वैशाख २२, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू.१ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४८ दशमलव ३५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ५४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष खराब कर्जा संकलन २५ दशमलव २१ प्रतिशत घटेको र सम्भावित जोखिम शीर्षकमा करीब १८ प्रतिशत बढी रकम कायम गरिएकाले पनि खुद नाफा घटेको हो ।
गत वर्ष सम्भावित जोखिम शीर्षकमा रू. ३ करोड ५० लाखभन्दा बढी रकम राखेको कम्पनीले यस वर्ष रू. ४ करोड १३ लाखभन्दा बढी राखेको छ । जसका कारण सञ्चालन नाफा गत वर्षको तुलनामा ६८ दशमलव ५४ प्रतिशत कम रू. ६८ लाख ३९ हजार मात्र भएको हो ।
गत वर्ष रू. १ करोड ८४ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. १ करोड ३७ लाखभन्दा बढी मात्र संकलन गरेको छ ।
१९ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. १५ करोड १५ लाख ५४ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम ६ दशमलव ४४ प्रतिशत बढेर रू. ४ करोड २४ लाखभन्दा बढी कायम भएको छ ।
गत वर्षभन्दा करीब ५२ प्रतिशत बढी कर्जा सापटी लिएको कम्पनीको ४३ दशमलव ८८ प्रतिशत बढी कर्जा प्रवाह भएको छ । यस वर्ष कम्पनीले रू. १ अर्ब ४८ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. २ अर्ब १९ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन २९ प्रतिशत बढी रू. ५५ करोड ३१ लाख भएको छ । गत वर्ष २ दशमलव ६९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव शून्य ३ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. १२८ छ ।
स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण