कास्की (अस) । गण्डकी प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका सांसद शाहीलाई मंगलवार समितिको सभापतिमा चयन गरिएको हो ।
नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीविरुद्ध उम्मेदवारी दिएका थिए । विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत रूपमा सभापति बनेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त थियो । शाही यसअघि प्रदेश सार्वजनिक लेखा समिति सदस्य थिए । गण्डकी प्रदेश सभाको असार ३० गते बसेको बैठकले शाहीलाई प्रदेश मामिला समिति सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो । प्रदेशसभामा जनमोर्चाका तीन सांसदमध्ये कृष्ण थापा पदमुक्त भएका छन भने शाही र पियारी थापा मात्र सांसद छन् । गण्डकीको प्रदेश मामिला समितिमा रहेका १३ जना सदस्यमध्ये ६ जना एमालेका र बाँकी ७ जना अन्य पार्टीका सदस्य छन् ।