काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश वितरण गरिनेछ ।
लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो ।