पोखरा । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले अहिले बाँझो रहेको जमिनमा धान खेती गरे ६० लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी संघको आठौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री भुसालले बाँझो जग्गामा मात्रै धान खेती गरे पनि नेपालले धान आयात गर्नुनपर्ने बताएका हुन्।
‘नेपालको कुल कृषियोग्य जमिनमध्ये एकतिहाइ अर्थात् १० लाख ३० हजार जमिन बाँझो छ। यो जमिनमा धान मात्रै लगाउने हो भने ६० लाख मेट्रिक टन उत्पादन गर्न सक्छौं। यति धानले नेपालीलाई पुग्छ, आयात गर्नु पर्दैन,’ उनले भने।
उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भएता पनि कृषिमा समस्या रहेको उल्लेख गरे। तर, सम्भावनाहरू धेरै रहेको उनको भनाइ छ। कृषिमा यान्त्रिकीकरण प्रमुख समस्या भएको उनले बताए ।
कृषिको विकासका लागि यान्त्रिकीकरणको आवश्यकता रहेको उनले बताए। ‘तर, सबैभन्दा मूल समस्या सिँचाइ हो। सबै खेतीयोग्य जमिनमा सिँचाइ विस्तार गर्न सके कृषिको मुख्य समस्याको अन्त्य हुन्थ्यो,’ उनले भने ।
उनले यसपटक रासायनिक मलको हाहाकार नभएको दाबी गरे । विश्व रासायनिक मलको विस्थापनमा लागेकाले नेपालले पनि यसको विस्थापन गरेर प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ।