उमेर १६ वर्ष थियो । खुट्टा सुनिन थालेको केही महिनाभित्रै हिँड्नै नसक्ने भए । धामीलाई देखाउँदा ‘आरो’ हालिदिएपछि निको हुन्छ भने । आरो हाल्दा उनको दुवै खुट्टा सुक्यो । तमानखोला गाउँपालिका–१ का धनीराम सुनार त्यसपछि १० वर्ष ओछ्यान परे । दुवै खुट्टाको नसा र हड्डी सुके पनि कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई अस्पताल लैजान सकेनन् । धामीको भर पर्दा घस्रेर हिँड्नुपर्ने भयो । अहिले वैशाखीको भरमा जसातसो शौचालयसम्म पुग्न भने सक्छन् ।