यसबाट व्यापारमा समय र लागत पनि बचत हुने दाबी भन्सार अधिकारीहरूको छ । आयातनिर्यातका लागि कागजात लिन विभिन्न निकायमा धाउनुपर्ने बाध्यता अन्त्य हुने दाबी उनीहरूको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय एकद्वार प्रणालीले सहज बन्दै वैदेशिक व्यापार

भन्सार विभागले सञ्चालनमा ल्याएको राष्ट्रिय एकद्वार प्रणालीका कारण वैदेशिक व्यापारमा लाग्ने लागतमा उल्लेख्य कमी आउन थालेको छ । व्यवसायी र एजेन्टले कागजात बोकेर विभाग र कार्यालय धाउनुपर्ने झन्झट हट्दै गएको छ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएसँगै नेपालको वैदेशिक व्यापारमा केही वर्षमै गुणात्मक परिवर्तन देखिने व्यवसायीहरु बताउँछन् । विभागले गत माघबाट यो व्यवस्था पूर्ण रुपमा […]

‘वैदेशिक व्यापारलाई प्रतिस्पर्धी बनाउन प्रभावकारी एकद्वार प्रणाली’

वीरगञ्ज (अस) । नेपालको वैदेशिक व्यापारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन भन्सार विभागले हालै कार्यान्वयनमा ल्याएको नेपाल राष्टिय एकद्वार प्रणालीलाई प्रभावकारी बनाइनुपर्ने सरोकारका पक्षले बताएका छन् । वैदेशिक व्यापार सहजीकरणका सम्बन्धमा वीरगञ्जमा भएको कार्यक्रममा आयातनिर्यातकर्ताले यस्तो बताएका हुन् । भन्सार विभागले वैदेशिक व्यापारसँग सरोकार राख्ने ४० भन्दा बढी निकाय तथा पक्षलाई एकद्वार प्रणालीमा समावेश गरिने बताएको छ । अनलाइनका माध्यमबाट ती निकाय र पक्षलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको भन्सार विभागमा अधिकारीहरूले बताएका छन् । यस प्रणालीबाट व्यापारको लागत कम हुने अपेक्षा गरिएको छ । वैदेशिक व्यापारलाई पूर्णस्वचालित बनाएर आयातनिर्यात कोरोबारलाई पारदर्शी र प्रभावकारी बनाउन भन्सार विभागले यो प्रणाली लागू गरेको भन्सार विभागका उपमहानिर्देक श्यामप्रसाद भण्डारीले बताए । एकद्वार प्रणालीबाट वैदेशिक व्यापारमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि हुने दाबी उपमहानिर्देशक भण्डारीले गरे । ‘यो पूर्ण अनलाइनमा आधारित प्रणाली हो । यसबाट आयात निर्यातको प्रक्रिया छरितो र सहज हुन्छ,’ उपमहानिर्देशक भण्डारीले बताए । एकद्वार प्रणाली भन्सार जाँचपासमा सम्बद्ध सरोकारवाला सबै पक्षले प्रयोग गर्न सकिने गरी तयार पारिएको स्वचालित विद्युतीय प्लेटफर्म भएको भन्सारले बताएको छ । ‘अन्तरराष्ट्रिय व्यापारलाई कागजी प्रक्रियामुक्त बनाउन यो प्रणालीमा सरोकारका निकाय र पक्ष समावेश गरिन्छन् । प्रणालीबाट अन्तरराष्ट्रिय व्यापार र पारवहनसँग सम्बद्ध सबै पक्षले सम्पूर्ण कागजात तथा सूचनाहरू एउटै प्रवेश बिन्दुबाट प्रस्तुत गर्न सक्छन्,’ भण्डारीले भने । विभागका निर्देशक सूर्यप्रसाद सेढाईंले एकद्वार प्रणालीबाट समय र खर्च दुवैको बचत हुने भएकाले व्यापार प्रतिस्पर्धी हुने स्पष्ट पारे । प्रणालीबारे व्यवासायीलाई जानकारी दिन आयोजना गरिएको कार्यक्रममा निर्देशक सेढाईंले यसबाट आयातकर्ताले आयातनिर्यातमा आवश्यक प्रक्रिया घरमै बसेर अनलाइनको माध्यमबाटै पूरा गर्न सक्ने बताए । कार्य सम्पादनका क्रममा सेवाप्रदायक र सेवाग्राही दुवै सन्तुष्ट नरहने अवस्थालाई निरूपण गर्न एकद्वार प्रणालीको खाँचो परेको भन्सार अधिकारीले बताए । टेबलमा आएको फाइल थन्काएर काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कर्मचारीलाई जिम्मेवार र उत्तरदायी बनाउने अभिप्राय पनि प्रणालीले लिएको दाबी पनि उनीहरूको थियो । सेवाग्राहीले समेत यसबाट आफ्नो काम सहजतापूर्वक सम्पादन गर्ने भएकाले यसको महत्त्व र उपयोगिता बढेर गएको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघ र भन्सार विभागको संयुक्त आयोजनामा उत्पत्तिको प्रमाणपत्रसम्बन्धी दुईदिने तालीम मंगलवार सम्पन्न भएको छ । उत्पत्तिको प्रमाणपत्रलाई एकद्वार प्रणालीमार्फत पेश गर्ने व्यवस्था गरेपछि यसबारे व्यवसायीलाई जानकार बनाउन तालीम आयोजना गरिएको हो । निर्यातकर्ता र जारी गर्ने संस्था उद्योग वाणिज्य संघका कर्मचारीलाई तालीम दिइएको संघले जानकारी दिएको छ ।

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा

काठमाडौं । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएको छ । वैदेशिक व्यापार तथा भन्सार व्यवस्थापनको सवालमा थप सहजीकरण गर्ने उद्देश्यले सरकारले एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको हो । आइतबार एक कार्यक्रमका बीच भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच...