सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रू. १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ ।
नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।
कृषकलाई मिनी पावर टिलर, मोटर, पावर स्प्रे, कपडाको पाइप, विभिन्न किसिमका तरकारीका बीउलगायत सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए ।
उनले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका कृषकको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उल्लेख गरे । नगरपालिकाको रू. ५ लाख ४० हजार तथा किसानको रू. ५ लाख ३० हजार साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैंचा नपाका कृषि शाखा प्रमुख सुदीप भण्डारीले जानकारी दिए ।
तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको स्थानीय कृषक मोहनलाल श्रेष्ठले बताए । तरकारी पकेट समितिमा हाल ३० किसान आबद्ध छन् । उनीहरूले २५ हेक्टर जमीनमा तरकारी खेती गरिरहेका छन् । -रासस